site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
म्याद सकिएको पाँच महिनामा पनि पिच भएन थापाथली–प्रसूतिगृह सडकखण्ड
फाइल तस्बिर

काठमाडौं । थापाथली प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल र नर्भिक अन्तर्राष्ट्रिय अस्पतालबीचको सडक लोमो समयसम्म पिच हुन सकेको छैन । काठमाडौं महानगरपालिका अन्तर्गतको उक्त सडक म्याद सकिएको पाँच महिनामा पनि पिच हुन नसकेको हो ।
 
ठेकेदार कम्पनी जयधनञ्जय र कँडेल जेभीले केहीदिन पहिले सडकको लेयर मिलाउने काम गरेको थियो । अहिले पुनः सडकमा खाल्डाखुल्डी र धुलो बढ्न थालेको छ । 
 
दैनिक प्रसुतिगृहमा उपचार गर्न आउने गर्भवती, सुत्केरी र अपरेशन गर्न आएका विरामीहरुले हैरानी खेप्दै आएका छन् । प्रसूतिगृहकी प्रमुख डा. संगीता कौशल मिश्रा सडक पिच नुहँदा विरामीलाई प्रत्यक्ष असर परिरहेको बताउँछिन् । 

‘‘पाँच महिना अघिदेखि पटक–पटक सडक पिच गर्न काठमाडौंका मेयरलाई भन्दै आएका छौँ, तर सडक अहिलेसम्म पिच हुन सकेको छैन । अस्पतालमा दैनिक हजारौँ सुत्केरी महिलाले उपचार गर्न आउँछन् । अस्पताललाई भन्दापनि विरामीलाई प्रत्यक्ष असर परिरहेको छ,” उनले भनिन् । दुई ठूला अस्पतालले महानगरका मेयर विद्यासुन्दर शाक्यलाई पटक–पटक पिच गर्न माग गर्दा पनि महानगरले आनाकानी गरिरहेको डा. मिश्राको भनाइ छ । 

केही दिनपहिले महानगरले लेयर मिलाउँदा केही दिन सहज भएको सडकमा पुन ढलको समस्या देखिन थालेको छ । अस्पतालबाहेक बबरमहल आसपासको सडक झनै अस्तव्यस्त बनेको छ । पिच गरिएका सडक खनेर जथाभावी छोडिएको छ । 

काठमाडौं महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष हिरालाल तण्डुकार अब पिच गर्ने चरणमा पुगेको बताउँछन् । ‘‘अन्य निकायले बिगारेको काम भइरहेको छ । हामीले समयमै काम सकाउन भनेका थियाैँ । अब केही दिनमै सडक पिच हुन्छ,” उनले भने, ‘‘मेलम्ची खानेपानी आयोजना, विद्युत् प्राधिकरणको केबल भूमिगत, उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले गर्दा समयमै काम गर्न सकिएन ।”

काठमाडौं महानगरपालिका सहरी पूर्वाधार विकास विभागका रामबहादुर थापा विद्युत् प्राधिकरणले खनेको सडकको काम भइरहेको जानकारी दिए ।
 
‘‘साइटलेन, फुटपाथ मिलाउने, खाल्डाखुल्डी पुर्नेलगायत काम भइरहेका छन् । विद्युत् प्राधिकरणले सडकलेन बिगारेर छाडेकाले उक्त काम पनि भइरहेकै छ । पहिले पिच गर्नका लागि उपत्यका खानेपानी लिमिटेड केयूकेएल, विद्युत् प्राधिकरण, उपत्यका ढल निकास समितिले बाधा पुर्याएको थियो । अहिले ठेकेदारले काम थालिसकेको छ,” उनले भने, ‘‘अहिले ट्राफिक प्रहरीले दिउँसो काम नगर्न भनेको छ । ट्राफिक प्रहरीसँग छलफल भइरहेको छ । अबको केही दिनमा सडक पिच गर्छौं ।”

यता, महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक पिच गर्ने आफ्नो मातहतमा नरहेकाले रोक्न पनि नमिल्ने जनाएको छ । महाशाखामा प्रवक्ता सञ्जिव शर्मा दास भन्छन्, ‘‘सडक पिच गर्न ट्राफिकले नदिने भए काठमाडौंका कुनै पनि सडक पिच हुने थिएनन् । यी कामहरु हाम्रो क्षेत्राधिकारभित्र पर्दैनन् । ट्राफिकले रोक्न पनि मिल्दैन । ट्राफिकलाई दोष दिने काम मात्रै हो ।” 

महानगरपालिका सहरी पूर्वाधार विकास विभाग अन्तर्गतको प्रसूतिगृह बबरमहल सडक तथा ढल निर्माण आयोजना अन्तर्गत बबरमहलदेखि थापाथली चोकसम्मको सडक पिच, माइतीघर–जेभियर कलेज सडक पिच, सडकका दुवैतर्फ कर्ब स्टोन, नर्भिक अस्पताल अगाडिको ढल व्यवस्थापन र सडकका दुवैतर्फ साइड ड्रेन राख्नुपर्ने योजनामा उल्लेख छ । 
  
काठमाडौं महानगरपालिका र जयधनञ्जय तथा कँडेल जेभीबीच गएको असार १५ गतेभित्रमा सडक पिच गरिसक्नुपर्ने गरी १० महिनाको सम्झौता भएको थियो । सडकको कुल लागत चार करोड २२ लाख ८६ हजार ५८५ रुपैयाँ रहेको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८  १२:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro