काठमाडौं । अमेरिकाले नेपाललाई उपलब्ध गराएको कोभिड–१९ विरुद्धको एक लाख मात्रा फाइजर खोप काठमाडौं आइपुगेको छ ।
सोमबार बिहान एक लाख ६२० मात्रा फाइजर खोप नेपाल आइपुगेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । अमेरिकी सरकारले कोभ्याक्स कार्यक्रमअन्तर्गत खोप सहयोग गरेको हो ।
यसअघि, १५ लाख ३० हजार मात्रा जोन्सन एन्ड जोन्सन खोप सहयोग गरेको अमेरिकाले अहिले फाइजर खोप प्रदान गरेको हो ।
उक्त खोप यही कात्तिक २८ गतेदेखि दिइने भएको छ । देशभरका २४ वटा अस्पतालबाट सो खोप वितरण गरिने खोप शाखाले जनाएको छ । फाइजर खोप १२ वर्षमाथिका दीर्घरोगीहरुलाई दिन लागिएको हो ।
काठमाडौं उपत्यकाभित्र नौ र उपत्यकाबहिर १५ वटा विशेषज्ञ सेवासहितका अस्पताललाई खोप केन्द्र तोकिएको छ ।