site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
यसरी जन्मियो ‘कालो केशमा रेलिमई’ (भिडियोवार्ता)

गायिका इन्दिरा जोशीले कुनै अन्तर्वार्तामा भनेकी थिइन्, “अहिले नयाँ गीत कुन आएको छ भनेर टिकटक नहेरी थाहा हुन्न ।”

गायिका जोशीले भनेको जस्तै टिकटक यति लोकप्रिय भैसक्यो कि टिकटकमा १५–६० सेकेन्ड सुनेको भरमा युट्युबमा गीत खोजेर सुन्ने दर्शक धेरै छन् ।
 
यस्तै पछिल्लो ४/५ दिनदेखि टिकटकमा एउटा गीत निकै रुचाइएको छ, ‘कालो केशमा रेलिमई’ बोलको लोक भाकामा छोरी मान्छेहरु रातो धागो लगाएर भिडियो बनाएर पोस्ट गरिरहेका छन् । केही केटाहरुले पनि गीतमा डान्स गरेको भिडियो हेर्न सकिन्छ ।
 
टिकटक प्रयोगकर्ताहरुको रोजाईमा परेको यो गीत, यसका सर्जक दिनेश ढकालको भने अन्तिम रोजाइमा परेको थियो भन्दा अच्चम नमान्नु होला ।
 
“म गीत रेकर्ड गर्ने सोचसहित आर्टमाण्डूमा अंकित दाई (अंकित बाबु अधिकारी) कोमा जाँदा मेरो प्राथमिकतामा ‘कालो केशमा रेलिमई’ गीत थिएन । मैले आफूले लेखेका ४÷५ वटा गीतहरु सुनाउन थालेँ । पाँचौं गीत सुनिसकेपछि दाइले अरु पनि छ भनेर सोध्नु भयो,” गायक ढकाल बेलिविस्तार लगाउँदै गए, “म सँग एउटा लोक प्याटर्नको गीत छ भनेर त्यो अन्तिम प्राथमिकतामा राखेको गीत सुनाउन थालेँ । मैले गीतारमा यो गीत सुनाएपछि दाइले सुरुमा यही गीत गर्नुपर्छ । यो गीतले तिमीलाई क्लिक गर्न सक्छ भन्नुभयो ।”

Dabur Nepal

आज संगीतकार अधिकारीले भनेजस्तै यो गीतले गायक ढकाललाई दर्शक अनि संगीत क्षेत्रका माझ क्लिक गर्न सफल बनेको छ ।
 
यसरी जन्मियो मायापिरतीको कालो केशमा 

गायक ढकाललाई १३÷१४ वर्षको किशोरावस्थामा नै गायन अनि लेखनमा रुचि  थियो । तर, उमेर बढ्दै गएसँगै जिम्मेवारीले थिच्यो । अरु नै पेशामा अल्झिए । तर, लकडाउनले उनलाई आफ्नो त्यो रहर अनि सपनातर्फ डोर्यायो । 
 
“लकडाउनको समय थियो, गरिरहेको काम पनि बन्द भयो एक्लै कोठामा बस्दाबस्दा मनमा अनेक कुरा खेल्न थाले । केही डिप्रेस थिएँ म । त्यो उकुसमुकुसलाई कसरी हटाउने भन्दा किन गीत नलेख्ने भन्ने लागेर गीतहरु लेख्न थालेँ,” उनी भन्छन् ।

चार÷पाँचवटा गीत लेखिसक्दा एउटा गीत भने लोक भाकाको तर युवा पुस्ताले रुचाउने केही फरक शैलीमा निकाल्ने सोच थियो । “म पश्चिमको मान्छे, काली गंगाले काटेको हाम्रो क्षेत्रलाई गन्डक क्षेत्र भन्छ । त्यहाँको लोकगीतको मेलोडी एकदमै राम्रो हुन्छ । लोक शैलीको गीत लेख्न त  लेख्ने तर के लेख्ने ? सोच्न थालेँ । दिमागमा क्लिक भयो– मायापिरती । आफ्नो कसैको तारिफ गरिरहेको जस्तो अनि प्रेमिकालाई प्रेम प्रस्ताव गरेको कन्सेप्ट बनाएँ ।”

