
काठमाडौं । योगी नरहरिनाथ अध्ययन केन्द्रको नयाँ कार्यसमिति गठन गरिएको छ । शनिबार काठमाडौंमा आयोजित पहिलो साधारणसभाबाट कार्यसमिति चयन गरिएको हो ।
नयाँ कार्यसमितिको अध्यक्षमा गोविन्द बिष्ट चयन भएका छन् । उपाध्यक्षमा वसन्त भण्डारा, महासचिवमा तपेन्द्र बोहरा र कोषाध्यक्षमा संगीता सहकारीलाई सर्वसम्मत चयन गरिएको केन्द्रले जनाएको छ ।
दुईवर्ष कार्यकालका निम्ति सदस्यमा जागृत शाही, मेनुका भुल, भीम बिष्ट, सरिष्मा घिमिरे, आर्सी ढकाल, वसन्त शाही र वरुण चौलागाईं निर्विरोध चयन भएका छन् ।
योगी नरहरिनाथ अध्ययन केन्द्र ०७८ साल वैशाख १ गते गोविन्द बिष्टकै अध्यक्षतामा बैठक बसेर सुरु गरिएको संस्था हो । ०८१ फागुन ११ गते योगी नरहरिनाथको जन्मदिन पारेर जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गराइएको थियो ।
“यस संस्थाको सुरुआत योगी जन्मेको गाउँका युवा विद्यार्थीहरूले सुरु गरेका थिए भने अहिले देशैभरिबाट जोडेर अगाडि बढेको छ,” केन्द्रले भनेको छ ।
नयाँ समितिले आउँदो वर्षका निम्ति आफ्नो कार्यपत्र पनि प्रस्तुत गरेको छ । संस्थाले योगी नरहरिनाथको योगदानलाई ‘जीवन दिने’ प्रमुख उद्देश्य राखेको छ । “सँगसँगै नयाँ पुस्तालाई आफ्नो देश, आफ्नो मौलिकता र आफ्नो संस्कृतिसम्बन्धी अध्ययनमा रुचि जगाउनु यस संस्थाको लक्ष्य रहेको छ,” नवनिर्वाचित अध्यक्ष बिष्ट भने ।