सुन्दरी खोलामा आएको बाढीले सप्तरीको तिरुहत गाउँपालिका र कन्चनरुप नगरपालिकास्थित खेतमा पसेर धानबालीमा क्षति पुर्याएपछि चिन्तित हुँदै किसान । तस्बिरः अरुणकुमार यादव : रासस
काठमाडौं । बेमौसमी वर्षाले समाचार तयार पार्दासम्म ५० बढी नागरिकको ज्यान लिइसकेको छ ।
दसैंका लागि विभिन्न ठाउँमा पुगेका हजारौँ नागरिक गन्तव्यमा पुग्न सकेका छैनन् भने वर्षाले काटेको धान डुबानमा पर्दा लाखौँ कृषक पीडामा छन् ।
कात्तिकमा परेको यस्तो वर्षा करिब १२ वर्षपछिकै ठूलो भएको जल तथा मौसम विभागको भनाइ छ । तर अब यस्तो सम्भावना टर्दै गएको र भोलिदेखि मौसममा सुधार आउने विज्ञहरुको भनाइ छ ।
जल तथा मौसम विज्ञान विभागले पनि बिहीबारदेखि बेमौसमी वर्षा कम हुँदै जाने जनाएको छ ।
बंगालको खाडी र मध्यभारतमा बनिरहेको न्युनचापीय प्रणाली र पश्चिमी वायु प्रणालीको प्रभाव नेपालमा कम हुँदै गएको हुँदा मौसममा सुधार आउने देखिएको हो ।
विभागका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार उक्त न्युनचापीय प्रणाली सर्दैै गएको छ ।
‘‘अहिले एक नम्बर प्रदेश र दुई नम्बर प्रदेशमा बाक्लो बादल लागिरहेको छ । पश्चिमी क्षेत्रमा पनि बादलहरु लागिरहेको छ । मंगलबारको तुलनामा आज धेरै कम भइसकेको छ । आज रातभरमा लुम्बिनी, गण्डकी, कर्णाली प्रदेशमा मध्यम वर्षाको सम्भावना छ । अब भारी वर्षा हुने सम्भावना टरिसकेको छ । भोलिदेखि चरणवद्ध रुपमा मौसममा सुधार हुँदै जान्छ,” पौडेलले भने, ‘‘सोमबारदेखिको वर्षाले यतिधेरै क्षति पुर्यायो । अझ ठूलो क्षति हुनबाट जोगिएको छ । पछिल्लो समय पश्चिमी वायु प्रणालीको प्रभाव पनि कम हुँदै आएको छ । यद्यपी भोलिदेखि क्रमिक रुपमा मौसममा सुधार आउँदै जान्छ ।”
आजसम्म ठूलो वर्षाको सम्भावना रहे पनि उक्त ठूलो वर्षा टरिसकेको विभागको भनाइ छ ।
मौसमविद् प्रतिभा मानन्धर न्युनचापीय प्रणाली र पश्चिमी वायु प्रणालीबाट बनिरहेको ‘ट्रपिकल साइक्लोन’ पश्चिमी वायु क्षेत्रतिर ढल्किएको बताउँछिन् ।
सोमबारदेखिको वर्षाका कारण देशभरका विभिन्न जिल्लामा बाढीपहिरो गएको छ । बाढी पहिरोमा परेर ५० जनाभन्दा बढिले ज्यान गुमाएका छन् । कैयौँ बेपत्ता छन् ।
विभागको पूर्वानुमान अनुसार बिहीबार दिउँसो प्रदेश नं १, २ वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य मध्यम वर्षा हुनेछ ।
यी प्रदेशहरुमा सामान्य मेघ गर्जन, हावाहुरी र चट्याङ पर्ने सम्भावना छ । बिहीबार साँझ लुम्बिनी प्रदेश वाग्मती प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा सामान्य मध्यम मेघ गर्जन हुने विभागको पूर्वानुमान छ ।
मौसमविद् मानन्धरका अनुसार ‘ट्रपिकल साइक्लोन’ बनिरहेकाले बाढी पहिरो र चट्याङ पर्नेवाला वर्षा भएको हो । मनसुन राम्रो हुँदा वर्षा हुने सम्भावना र मनसुन नराम्रो हुँदा वर्षा नहुने सम्भावना रहन्छ ।
विभागले बिहीबार भन्दा शुक्रबारको मौसम क्रमिक रुपमा सुधार हुने जनाएको छ । शुक्रबार दिउँसो प्रदेश नम्बर १, २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा सामान्य वर्षा हुने अनुमान छ ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बादल लागेर सामान्य पानी पर्नसक्ने सम्भावना रहेको जनाएको छ । यस्तै शुक्रबार रातिको मौसम सामान्य मेघगर्जन र चट्याङ पर्ने सम्भावना रहेको छ ।