न झरी न हुरी दश कोण खुली
न चिसो न त गर्मी छ उति
रमणीय प्रभात उदाउँछ रे
अब साथी शरद ऋतु आउँछ रे ।
आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई । ठिक यस्तै उखानजस्तै भएर आउँथ्यो त्यो शरद ऋतुसँगै हाम्रो बाल्यकालमा दसैं । म जुन परिवेशमा जन्मेँ, हुर्केँ, त्यो पूरा आदिवासी समाज थियो । त्यहाँ किसान, मुण्डा, राजवंशी र सतारजस्ता आदिवासी समुदायहरूको बाक्लो बसोबास थियो ।
उनीहरूका आ–आफ्नै किसिमका विशिष्ट संस्कृति र परम्पराहरू थिए । जब शरद ऋतुको आगमन भइसकेको हुन्थ्यो, बर्खे बिदा ४५ दिन सकिएर हामी भाद्र महिनामा भर्खर स्कुल जान थालेका हुन्थ्यौँ । त्यसपछिको डेढ महिनामा फेरि १५ दिने दसैँ बिदा सुरु हुने भएपछि हाम्रा खुसीका दिनहरू अझ मुखर भएर आउँथे ।
हाम्रा क्षेत्रका आदिवासी जातिहरू दसैँमा टीका त लगाउँदैनथे, तर नेपाली समुदायका मान्यजनका घरमा गएर भने उनीहरू दसैँको टीका थाप्थे । टेनु राजवंशीले छविलाल मैनालीका घरमा हाँसको सिसार लिएर टीका लगाउन गएको मलाई हिजैजस्तो लाग्छ ।
कालीपूजा भनेर माता दुर्गाको आराधना गर्दथे । किसान जातिका युवाहरू नौरथा लाग्नुअघि नै आफ्ना धामी गुरुका साथमा डाँटा नामको खेल खेल्न थाल्थे । ससाना एकहाते लाठीहरू एकाापसमा गीतको तालमा जोडेर आधा रातसम्म रूखको फेदमा घुमीघुमी खेल्थे ।
उनीहरूको भाषा बुझ्ने भएकाले हामी पनि आधा रातसम्म उनीहरूका गीत र नाचमा मग्न हुन्थ्यौँ । उनीहरूले गाउने गीतको पंक्ति यस किसिमको हुन्थ्यो–
तुल्सीके पत्ता नीमक छाइं
ससुर बेटे बूढी भवानी
डोले मुजुरके पंखा रे ।
यसरी गीत गाएर दसैँमा रौनक ल्याउने किसान जातिहरू अहिले अति सिमान्तकृत समुदायमा परिसकेका छन् र जो छन्, तिनले पनि केवल सम्झना मात्र गर्ने हुन् ।
त्यस्तै, मुण्डा समुदायले मादल र झ्याम्टा ढाँकसहितको सामूहिक नृत्य र सतार जातिको टाउकामा मयूरको प्वाँख राखेर गरिने नृत्य पनि कम रोचक कहाँ हुन्थ्यो र ?
राजवंशी जातिहरू भने विशेषगरी नेपाल र भारतमा लाग्ने मेलाहरूमा र दुर्गापूजाहरूमा सामेल हुन्थे । त्यस बेला टोलटोलमा दुर्गा मन्दिर स्थापना गरेर पूजा गर्ने चलन चलेको थिएन । काँकडभिट्टाको पुरानो भन्सारमा रहेको दुर्गा मन्दिरमा बिहानैदेखि गरिने दुर्गा भजनले सारा गाउँ नै रोमाञ्चक बन्दथ्यो ।
सोह्रश्राद्व लाग्नासाथ एकाबिहानैदेखि बज्ने ढिकीको आवाजले गाउँलेहरूको निद्रा खल्बल्याउँथ्यो । घरैमा कुटेका चिउरा देउतालाई चढाएर मात्र आफूले खाने चलन थियो । निर्वाहमुखी कृषि भएकाले आफ्नै बारीमा पाकेका चिनीचम्फा र मालभोग जातका केराहरूले घरै ढाकिएको हुन्थ्यो ।
मासुका लागि खसीबोका पनि घरैमा पालिएका हुन्थे । त्यस बेला खोरबाट खसीबोका र बारीबाट केराका घरी हराउने जोखिम पनि त्यतिकै हुन्थ्यो । चंगाको चलन हामीलाई के थाहा, तर गोपाल दाइले आफैँ लामो पुच्छर भएको चंगा र लट्टाई बनाएर हाम्रो त्यो इच्छा समेत पुर्याइदिन्थे ।
मझौला किसान परिवार रहेको अधिकांश हाम्रो समाज खेती–किसानीका साथमा पशुपालन समेत अभिन्न अंगका रूपमा थियो । त्यस बेलासम्म रासायनिक मल भित्रिइसकेको थिएन । सबै खेतीमा कम्पोस्ट मलको नै चलनचल्ती थियो । यसको सम्पूर्ण परिपूर्ति पशुपालनबाटै हुन्थ्यो । सबैका आ–आफ्ना गच्छे अनुसारका गाईवस्तु र सोही अनुसारका गुहाली (गोठ) हुन्थे । टाटना र खोर पनि सोही अनुरूप हुने गर्दथे । एक किसिमले भन्नुपर्दा सम्पन्नताको मापन पनि त्यसैले छुट्ट्याउँथ्यो !
