site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१२ वर्षसम्म पनि ब्यारेकमा परिणत भएन बंकर
नेपाली सेनाको मुख्यालय । फाइल तस्बिर ।

काठमाडौं । ‘बंकरदेखि ब्यारेक’को अवधारणा सुरु भएको १२ वर्ष बितिसक्दा पनि अझै पूर्णता पाउन सकेको छैन । ०५२ देखि ०६२ सम्मको द्वन्द्वकालमा मुलुकको सुरक्षार्थ तैनाथ नेपाली सैनिक बंकरमा बस्न बाध्य थिए ।

तत्कालीन सरकारले यथोचित वासस्थान उपलब्ध गराउने उद्देश्यले ०६६ सालमा बंकरदेखि ब्यारेकको अवधारणा सुरु गरेको थियो । सैनिकहरू अझै पनि बंकर, जीर्ण झुप्रो र न्यूनतम सुविधामै काम गर्न बाध्य छन् ।

विशेषतः अधिकृतभन्दा मुनिका सैनिक जीर्ण झुप्रोमै बसेर राज्यको सुरक्षामा खटिएका छन् । द्वन्द्वकालमा सैनिक जमिनमुनि बंकर बनाई बस्थे । तर, द्वन्द्व समाप्त भएको यतिका समय बितिसक्दा पनि धेरै सैनिकहरू बंकरमै वा घर भाडामा लिएर बस्न बाध्य छन् । ब्यारेक नहुँदा तराईमा सर्पले डस्ने, हिमालमा चिसोसँग लड्नुपर्नेजस्ता समस्या सैनिकले भोग्दै आएका छन् ।

यस्ता पाँच हजार ८५० बंकरलाई ब्यारेक बनाउनुपर्नेमा हालसम्म तीन हजार ३६६ मात्र ब्यारेकमा परिणत भएका छन् । अझै दुई हजार ३८४ बंकर बाँकी छन् ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार वासस्थानको कमी भई सैनिक बंकर, जीर्ण झुप्रोमा बसी डिउटी गर्न बाध्य भएपछि त्यसलाई ब्यारेकमा परिवर्तन गर्ने कार्यक्रम सुरु भएको थियो । उनी भन्छन्, “उचित वासस्थान, ब्यारेकमा तातोपानी, लुगा धुने मेसिनलगायत आदिको राम्रो व्यवस्था होस् भन्ने चाहना हो ।”

यो कार्यक्रम ०६६ सालमा पूर्वप्रधान सेनापति छत्रमानसिंह गुरुङको कार्यकालमा प्रारम्भ भएको थियो । सुरुवातमा पाँच वर्षभित्र कार्यक्रम सकाउने भनिए पनि १२ वर्षदेखि बंकरदेखि ब्यारेक कार्यक्रम चलिरहेको छ । अझै कहिलेसम्म कार्यक्रम चल्ने कुनै टुंगो छैन ।

रक्षा मन्त्रालयका बजेट शाखाकी उपसचिव कविता निरौला ढुंगेल बजेट अभाव समस्याका रूपमा रहेको बताइन् । उनले भनिन्, “अबको तीन वर्षमा सकाउने कि भन्ने छलफलको क्रममा उठेको थियो । मुख्यतः बजेटको अभाव नै हो ।”

अनुगमनका क्रममा बंकर जीर्ण अवस्थामा रहेका, सैनिक बसेका भवन झुप्रो र न्यूनतम सुविधा समेत नरहेको पाएको उनले बताइन् । “प्रायः मैले अधिकृतभन्दा तल्लो पदका सैनिकको अवस्था कन्तबिजोग बसेको देखेँ,” उनले थपिन्, “त्यसैले यी बंकरलाई हटाई छिट्टै ब्यारेक बनाउनुपर्छ । अफ्ठ्यारो भनेको नै भनेजति बजेट विनियोजन भएन भन्ने हो ।”

१२ वर्षको अवधिमा ब्यारेक निर्माणमा एक अर्ब ८२ करोड ११ लाख ७१ हजार रुपैयाँ विनियोजन भएको छ ।

बजेटको अभाव भए पनि सरकारले यसलाई निरन्तर प्राथमिकता राखेकोले सोहीअनुसार कार्यक्रम भइरहेको प्रवक्ता पौडेल बताउँछन् । आर्थिक वर्ष ०७७/७८ मा १०६ बंकरलाई ब्यारेक बनाइएको थियो । यो वर्ष ९३ बंकरलाई ब्यारेक बनाउने सेनाको योजना छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८  १६:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro