
काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भर्खरै सिकाइ चौतारी पोर्टलको शुभारम्भ गरेको छ । पोर्टलमा कक्षा १ देखि १२ सम्मका सिकाइ सामग्री एकै स्थानमा राखिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्थानीय पालिका, समन्वय इकाइका प्रमुखको सहभागितामा पोर्टलको उद्घाटन गरेका थिए । कोरोनाका कारण विद्यालय जान नपाएर घरमै भएका विद्यार्थीलाई लक्षित गर्दै पढ्न र हेर्न सिकाइ चौतारी सुरु गरिएको छ ।
पोर्टलको शुभारम्भ गर्दै मन्त्री पौडेलले दुरदराजका विद्यार्थीलाई लक्षित गरी कार्यक्रमलाई सहज, सरल ग्रहणशील हुनुपर्ने बताए । उनले सहरमा प्रविधिको विकास भइसकेको अवस्थामा गाउँका कुना–कन्दराका विद्यार्थीले सहजै चलाउनसक्ने हुनुपर्ने बताए ।
सिकाइ चौतारी चलाउँदा न्यूनतम प्रविधिको प्रयोग हुने र यो सबैको पहुँचमा पुर्याउन पोर्टल थप व्यवस्थित बनाउने काम भइरहेको रेडियो इन्जिनियर सन्तकुमार महर्जनले बताए । पोर्टलमा कक्षा कोठामा विद्यार्थीलाई खेल खेलाउन सकिने, शब्दकोशबाट शब्द खोज्न सकिने, गाह्रो विषयलाई भिडियोमार्फत हेर्न सकिने गरी विकास गरिएको बताइएको छ ।
इन्जिनियर कविन्द्र मानन्धरले लामो समयको मिहिनेतपछि यो कामले सफलता पाएको बताए । “हामीले विज्ञसँगको छलफलपछि यो पोर्टलको शुभारम्भ गरेको छौँ । यसलाई विकास गरी सबैको पहुँचमा पुर्याउने हाम्रो लक्ष्य छ,” उनले भने ।
पोर्टल https://learning.cehrd.edu.np/home गएर हेर्न सकिन्छ । यो पोर्टल केन्द्रले तयार पारेको अन्य सामग्रीभन्दा फरक रहेको सूचना अधिकारी माधवप्रसाद दाहाल बताउँछन् । रेडियो र टेलिभिजनबाट तोकिएको पाठमात्र प्रसारण हुन्छ । तर, सिकाइ चौतारीमा पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक निर्देशिका, वेभमा सिकाइ सामग्री र अन्य सामग्री पनि राखिएको छ । टेलिभिजन र रेडियोबाट प्रसारण भएका सामग्री पनि यसमा राखिएको छ । “सबै सामग्री प्रसारण गर्न नमिल्ने तर अनलाइनमा मात्र हेर्न मिल्ने सामग्री यसमा राखिएको छ,” दाहालले भने ।
दुई वर्षअघि कोभिड–१९ ले मुलुक ठप्प भएपछि विद्यालयको पठनपाठन बन्द भएको थियो । निकास दिनका लागि सरकारले वैकल्पिक सिकाइ निर्देशिका जारी गर्यो । जसमा अनलाइन सिकाइलाई प्राथमिकतामा राखिएको छ । “यो पोर्टल त्यही दुुई वर्षको मिहिनेत हो । अझै धेरै काम गर्न बाँकी छ । कतिपय फिचर मिलाउन बाँकी छ । अहिले साइट हेर्न सकिने अवस्था मात्र भएको हो,” उनले भने ।
एसियाली विकास बैँक, विश्व बैँक, ओएलई नेपाल, शैक्षिक स्रोत विकास केन्द्र र केन्द्रको पहलमा प्राविधिक जनशक्तिबाट पोर्टल बनाइएको हो । पोर्टलमा प्राथमिक तहसम्मको कक्षाका लागि अन्तरक्रियात्मक स्वदेशी तथा विदेशी भिडियो, अडियो, चित्र कथाजस्ता माध्यम रहेका छन् ।
कक्षा ८, ९ र १० का मूल विषयहरू अंग्रेजी, गणित, सामाजिक र विज्ञान जस्ता विषयमा रोचक श्रव्यदृश्य सामग्री पोर्टलमा भेटिन्छ । तर, ऐच्छिक अंग्रजी, ऐच्छिक गणित र कम्प्युटरजस्ता विषयका पाठ्यपुस्तकमात्र पोर्टलमा देख्न सकिन्छ । पोर्टलमा विद्यार्थीलाई सूचनासहितको मनोरञ्जन दिन खेलहरू पनि राखिएको छ । गणित, अंग्रेजी विषयमा क्वीज शैलीमा खेल राखिएको छ भने बाघचाल जस्तो वुद्धि तिखार्ने खेल पनि खेल्न सकिन्छ । विद्यार्थीलाई प्रोत्साहन गर्न विभिन्न व्यक्तित्वका ‘टेड टक्स’ पनि राखिएको छ ।
यसका अलावा पोर्टलमा गृहकार्य, पुस्तकालय, शब्दकोश, खेलहरू, क्याल्कुलेटर र जानकारीको बटम देख्न सकिन्छ । पुस्तकालयभित्र विकिपिडिया, ई–पाठ, खगोल विज्ञान, अडियो, बालकथा, डा. दान, पाठ्यपुस्तक र भिडियो आदि भेट्न सकिन्छ ।
पोर्टल एकैपटकमा १० हजारले हेर्न सकिने सूचना अधिकारी दाहालको दाबी छ । “ह्याङ नहोस् भनेर दूरसञ्चारसँग मिलेर धेरै ब्यान्ड क्षमता भएको सर्भर लिएका छौँ । अहिले साइट प्रशिक्षणको क्रममै छ । एकैपटक कतिले हेर्दा समस्या हुुन्छ कि हुँदैन । यो भन्न सकिँदैन, अन्य प्राविधिकलाई हातमा लिएर काम गर्न खोजेका छौँ,” उनले थपे, “मिदास, खान, डियर वाक, कारखानाले बनाएको सामग्रीको लिंक पोर्टलमा छ ।”
कोभिड–१९ हुुँदा रेडियो र टेलिभिजनबाट पाठ प्रसारण भएको थियो । तर, सोमबारदेखि बिहान र बेलुका क्रमशः ६ देखि ९ र साढे ४ देखि ७ बजेसम्म पाठ प्रसारण हुन्छ । अरू निजी प्रसारण संस्थाले त्यसैगरी बिहान र बेलुका पाठ प्रसारण गर्न सक्ने केन्द्रको भनाइ छ ।
सिकाइ चौतारी पूरक सामग्री भएको भन्दै घरमै बसेर पढ्न सकिने केन्द्रले जनाएको छ । घरमा अनलाइन छ भने पढ्ने विद्यार्थीका लागि धेरै सामग्री छ । विद्यालयल लागे पनि सामग्री उत्पादनमा नरोकिने केन्द्रले जनाएको छ । सिकाइलाई निरन्तरता दिन निरन्तर सामग्री उत्पादन र वितरण गर्ने केन्द्रको तयारी छ । तर, उत्पादन गरेका सामग्री विद्यार्थी र शिक्षकले कतिको उपयोग गर्छन् त्यो भने हेर्न बाँकी छ ।