site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जोरपाटी–सुन्दरीजल सडकखण्ड : पाँच वर्षदेखि अलपत्र

काठमाडौं । निर्माणकार्य अघि बढेको करिब पाँच वर्ष बितिसक्दा पनि उस्तै छ जोरपाटी–सुन्दरीजल सडकखण्ड । स्थानीय, पैदलयात्रु, सवारीचालक, सर्वसाधारणले धुलोधुवाँ र हिलाम्य सडकको सास्ती खेप्दै आएका छन् ।

शनिबार बिहान बेसीगाउँका किरण बराल सडकमा पानी छर्कंदै थिए । ‘‘अब त सडक पिच हुने आशा मरिसक्यो । अलि–अलि धुलोधुवाँ कम हुन्छ कि भनेर पानी छर्कंदै छु । धुलोधुवाँले बसिनसक्नु छ यो क्षेत्र । पसलमा बिक्री–वितरण गर्न राखिएका अधिकांश सामानहरू धुलोधुवाँले बिग्रने गरेको छ,” बरालले भने, ‘‘धुलोधुवाँले अहिले बाटो नै देखिँदैन । धुलोधुवाँकै कारण स्थानीयको स्वास्थ्यमा पनि गम्भीर असर परिरहेको छ ।”

नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जाने सुत्केरी, बिरामी, चिकित्सक, नर्स, कर्मचारी, सर्वसाधारणले यसको सास्ती खेपिरहेका छन् । पर्यटकीय क्षेत्र सुन्दरीजल घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरूले पनि धुलोधुवाँको सास्ती खेपिरहेका छन् ।

सडक विस्तारमा भएको ढिलासुस्तीविरुद्ध स्थानीयले पटक–पटक सडक अवरुद्ध गर्दै आएका छन् । शनिबार निर्माण कम्पनीले गोकर्णेश्वर नगरपालिका कार्यालयनजिकै सडकछेवैमा रहेको रुख काट्न मुख्य सडक अवरुद्ध गर्‍यो । सडक अवरुद्ध हुँदा एउटा मोटरसाइकल गल्लीबाट छिर्ने क्रममा भित्तामा ठोक्किएर दुर्घटना भयो । मोटरसाइकल चालक सामान्य घाइते भए ।

त्यस्तै, नेपाल मेडिकल कलेजभित्रको सडकबाट सार्वजनिक गाडीहरू गुडे । जोरपाटी निस्कने सडक एकदमै अप्ठ्यारो छ । जोरपाटी निस्कनै लाग्दा एउटा बस ओरालोमा फस्यो । उक्त बस फसेको ठाउँबाट निकाल्नै करिब पाँच घण्टा लाग्यो ।

नगरपालिकाले मुआब्जा विवाद मिलाएर गएको वैशाखमा सडक पिच गरिने आश्वासन दिएको थियो । निर्माण कम्पनीले सडक पिच गर्न गिट्टीलगायत निर्माण सामग्री पनि बिछ्यायो । तर, भनेको समयमा सडक पिच गर्न सकेन ।

अर्कातर्फ, फुटपाथ नहुँदा पैदलयात्रुहरू बीच सडकमै हिँड्न बाध्य छन् ।

गोकर्णेश्वर नगरपालिका र निर्माण कम्पनी आशिष र सीएम जेभीबीच ०७३ सालमा सो सडकखण्ड निर्माणसम्बन्धी सम्झौता भएको थियो । सम्झौताबमोजिम ०७५ असोजमा काम सकाउनुपर्ने थियो ।

सात किलोमिटर सडक विस्तार र निर्माणका लागि ५४ करोड रुपैयाँमा सम्झौता भएको थियो । सडकको बीचबाट ११–११ मिटर चौडा बनाउनुपर्ने थियो । लामो समय नगरपालिकाले मुआब्जा विवाद मिलाउन नसक्दा सडक पिच हुन सकेन  ।

गोकर्णेश्वर नगरपालिकाले सडक विस्तार गर्दा नै स्थानीयले पटक–पटक अवरोध गर्दा र मुआब्जा मिलाउन नसक्दा समयमै सडक पिच गर्न नसकिएको जनाएको छ । ‘‘सडक निर्माणमा पटक–पटक स्थानीयले अवरोध गरिरहे । पटक–पटक अवरोधपछि निर्माण कम्पनीले काम गर्न मानेन,” गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुंगानाले भने ।

नगरपालिकाले मुआब्जाको विवाद मिलिसकेकाले अब छिट्टै सडक पिच हुने जनाएको छ । निर्माण कम्पनीले पनि सबै समस्या समाधान भइसकेकाले सडक विस्तारको कामले गति लिएको जनाएको छ ।

चाबहिल–जोरपाटी–सुन्दरीजल–साँखु सडक आयोजनाका सूचना अधिकारी अशोककुमार यादवले आउँदो तीन महिनाभित्र यो सडक पिच गरिसक्ने बताए । ‘‘वैशाखमै मुआब्जा विवाद मिलिसकेको थियो । त्यस बेला पिच गर्ने भन्दाभन्दै वर्षायाम सुरु भयो । वर्षा भइरहेको बेला पिच गर्ने कुरा भएन । अब वर्षायाम सकिएसँगै सडक निर्माणको काम अघि बढिरहेको छ,” प्रवक्ता यादवले भने ।

सडक क्षेत्रमा परेका पोल सार्ने, ढल हाल्ने, घर भत्काउनेलगायत काम सकिइसकेको नगरपालिकाले जनाएको छ । अहिले नगरपालिकाअगाडिको सडक क्षेत्रमा परेको रुख काटेर सडक चौडा गर्ने काम भइरहेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७८  १६:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro