site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
जो म नायक हुँ भन्छ ऊ नै नेपाली चलचित्रको खलनायक हो 

नेपालमा हिरो र हिरोइन शब्द जसरी प्रयोग भइरहेको छ, यसलाई परिवर्तन गर्नुपर्ने आवश्यकता छ । हामी हिरो र हिरोइन भनेर जसरी बुझिरहेका छौँ, यो नै गलत छ । वास्तवमा हिरो र हिरोइन भन्ने नै हुँदैन । चलचित्रमा काम गर्नेहरू कलाकार हुन् । राम्रो कलाकार, अब्बल कलाकार, राम्रो स्टन्ट दिने कलाकार हुन्छन् । कोही स्टार हुन्छन् अर्थात् चर्चाको शिखरमा हुन्छन् । कोही निकै धेरै ट्यालेन्ट हुन्छन् तर पनि उनीहरू मिडियामा खासै धेरै छाउँदैनन् ।

हिरो÷हिरोइन भनेको त कथाभित्रका पात्र हुन् । हाम्रो न्यारेटिभ नै गलत छ । हामी उनीहरूलाई हिरो/हिरोइनको आँखाबाट हेर्छौँ । वास्तवमा हामीले परिवर्तन गर्ने न्यारेटिभ नै यही हो । उनीहरू हाम्रा कलाकार हुन् । म निर्देशक भनेजस्तै उनीहरू कलाकार हुन् । कलाकार नायक वा  नायिका अथवा महानायक वा महानायिका हुँदैनन् । नायक भनेको त्यो हो जसले नायकत्वलाई प्रतिनिधित्त्व गर्छ । नायकले असामान्य अवस्थामा समस्या समाधानका लागि काम गर्छ । परिवर्तन ल्याउन जसले संघर्ष गरेको छ वा गर्न सक्छ त्यो नायक हो । उदाहरणका लागि नेपालका लागि सन्दुक रुइत नायक हुन् । अनुराधा कोइराला नायिका हुन् । सपना रोकामगर नायिका हुन् । किनभने, उनीहरूले समस्या समाधानका लागि काम गरेका छन् ।

जसले परिवर्तनका लागि काम गर्छ, संघर्ष गर्छ र समाजमा परिवर्तनको ढोका खोल्छ ऊ नै नायक/नायिका हो । तर, हामी गलत न्यारेटिभको जगमा बसेर बोलिरहेका छौँ । गलत बुझिरहेका छौँ । कलाकारलाई नायक र नायिका भनिरहेका छौँ । हामी त नायक/नायिका र अन्य कलाकार भनिरहेका छौँ । यसले हामी कति गलत शब्दावली प्रयोग गरिरहेका छौँ भन्ने स्पष्ट पार्छ । न्यारेटिभमा नेपाली पत्रकारिता अहिलेसम्म अल्झिरहेको छ । यो गलत कथ्यमा हामी रुमलिरहेको उदाहरण हो ।

जब हामी कलाकारलाई नायक/नायिका मान्छौँ र कलाकारलाई गौण ठान्छौँ, यही नै समस्याको जग हो । जब कलाकारलाई हामी गौण मान्छौँ, त्यहीँबाट सिनेमाको कथा कमजोर हुन्छ । जहाँ पात्रलाई प्रमुख मानेर काम गरिन्छ, त्यस्तो चलचित्रको कथा राम्रो हुन्छ । पात्रलाई नायक मान्छौँ भने त्यो चलचित्र राम्रो हुन्छ । जबसम्म व्यक्तिलाई हामी नायक/नायिका भन्छौँ भने हाम्रो चलचित्र कसरी राम्रो हुन्छ ? अभिनय गर्ने व्यक्ति अभिनेता तथा अभिनेत्री हुन्छ । त्यसैले सबैभन्दा पहिला न्यारेटिभ नै परिवर्तन गर्नुपर्छ ।

हामी ठिक उल्टो बाटो हिँडिरहेका छौँ । हामी जुन बाटो हिँडिरहेका छौँ, जुन बुझाइ र न्यारेटिभलाई आत्मसात् गरिरहेका छौँ, यसमा परिवर्तन नभएसम्म हाम्रो चलचित्रको स्वरूप नै परिवर्तन हुँदैन । समस्याको जड नै नायक र नायिका हुनुमा हो ।

राजेश हमाल वा अर्को कुनै व्यक्तिलाई लामो समयसम्म काम गरेको कलाकार भनेर सम्मान गर्नुमा समस्या छैन । धेरै फिल्ममा अभिनय गरेको कलाकार भनेर सम्मान गर्दा आपत्ति हुँदैन । दयाहाङ राई र सौगात मल्ललाई राम्रो अभिनय गर्ने मल्टि ट्यालेन्टेड कलाकार भनेर भन्न सकिन्छ । यसो भनियो भने त्यो उहाँहरूको सीप र क्षमताको सम्मान हो ।

तर, नायक/नायिका त कथामा हुन्छ । यो न्यारेटिभसँग नेपाली चलचित्रको ठूलो समस्या छ । यसलाई तत्काल परिवर्तनको बाटो देखाउँदै त्यसतर्फ हिँडाउनु अहिलेको आवश्यकता हो ।

जसले नायक/नायिका भनेर बहस गरिरहेको छ, यो बहस गर्ने समूह सिनेमा बुझेको समूह होइन । सिनेमाको साहित्य बुझेको समूहले यो बहस गरिरहेको छैन । सिनेमाको साहित्य र भाषा जसले बुझेको छ उसले चलचित्रमा नायक र नायिका शब्दको प्रयोग गर्दै गर्दैन ।

यसले हामी सिनेमाप्रतिको बुझाइलाई लिएर कुन धरातलमा छौँ भन्ने स्पष्ट पारेको छ । कलाकार र पात्र छुट्ट्याउन नसकेकै कारण नेपाली चलचित्रको लामो इतिहास भए पनि अपेक्षित प्रगति हुनसकेको छैन । पात्र, कथा, कथ्य, द्वन्द्व नेपाली चलचित्रले प्रयोग गर्न थालेको भर्खर हो । दशकौँसम्म हामी सिनेमाको अज्ञानताभित्र रुमलियौँ । अहिले समाजले प्रयोग गर्ने शब्द र शब्दावली नै हाम्रो चलचित्रप्रतिको अज्ञानताको उपज हो ।

जो म नायक हुँ भन्छ, वास्तवमा ऊ नेपाली चलचित्रका लागि खलनायक हो । ऊ त कलाकार हो । उसले आफूलाई चिनाउनुपर्दा कलाकार भनेर चिनाउनुपर्छ । म सक्षम र दक्ष कलाकार हुँ भनेर आफूलाई चिनाउनुपर्नेमा नायक/नायिका हुँ भनेर चमकधमक पूर्ण व्यवहार गरिरहेको छ । र, यसमा रमाइरहेको छ भने यही नै उसको अज्ञानता हो । यही अज्ञानताको प्रतिफल हो नेपाली चलचित्र र यसको गुणस्तर । जसरी अहिले बहस भइरहेको छ, यसलाई चिर्ने भनेको ज्ञानले मात्रै हो । जुन बहस भइरहेको छ, यसको न कुनै अर्थ छ न यसले चलचित्र क्षेत्रलाई टेवा नै पुर्याउँछ ।

जुन दिन सिनेमाको ब्याकरण, संरचना र यसको भाषामा बहस सुरु हुन्छ त्यस दिन बल्ल नेपाली सिनेमाको विकास हुन्छ । त्यो समय अहिले भइरहेको को नायक र महानायक भन्ने बहस नै हास्यास्पद लाग्छ । हामी कस्तो अज्ञानतामा रमाइरहेका रहेछौँ भन्ने कुराको बोध हुन्छ ।

अहिले अग्रज मानिएको पुस्ताले जे बहस गरिरहेको छ, त्यसको शृंखला अहिलेको पुस्तामा पनि पुस्तातरण हुन थालेको छ । यो शुभसंकेत होइन । तर, स्टार भने कोही व्यक्ति हुनसक्छ । जसको समाजले चर्चा गर्छ ऊ स्टार हो । कोही पपुलर छ भने उसलाई मोस्ट पपुलर वा स्टार भन्न सकिन्छ । तर, यहाँ समस्या कथाभित्रको चरित्रलाई बाहिर ल्याएर सम्बोधन गर्ने र त्यही आत्मरतिमा रमाउनु हो । यो आत्मरति अज्ञानता हो । यो अज्ञानताको शृंखला अगाडि बढिरहेको छ ।

नेपाली चलचित्रमा ज्ञानमाथि लगानी छैन । ज्ञान हासिलका लागि गम्भीरता छैन । अज्ञानतामै रुमलिरहेका छौँ । यही अज्ञानताको फाइदा नेपाली सञ्चारमाध्यमले लिइरहेको छ । मिडियाले गलत शब्द प्रयोग गरिरहेका छन् । गलत न्यारेटिभ प्रयोग भइरहेको छ भन्न सक्नुपर्छ । चलचित्रको भाषाभित्र नपर्ने शब्द व्यक्तिलाई गुथाइरहेका छौ भनेर भन्न र प्रश्न गर्न सक्नुपर्छ । सिनेमाभित्रको शब्दलाई गलत ठाउँमा प्रयोग गरिरहेका छौ भनेर मिडियाले प्रश्न गर्नुपर्छ । तर, मिडिया कसले कसलाई महानायक र महानायिका दियो÷दिएन भनेर बहस गरिरहेका छन् । यसमा मिडियाको स्वार्थ छ । किनभने, यसमा भ्युअर्स छ ।

यी सबै कुरा अज्ञानताको उपज भएकाले सबैभन्दा पहिला चलचित्रकर्मीहरूले ज्ञानको खोजी गर्नुपर्छ । ज्ञानको विकास अथवा अध्ययनशील हुनुपर्छ । अन्यथा, यो समस्या रहिरहनेछ । यसका लागि सम्बन्धित शिक्षण संस्था आवश्यक हुन्छ । बौद्धिक वर्ग र पत्रकारहरूले यसलाई सच्याउनुपर्छ । यो भाष्य नसच्चाएसम्म कलाकार र पात्रबीचको फरक चलचित्रकर्मी र समाजले छुट्ट्याउन सक्दैन । तर, चलचित्र क्षेत्र अहिलेकै उल्झनमा रहिरहन्छ ।  

(मनोज पण्डितसँग बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानीमा आधारित ।)

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, असोज २७, २०७८  ०६:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro