काठमाडौं । गोरखा दरबारबाट पठाइएको फूलपाती हनुमान ढोकास्थित दसैँघरमा भित्र्याइएको छ ।
नेपालीहरूको महान पर्व बडा दसैँको सातौँ दिन गोरखा दरबारबाट पठाइएको फूलपाती शास्त्रीय विधिअनुसार हनुमान ढोकास्थित दशैँघरमा भित्र्याइन्छ ।
आज बिहान ८ः२५ को साइतमा गोरखा दरबारबाट निकालिएको फूलपाती अपराह्न साढे ४ बजे बाजागाजासहित दसैँघरमा भित्र्याइएको हो । अशोक, बेल, दारिम, सामा, धान, उखु, केरा, जयन्तीका र हलेदो फूलपातीका रूपमा दसैँघरमा भित्र्याइएको हो । नवपत्रिकाको नामले चिनिने फूलपाती नौ देवीको प्रतिकका रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार देवीको आराधना गर्ने र शक्ति ग्रहण गर्ने परम्परा रहेको ।
राज्य एकीकरणको अभियानमा पृथ्वीनारायण शाहले काठमाडौंमाथि विजय पाएपछि काठमाडौंलाई देशको राजधानी बनाएको र त्यसपछि गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमान ढोका ल्याउने प्रचलन सुरु भएको बताइन्छ ।
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी