site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नौबिसे–नागढुङ्गाको सवारी जाम छिचोल्नै तीन घण्टा !

काठमाडौं । यसपालिको दसैँमा संघीय राजधानी काठमाडौं उपत्यकाबाट करिब ९ लाख मानिस बाहिरिए । तर, उनीहरूमध्ये अधिकांशले काठमाडौंकै छेउ (नौबिसे–नागढुङ्गा) मा ३ घण्टाभन्दा बढी सवारी जाममा बस्नुपर्यो ।

अहिले पनि नौबिसे–नागढुङ्गा क्षेत्रमा काठमाडौं भित्रिने सवारीहरूको भिड देख्न सकिन्छ । घण्टौंको जाम बेहोरेर दसैँ मनाउन घर गएकाहरूले फर्किँदा पनि उही समस्या भोगिरहेका छन् । यात्रुले करिब २० किलोमिटर दूरी छिचोल्न तीन घण्टाभन्दा बढी सवारी जामको सामना गरिरहेका छन् ।

नौबिसेको खानीखोला, झ्याप्लेखोला, नागढुङ्गा हुँदै काठमाडौं कलंकीसम्मको २० किलोमिटर दूरीमा हुने सवारी जामको हैरानी नयाँ भने होइन । दसकौँदेखि यो क्षेत्रमा यात्रुले ३ घण्टादेखि १२ घण्टासम्म जामको हैरानी खेप्दै आएका छन् । 

कालिकोटका नन्दबहादुर नेपाली आइतबार नेपालगञ्जबाट काठमाडौं फर्किए । उनी नेपालगञ्जबाट नौबिसे पुग्दासम्म जाममा परेनन् । जब गाडी नौबिसे पुग्यो, त्यसपछि सुरु भयो काठमाडौंको जाम ।  

‘‘गाउँ जाने बेलामा नौबिसे–नागढुङ्गाको जाम छिचोल्नै तीनघण्टा बढी लाग्यो । अहिले गाउँबाट काठमाडौं फर्किँदा पनि उस्तै रहेछ । नेपालगञ्जबाट बिहान ९ बजे नौबिसे पुगिसकेका थियौँ । नौबिसेमा अत्यधिक जाम रहेछ । कलंकी पुगिसक्दा पनि जाम सकिएन । त्यति छोटो बाटोमा तीन घण्टा बढी लाग्यो,” नेपालीले भने, ‘‘बेलुकी ५ बजे काठमाडौंबाट हिडेको रातिको ८ बजेपछि मात्रै नौबिसे कट्यो । अहिले काठमाडौं आउँदा पनि १२ बजे मात्रै कलंकी नागढुङ्गा कट्यो ।”

हाल दैनिक गाउँबाट काठमाडौं फर्किनेहरूको संख्या बढ्दैछ । अब यो नाकाको जाम झनै बढ्दै जाने निश्चित छ ।

यो नाकामा गाउँ आउजाउ गर्ने सवारी साधन, ढुवानीका टिपर, दुई पाङ्ग्रे सवारी साधनहरू पनि उत्तिकै गुड्छन् । सवारी जाममा अत्यावश्यक सेवाका एम्बुलेन्स, सुरक्षा निकायका गाडी, स्कुल बस छिर्ने ठाउँसमेत हुँदैन । यही नौबिसे–नागढुङ्गाको जामकै कारण उपत्यकामा आउजाउ गर्ने सबै किसिमका सार्वजनिक सवारी साधन समयमै गन्तव्यस्थल पुग्न सकिरहेका छैनन् ।

२०७६ साल असोज १० नौबिसे–नागढुङ्गा सडकखण्डको जाममा फसेर मिर्गौला रोगी रोतहट गौर नगरपालिका ७ का ३५ वर्षीय रूपलाल साहले गाडीभित्रै प्राण त्यागेका थिए ।  उपचारका क्रममा काठमाडौं ल्याउँदै गर्दा बसभित्रै उनको मृत्यु भएको थियो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले नौबिसे–नागढुङ्गाको सवारी व्यवस्थापन गर्न र जाम कम गर्न विशेष प्रहरी टोली खटाइएको जनाएको छ । महाशाखाका प्रवक्ता एसपी सञ्जीव दास शर्माले नौबिसे–नागढुङ्गाको जाम घटाउन ३० जनाको ट्राफिक टोली खटाइएको जानकारी दिए । 

‘‘अहिले दैनिक ३८ हजार यात्रु उपत्यका भित्रिरहेका छन् । यो संख्या सामान्य हो । यो नाकाबाट ७८ हजारको हाराहारीमा यात्रु भित्रिने गर्छन् । अहिले खासै समस्या छैन । त्यहाँ खटाइएका ट्राफिक प्रहरीहरूले सहजै सडक सवारी व्यवस्थापन  र जाम व्यवस्थापन गर्न सकिरहेका छन्,” प्रवक्ता दासले भने, ‘‘दसैँ मनाएपछि जम्मा पाँच हजार गाडी उपत्यका भित्रिएका छन् । पूर्णीमाको भोलिपल्टदेखि मात्रै भित्रिने क्रम बढ्दै जाने हो । अहिलेको अवस्थामा उपत्यका बाहिरिनेको संख्या शून्य जस्तै छ । नौबिसे–नागढुगांमा सवारी जाम हुनलाई ४० हजार सवारी आवागमन हुनुपर्छ ।”

सडक डिभिजन कार्यालयले पनि अहिले नौबिसे–नागढुङ्गा सडकखण्डमा समस्या नभएको जनाएको छ । डिभिजन कार्यालयका प्रमुख कुवेर नेपाली नौबिसे–नागढुङ्गामा पहिलेभन्दा अहिले जाम धेरै कम भएको बताउँछन् । 

‘‘पहिले सडक साँघुरा थिए । जीर्ण थिए । खाल्डैखाल्डा थिए । अहिले त्यो अवस्था छैन । सबै मर्मत सम्भार गरिसकेका छौँ । साँघुरा मोडहरू कटिङ गरी सडक चौडा बनाइएका छन् । सबै जाम एकैपटक हट्ने होइन । विस्तारै विस्तारै हट्दै जाने हो । पहिलेभन्दा अहिले सवारी आवागमन धेरै सहज भएको छ,” नेपालीले भने ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  ०७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro