site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यसकारण पर्‍यो बानेश्वरको सडकमा ठूलो खाल्डो

काठमाडौं । यही कात्तिक ८ गते बिहान अत्यधिक सवारी चाप हुने काठमाडौंको मुख्य सडक नयाँ बानेश्वरमा एक्कासि बीच सडकमा खाल्डो पर्‍यो । सिभिल अस्पताल र यातायात व्यवस्था विभागबीचको सडकमा ठूलो खाल्डो परेको चार दिनसम्म पनि पुरिएको छैन । उक्त सडक भएर आउजाउ गर्नेहरू सास्ती खेप्न बाध्य छन् ।

सो दिन सानो खाल्डो परेसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक विभागलाई खबर गरेको थियो । एक्साभेटरले कोतरेर ठूलो बनाइएको खाल्डोलाई अहिले डिभाइडर कोमले घेरबार गरी राखिएको छ ।

ट्राफिकले खबर गरेपछि सडक विभागले एक्साभेटर लिएर गई कोतरेको थियो । सानो खाल्डो कोतर्दै जाँदा ठूलो बन्यो । खाल्डो ठूलो हुँदा एकतर्फी लेन नै बन्द भएको छ ।

सडक विभागका महानिर्देशक अर्जुनजंग थापा ढल निकास समितिले ढलको काम सकाएर विभागलाई हस्तान्तरण गरे दुर्ई दिनमा सडक पिच हुने बताउँछन् । ‘‘खाल्डो परेको तलपट्टि ढल बढिरहेको छ । पहिला ढलको काम नसकाई सडक पिच गर्ने कुरा भएन । ढल बनाउने जिम्मा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)अन्तर्गतको ढल निकास विभागलाई दिइएको छ । ढल निकासले ढलको काम सकाएर सडक विभागलाई हस्तान्तरण गरेपछि मात्रै सडक पिच गर्न सकिनेछ,” महानिर्देशक थापाले भने ।

ढलको मंगालमा समस्या देखिएको र उक्त काम सकाउन चार दिनसम्म लाग्ने केयूकेएलले जनाएको छ । ढल बगिरहेको मंगालमा समस्या देखिएको केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए ।

‘‘सडकमुनि ढल बगिरहेको थियो । ढलको पानीले त्यहाँको माटो बगाएर लिएको देखिन्छ । अब मंगालको मर्मत–सम्भार राम्रोसँग गर्नुपर्ने हुन्छ । अहिले केयूकेएलअन्तर्गतको ढल निकास समितिको टोलीले ढलको काम गरिरहेको छ,” प्रवक्ता राईले भने ।

ढलकै समस्याका कारण सडकमा ठूलो खाल्डो परेको ट्राफिक इन्जिनियर आशिष गजुरेलले बताए । ‘‘एक्कासि यत्रो ठूलो खाल्डो परेछ । सडकमुनि ढल बगिरहेको थियो । पहिले ढल निकास व्यवस्थापनको काम सकाएर कच्ची रूपमा खाल्डो पुरियो । ढलको मंगाल पनि जीर्ण बन्दै गयो र बगिरहेको पानीले त्यहाँको खुकुलो माटोलाई बगाएर लग्यो । उक्त क्षेत्रमा कंक्रिटका अधिकांश संरचनाहरू रहँदा जमिनले पानी सोस्न पनि सकेन । यसैले खाल्डो परेको हो,” गजुरेलले भने ।

ढल निकासको काम गर्ने बेला नै पक्की तरिकाले गरेको यस्तो खालको समस्या निम्तिने सम्भावना नहुने गजुरेलको भनाइ छ । ढल निकास विभाग वा सम्बन्धित निकायले बेलाबेलामा यस्ता सडकखण्डको बीचमा रहेका ढलहरूको मर्मत–सम्भार गरिरहनुपर्ने गजुरेल बताउँछन् ।

केयूकेएलअन्तर्गतको ढल निकास समितिले पहिले कसले ढल निकासको काम गरेका भनी पत्ता लगाउन नसकिएको जनाएको छ । ‘‘कसले के आधारमा पहिले ढल निकासको काम गरेको थियो भन्ने खुलेको छैन । कहिले मंगाल बनाएर ढल निकास व्यवस्थापन गरिएको पनि खुलेको छैन । खुलेको भए मर्मत–सम्भार गर्न सहज हुन्थ्यो । यद्यपि, हामीले आफ्नो हिसाबले मर्मत–सम्भार गरिरहेका छौँ,” केयूकेएलका प्रवक्ता राईले भने ।

ढलको चाप मंगालमा बढ्दै जाँदा मंगाल जीर्ण भएर सडकमा खाल्डो परेको केयूकेएलको भनाइ छ । अब केयूकेएलले ढल बग्ने मंगालको काम सकाएपछि विभागले सडक पिच गर्ने जनाइएको छ । केयूकेएलले अब ढलको मंगाल मर्मत–सम्भार गरेर तथ्यांक राखिने जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  १६:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro