
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल निजी प्रकाशन गृहलाई कक्षा–५ को पनि पाठ्यपुस्तक छाप्न दिन सकारात्मक भएका छन् । पाठ्यक्रम विकास केन्द्रले कक्षा–५ को पाठ्यपुस्तक छाप्न निजी प्रकाशन गृहलाई स्वीकृति दिन मन्त्रालयमा तिहारअगाडि नै निवेदन पठाइसकेको छ ।
मन्त्रालय स्रोतका अनुसार निजी प्रकाशन गृहले कक्षा–५ को पाठ्यपुस्तक छाप्न एक–दुई दिनमै अनुमति पाउनेछन् । निजी प्रकाशन गृह र केन्द्रका पदाधिकारीकै मिलेमतोमा कक्षा–५ को पाठ्यपुस्तक पनि निजीले छाप्न लागेको स्रोतको दाबी छ ।
निजी प्रकाशन गृहलाई छाप्न दिँदा पैसाको चलखेल गर्न पाउने ती कर्मचारीको भनाइ छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले त्यस किसिमको निवेदन मन्त्रालयमा आएको पुष्टि गरे । उनले भने, “तिहारअगाडि छलफल भएको तर छाप्ने अनुमति भने दिइसकेको छैन । मन्त्रीज्यूले जे निर्णय गर्नुहुन्छ, त्यही हुने हो ।”
सरकारको आफ्नै प्रकाशन गृह जनक शिक्षा सामग्री केन्द्र लिमिटेड हुँदाहुँदै किन निजीलाई पाठ्यपुस्तक छाप्न दिँइदै छ ? गत वर्ष कक्षा–१ देखि ४ चारसम्मका पाठ्यपुस्तक प्रकाशनको जिम्मा निजीले पाएको थियो ।
प्रवक्ता शर्मा कुनै पनि कक्षाको पाठ्यपुस्तक विभिन्न समयमा निजीलाई दिइँदै आएको बताउँछन् । उनी भन्छन्, “कुनै वर्ष सात कक्षासम्म दिएका छौँ । कुनै वर्ष क्षेत्रगत रूपमा दिएका छौँ । फरक–फरक वर्षमा भिन्दाभिन्दै अभ्यास भएको छ । निजी क्षेत्र लामो समयदेखि छपाइमा संलग्न छन् । यसपटकको लागि छलफलको क्रममा छ ।”
तर, मन्त्रालय स्रोतका अनुसार तिहारअगाडि एजेन्डा नै नभए पनि कक्षा–५ को पाठ्यपुस्तक निजीलाई छाप्न दिनेबारे मन्त्री पौडेलसहितको बैठकमा छलफल भएको थियो । केन्द्रका महानिर्देशक अनप्रसाद न्यौपानेले उक्त विषय बैठकमा प्रवेश गराएका थिए ।
केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले तिहारअघि उक्त बैठकमा त्यसबारेमा छलफल भएको जानकारी दिए । उनले ०७९ का लागि पाठ्यपुस्तक छाप्न निजी प्रकाशन गृहलाई आह्वान गरिएको बताए । उनी भन्छन्, “कक्षा–१ देखि ४ सम्म छाप्न पाउने गत वर्षको निर्णय हो । त्यो कार्यक्रम समाप्त भइसक्यो । नयाँमा कसले कति पाउने कुनै टुंगो भएको छैन । त्यो मन्त्रालयले नै गर्छ ।”
केन्द्रमा गत वर्ष १८ वटा प्रकाशन गृह सूचीकृत थिए । तिनले चाहेमा यस वर्ष पनि नवीकरणका लागि निवेदन दिन सक्छन् । नयाँ प्रकाशन गृह भए सूचीकृत गरिने र पुरानो भए नवीकरण हुनसक्छ ।
प्रवक्ता शर्माका अनुसार निजी प्रकाशन गृहले प्रायः सबै पाठ्यपुस्तक छाप्न अनुमति खोज्छन् । नियमानुसार उनीहरूले छपाइका लागि निवेदन दिन पाउँछन् ।
सरकारको आफ्नै छपाइ संस्था जनक शिक्षा सामग्री छ । जनक शिक्षाले कक्षा–१ देखि १२ सम्मका सबै विषय प्रकाशन गर्न पाउँछ । विगतमा पनि केन्द्रले जनक शिक्षाले छाप्न पाउने पाठ्यपुस्तक समेत निजी प्रकाशन गृहलाई पहिल्यै छाप्न दिएर जनक शिक्षाका किताब गोदामै थन्काएको जनक शिक्षाका पदाधिकारीले आरोप लगाउने गरेका छन् । यसपटक पनि सरकारले जनक शिक्षाको अधिकार खोसेर निजीलाई ‘पोस्न’ खोजेको स्रोतको दाबी छ ।