काठमाडौं । अवैध हतियार मामिलामा जोधपुर अदालतले सलमान खानलाई अदालतमा पेशीका लागि आदेश दिएको छ । सलमान खानलाई व्यक्तिगत रूपमा ‘अपर जिला एवं सत्र न्यायालय जोधपुर ग्रामीण’ मा शुक्रबार हाजिर हुनुपर्ने छ । यद्यपि २० हजार मुचुल्काका साथ उनले जमानत पाउने जीन्युजले लेखेको छ । यो मुद्दा यस अघि ‘सीजेएम ग्रामीण कोर्ट’ मा चलिरहेको थियो । त्यहाँबाट सलमानले सफाइ पाइसकेका छन् ।
जमानती मुचुल्का भर्न आदेश
बलिउड डट कममा प्रकाशित खबरका अनुसार एकपटक यसअघि पनि जोधपुर कोर्टले सलमानलाई बोलाइसकेको छ । तर यसअघिको पेशीमा सलमानका अधिवक्ताले प्रहरी सुरक्षाको उल्लेख गर्दै हाजिरी माफी पेश गरेको थियो । यसै कारणले सलमान जोधपुर पुगेका थिएनन् । शुक्रबार पुनः ‘आम्र्स एक्ट’ मामिलामा सुनुवाई हुनेछ । र, सलमानलाई ‘जिला एवं सेशन न्यायालय ग्रामीण’ मा पेश भएर जमानती मुचुल्का भर्न आदेश दिइएको छ ।
सलमान खान यतिबेला चलचित्र ‘टाइगर जिन्दा है’ को सुटिङमा व्यस्त छन् । यशराज फिल्मस्को ब्यानरमा बनेको चलचित्र सफल फिल्म ‘एक था टाइगर’ को सिक्वेल हो । यसमा सलमान खानसँगै क्याटरिना केफ शीर्ष भूमिकामा छिन् । सलमान खान यसअघि चलचित्र ‘वीर’ र ‘प्यार किया तो डरना क्या’ मा घोडसवारी गरिरहेको देखिएका थिए ।