दसैँमा घाँसको जोहो गर्नु एउटा अर्को तर अपरिहार्य काम हुन्थ्यो । पशुवस्तुलाई भोकै राख्नु भनेको आफू भोको बस्नुसरह नै मानिन्थ्यो । बुबाआमाले हाम्रा भागमा परेको घाँसको भारी हामी आ–आफ्ना खेतबारीबाट र पछि नजिकै रहेको टोकला चिया कमानबाट लुकीछिपी रातबिहान गरेर ल्याउँथ्यौँ । दिउँसो चौकीदारले बगानमा छिर्न दिँदैनथे । हुन त माचमा सुकेको पराल पनि हुन्थ्यो । यद्यपि, लैना वस्तु र बाच्छाबाच्छीहरूका लागि हरियो घाँस प्राथमिकतामा पर्दथ्यो ।
कुनै जिम्मेवारीविहीन अवस्था, पूरा फुक्काफाल जीवन । बाबुआमाले कसरी पो दसैँ टार्थे, त्यो हामी केटाकेटीहरूलाई के थाहा । पाटा (जुट) नबिकेको भए धुलाबारीको पुरानो छविलाल कैँयाका दोकानबाट उधारोमा नै भए पनि हाम्रा लागि लुगा आउँथे र जसबहादुर दर्जी दाइले घरैमा आएर सिलाइदिन्थे । दर्जी दाइले संसार छाडेको पनि अब त दुई दशक नाघिसक्यो । उनले कुन बेला आफ्ना लुगा काटेर सिलाउन थाल्छन् भन्ने मूल ध्याउन्नमा हामी केटाकेटीहरू हुन्थ्यौँ ।
अझ पैसाको सकस भएकाहरूले त एक सय रुपैयाँको एक मन धान ब्याज कबोल गरेर पनि केटाकेटीका आवश्यकता पूरा गर्नुपर्ने समय थियो । जसलाई धाने ब्याज भनिन्थ्यो । त्यसका लागि तयार भएर बसेका हुन्थे गाउँका साहु महाजनहरू ।
नौरथा सुरु भएकै दिन पिङ हाल्ने चटारो भइहाल्थ्यो । ठाकुरबाजे (ठाकुरप्रसाद घिमिरे)ले लिंगेपिङ हाल्न ६ घना बाँस प्रत्येक दसैँदसैँ सित्तैमा दिने गरेका थिए । गाउँभरिमा उनैको ठूलो बाँसघारी थियो, झन्डै दुई बिघा क्षेत्रफलमा फैलिएको । बाँसका लिंगा काट्न जानेहरूले अरू छ घना बाँस आफ्ना निजी प्रयोगका लागि समेत ल्याउन सक्ने अवस्था समेत कहिलेकाहीँ हुन्थ्यो !
पिङ हाल्न घरघरबाट लठारो बाट्नका लागि पाटा संकलन तन्नेरी दाइहरूले गर्थे । एकै दिनमा लठारो बाटेर पिङ बनाएपछि त हामीलाई अर्थोक के चाहियो र ? आधा रातसम्म जुनेली रातमा पिङमा झुत्ति खेलेर बस्यो आफ्ना दौतरीहरूसँग । आहा ! क्या थिए ती दिनहरू । अहिले लाग्छ, खै कहाँ गए ती दिनहरू ?
विजयादशमीसँगै टीका लगाउने र आफन्त विशेषगरी मामाघरमा गएर पाउने त्यस बेलाको दक्षिणाले अति नै महत्त्व राख्थ्यो, त्यो पैसाले के गर्ने भनेर । कति नै पो हुन्थ्यो र मुस्किलले पाँच–सात रुपियाँ ।
मलाई भने खै किन हो त्यो पैसाले कलम किन्न औधी मन लाग्थ्यो र मैले धेरैचोटि दसैँको दक्षिणाले कलम किनेको छु । र, त्यसको सट्टामा आमाको गाली पनि धेरै नै खाएको छु । झन्डै आधा शताब्दीअघिको त्यो पैसाको तुलना अहिले कसरी पो हुन सक्ला र !
मलाई फेरि ती दसैँसँग साक्षात्कार गर्ने बिछट्ट रहर छ, जुन मेरो किशोरवयका सातदेखि सोह्र वर्षको उमेर समूहमा बितेका थिए । तर, त्यो मेरो सपना यो जुनीमा कदापि पूरा हुने सम्भावना छैन । किनकि, समय साह्रै बलवान् छ ।