सुरुमा कालो केशमा बाँधेको रिबन लेखेका थिए । तर, रिदम नमिलेको जस्तो लाग्यो उनलाई । त्यसपछि उनले गीतको रिदम र राइम मिल्ने शब्दहरु टिपेर गीत बुन्न थाले । 
 
गीतमा प्रयोग भएको रेलिमई शब्दले गीतलाई अझै माथि उठाएको उनले महसुस गरेका छन् । यद्यपि, उनलाई रेलिमई शब्दको शाब्दिक अर्थ भने थाहा छैन । सायद मायाले बोलाउने हो कि भन्ने छ । गीतमा उनले यो शब्द भने उनकै  जन्मथालोतिर लोकप्रिय रहेकाले राखेका हुन् । उनका अनुसार उनको जन्मथालेतिर रेलिमई, निरमाया, बरिलै, निर शब्दहरु चर्चित छन् । यी शब्द पछिल्लो समयका लोकप्रिय गीतमा धेरै प्रयोग पनि भइसकेका छन् ।
  
रेलिमई शब्दबारे गायक ढकाल भन्छन्, “रेलिमई शब्द राख्ने बित्तिकै राम्रो सुनियो । तर, पनि मैले रेलिमई चाँही मुखडामा मात्रै राख्छु पछाडि अरुनै शब्द राख्छु भन्ने थियो । तर, त्यसले गीतमा यतिधेरै मिठास भरिदियो कि मैले गीतभरि नै यो शब्द राखेँ ।”

गीतको सुरुको भाग गुल्मी अनि पछिको आधा काठमाडौं आएर घट्टेकुलोको आफू बस्ने घरको छतमा बसेर कल्पना गर्दै लेखेका हुन् ।
 
यो पाँच मिनेटको गीत तयार हुन करिब दुई वर्ष लाग्यो । गीत लेखन दुई वर्षअघि सुरु गरेका थिए । तयार भएर रेकर्ड भएको दुई वर्ष भयो भने दर्शकमाझ फेरि नौ महिनापछि बल्ल आयो ।
 
टिकटकले तानेको दर्शक 

गीतको मेलोडी उत्कृष्ट छ भन्नेमा उनलाई विश्वास त थियो । तर, पहिलो गीत नै दर्शकले यतिधेरै रुचाउलान् भन्ने अपेक्षा गरेका थिएनन् । दसैंको छेकोमा रिलिज गीतले सुरुको दुई दिन त्यति चर्चा पाएन । तर तेस्रो, चौथो दिनदेखि टिकटकमा यति गीत सुनिन थाल्यो, जसको प्रभाव युट्युबमा भ्युज, कमेन्ट अनि लाइकको संख्या बढ्न थाले । 

“सुरुको दिन युट्युबमा ठिकै भ्युज थियो । तर, तेस्रो दिनबाट त टिकटकमा भाइरल हुन थालिसकेको रहेछ । सामाजिक सञ्जालदेखि आफूलाई चिन्नेहरुले पनि फोन अनि म्यासेज गरेर प्रशंसा गर्न थालेपछि निकै खुसी भएँ” गायक ढकाल अनुभव सुनाउँछन्, “पहिलो गीतबाटै यतिधेरै माया पाउँदा खुसी नहुने को होला र ? तर, यो मेरो लागि भोलि यो भन्दा पनि राम्रो गर्नुपर्छ भन्ने चुनौति पनि हो ।”
 
गीतमा गायक मात्रै नभएर भिडियोमा  कलाकार पनि नयाँ छन् । त्यसैले सुरुको दुईदिन दर्शकले युट्युबमा त्यति ध्यान नदिएको हो कि भन्ने गीतका सर्जक ढकाल महसुस गर्छन् । 

यो गीतमा उनको शब्द, स्वर र संगीतका साथै अभिनय पनि छ । भिडियोमा लामो कपाल अनि गितारमा देखिने उनलाई अहिले कसैले देख्यो भने सायद ठ्म्याउन गाह्रो नै पर्ला । कारण गायक ढकालले कपाल काटिसकेका छन् । अहिले यो गीतको शब्द मेलोडी अनि सिनेम्याटोग्राफीको तारिफ भइरहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  १०:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro