
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा सहकारीको रकम अपचलन आरोप लगाइएका मध्ये २० जना पक्राउ परेका छन् । ४६ जना फरार छन् ।
विभिन्न सहकारीमार्फत बचतकर्ताको रकम ठगी गरेको आरोपमा हालसम्म २० सञ्चालकलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ठगीविरुद्ध जाहेरी परेका तीन सहकारीको अनुसन्धान सम्पन्न भई जिल्ला अदालतमा पेस गरिएको कार्यालयका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए ।
तीमध्ये बनेपाको पुण्यश्वरी सहकारीको तीन करोड ८० लाख ९३ हजार ४१८, गरुड सहकारीको १४ करोड र युनिटी सहकारीको तीन करोड ५० लाख रुपैयाँभन्दा धेरै बचत फिर्ता नभएको अनुसन्धानबाट खुलेको छ ।
सूचना अधिकारी घलेका अनुसार, काभ्रेमा सात सहकारीका ६६ सञ्चालकविरुद्ध ठगीमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ । बाँकी चार सहकारीको अनुसन्धान जारी छ । थप केही सहकारीविरुद्ध ठगीसम्बन्धी मुद्दा दर्ता गर्ने गरी अनुसन्धान भएको जनाइएको छ ।
काभ्रे प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक वसुन्धरा खड्काले सहकारी ठगीबारे पछिल्ला केही महिनादेखि उजुरी तथा जाहेरी आउने क्रम बढ्न थालेको बताइन् । “सात सहकारीका ६६ जना सञ्चालकविरुद्ध मुद्दा परेकामा २० जनालाई पक्राउ गरिएको छ, बाँकी फरार छन् । फरारको खोजीकार्य भइरहेको छ । पछिल्लो समय उजुरी आउने क्रम बढिरहेको छ,” उनले भनिन् । रासस