एजेन्सी । आईसीसी ट्वान्टी–२० विश्वकपमा समूह ‘दुई’को शीर्ष स्थानमा पुग्नका लागि आज अफगानिस्तानले छिमेकी राष्ट्र पाकिस्तानलाई चुनौती पेश गर्दैछ ।
विश्वकपको ‘सुपर–१२’ चरणमा पाकिस्तान र अफगानिस्तान दुबैले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । पाकिस्तानले पहिलो दुई खेलमा सतप्रतिशत नतिजा निकालेको छ । पहिलो खेलमा चीर प्रतिद्वन्द्वी भारतलाई १० विकेटले हराएको पाकिस्तानले दोस्रो खेलमा न्युजिल्यान्डलाई पाँच विकेटले हराएको थियो । अफगानिस्तानले पनि स्कटल्यान्डमाथि १३० रनको फराकिलो विजय हासिल गरेको थियो । स्कटल्यान्ड क्वालिफाइङ राउन्डको समूह ‘ए’ बाट उपविजेता बन्दै सुपर–१२ मा स्थान बनाएको हो ।
पाकिस्तान सुपर–१२ मा समूह दुईको शीर्ष स्थानमा छ । अफगानिस्तान दोस्रो स्थानमा छ । पाकिस्तान र अफगानिस्तान दुबै युनाइटेड अरब इमिरेट्स (यूएई) को कन्डिसनसँग परिचित छन् । पाकिस्तान र अफगानिस्तान दुबैको यूएई दोस्रो घरेलु मैदान हो ।
पाकिस्तान र अफगानिस्तान दुबैको बलिङ आक्रमण बलियो छ । भारत र वेष्ट इन्डिजविरुद्धको खेलमा पाकिस्तानको ब्याटिङ पनि बलियो देखिएको छ । त्यसैले दुई टोली दुबईमा भिड्दा खेल रोमाञ्चक हुने आशा गर्न सकिन्छ ।
ट्वान्टी–२० क्रिकेटमा दुई टोलीले एक अर्कासँग धेरै खेलेका छैनन् । यसअघि ट्वान्टी–२० क्रिकेटमा एकपटक मात्र खेलेका छन्, २०१३ मा । यूएईमै सम्पन्न उक्त खेलमा पाकिस्तान ६ विकेटले विजयी भएको थियो । अफगानिस्तानभन्दा पाकिस्तान बलियो टोली हो । तर, पनि अफगानिस्तानविरुद्धको खेल्न पाकिस्तानलाई सहज भने हुनेछैन ।
“जब उनीहरु ब्याटिङका लागि जान्छन्, उनीहरु खुलेर खेल्छन् । उनीहरु मनदेखी खेल्छन्,” पाकिस्तानका प्रशिक्षक साक्लिन मुश्तकले भने, “उनी निश्चिन्त भएर क्रिजमा जान्छन् र आफ्नो योजना कार्यान्वयन गर्छन् । उनीहरु निडर भएर क्रिकेट खेल्छन् । र यस्तो टोली खतरनाक हुन्छ ।”
अफगानिस्तान क्रिकेट अहिले संकटमा छ । तालिवानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि त्यहाँको क्रिकेट भविष्यलाई लिएर आईसीसीले चिन्ता व्यक्त गरेको छ । अफगानिस्तानका बलर रशिद खानले राम्रो टोलीलाई समर्थन गर्न अपिल गरेका छन् । उनी भन्छन्, “यो खेलले राष्ट्रलाई एक ठाँउमा उभिन सहयोग गर्नेछ । मलाई विश्वास छ समर्थकहरु शान्त भएर खेलबाट मज्जा लिनेछन् । खेलमा जसले राम्रो क्रिकेट खेल्छ उसैले जित्ने हो ।”
पाकिस्तानको सम्भावित टिम :
मोहम्मद रिजवान (विकेटकिपर), बाबर आजम (कप्तान), फखर जमान, मोहम्मद हफीज, शोएब मलिक, इमद वासिम, आसफ अली, शाडब खान, हसन अली, शाहीन अफ्रिदी, हरिस रौफ ।
अफगानिस्तानको सम्भावित टिम :
हाज्रतुल्लाह जाजाई, मोहम्मद शाहजाद (विकेटकिपर), रहमानुल्लाह गुरवाज, अस्घर अफघान, मोहम्मद नाबी (कप्तान), नाजीबुल्लाह जर्दान, गुलबादिन नाइब, करिम जनत, रशिद खान, नबीन–उल–हक, मुजीब रहमान ।