site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हुम्लामा भारी हिमपात, भित्र्याउन तयार बाली बाढीपहिरोले लग्यो (तस्बिरसहित)

काठमाडौं । हिमाली जिल्ला हुम्लाका चार गाउँमा भारी हिमपात भएको छ । चीनसँग जोडिएको हिल्सा नारा लेक, लिमी यारी र मुचुमा हिउँ पर्दा जनजीवन अस्तव्यस्त बनेको छ ।

तीनदिनदेखिको अविरल वर्षाका कारण भित्र्याउन ठिक्क पारेको बाली बाढीपहिरोले बगाएर लगेको छ । यहाँका किसानहरूले भित्र्याउन लागेको धान, कोदो, मकै, फापर, कागुनोलगायतको अन्न बाढीले बगाएको छ । पानी परेका क्षेत्रहरूमा अन्नबाली बाढीले बगाएको छ भने अन्य ठाउँमा हिउँले पुरिदिएको छ । 

आज विहान राया, थाली, प्युस, कारंगा, लाली, गोप्का, लगायतका पहिरो जाँदा भित्र्याउन ठिक्क पारेको बाली बाढीले बगाएको स्थानीय कल्पना बुढाले बताइन् । ‘‘घरभित्र क्षति पुगेको छैन । पाकेको बाली बाढीले बगाउँदा कृषकहरू चिन्तित भएका छन,” उनले भने ।

जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले सोमबारदेखि हिल्सानाकामा हिमपात भएको जानकारी दिए । आइतबारदेखि निरन्तर पानी परिरहेको र सोमबारदेखि हिल्सा नाका क्षेत्रमा विभिन्न गाउँमा हिमपात भएको उनले बताए । उनकाअनुसार हवाई सेवा आइतबारदेखि नै अवरुद्ध छ । 

“सिमिकोट विमानस्थलमा भने निरन्तर पानी परिरहेको छ । बेलुकासम्म हिउँ पर्न सक्छ । हिल्साको नारा लेकमा सोमबार नै १ फिट हिउँ जमिसेको खबर आएको थियो । अहिले त्यहाँ जान सकिने अवस्था छैन । प्रशासनका केही कर्मचारीहरू पनि हिल्सा नारालेकमै थुनिएका छन् । यातायात सेवा पनि अवरुद्ध भएका छन्,” उनले भने ।

प्रशासनकाअनुसार हिल्सा नाकामा सशस्त्र प्रहरी सीमा सुरक्षा चौकी, नेपाल प्रहरीको सुरक्षा चौकी, हिल्साका होटेल व्यवसायी रहँदै आएका छन् र उनीहरू नै बढी प्रभावित बनेका छन् । पाँच हजार मिटर अग्लो हुम्ला हिल्सा नारा लेकमा निरन्तर हिमपात भइरहेकाले पूरै नाका अहिले बन्द रहेको प्रशासनले जनाएको छ । 

प्रहरी कार्यालय हुम्लाका प्रहरी जवान नवीन जोशीकाअनुसार ३१ गते बिहानदेखि हिमपात भएको हो । हुम्लाका हिमाली गाउँ लिमी, यारी, हिल्सा र मुचुमा हिमपात हुँदा सबै बाटाघाटा अवरुद्ध भएको उनले बताए । 

“मानिसहरू बाहिर निस्कने अवस्था छैन । चीनदेखि हुम्ला सदरमुकामसम्म चल्ने सवारीसाधनहरू पूर्णरुपमा ठप्प भएका छन् । हिजोसम्म खार्पुनाथ गाउँपालिका र यांचुकुनासम्म मात्रै गाडी चलेका थिए । आजदेखि सवारी पनि नचल्ने अवस्था आएको छ,” उनले भने, “लिमीको प्रहरी कार्यालय हिउँले पुरियो भन्ने खबर आएको छैन । गएरातिसम्मको अपडेटअनुसार हिल्सामा एक फिट हिँउ परेको थियो । आज सम्पर्क भएको छैन । पुस माघ महिनामा पर्ने हिउँ कात्तिकमै पर्दा यहाँको जनजीवन अस्तव्यस्त बनेको छ ।” 

जिल्ला प्रहरी कार्यालय हुम्लाकाअनुसार हिमपात भएका क्षेत्रमा मानिसहरू सम्पर्कमा आएका छैनन् । प्रहरी जवान जोशीले निरन्तर हिमपात हुँदा मोबाइलमा चार्ज सकिएर सम्पर्कविहीन हुनसक्ने बताए । 

‘‘हिउँ परिरहेको ठाउँमा बत्ती छैन । निरन्तर तीन दिनदेखि वर्षा भइरहेको छ । घाम नलाग्दा सोलार चार्ज भएका छैनन । त्यसैले सम्पर्क हुन नसकेको हो,” जोशीले भने ।

प्रशासनकाअनुसार नेपाल टेलिकमको टावर नबन्दा सञ्चार सम्पर्क गर्न सकिने अवस्था छैन । निरन्तर तीन दिनदेखि पानी पर्दा र हिमपात हुँदा सोलारले काम गरिरहेका छैनन् । जसले गर्दा वल्डलिङ्क सेवा पनि अवरुद्ध छ । अधिकांश क्षेत्रको बत्ती गएको उनले बताए ।

प्रशासनका अनुसार अहिले पनि निरन्तर पानी परिरहेकै छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  १९:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro