काठमाडौं । बुटवल मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी र प्रहरीबीच भएको झडपमा परी एक जनाको मृत्यु छ । अन्य २० जना घाइते भएका छन् । लुम्बिनी प्रदेशका डीआईजी मुकुन्दराज आचार्यले अहिलेसम्म एक जनाको मृत्यु र २० जना घाइते भएको जानकारी दिए । उनकाअनुसार मृतकको नाम खुलेको छैन ।
सुकुम्बासीले औद्योगिक क्षेत्रको जग्गा छोड्न नमान्दा आज दिउँसो २ घण्टासम्म प्रहरी र सुकुम्बासीबीच झडप भएको थियो ।
प्रहरीकाअनुसार सुकुम्बासीले ढुङ्गामुढा प्रहार गर्दा प्रहरीले हवाइफायर, अश्रुग्याँस र गोली प्रहार गरेको हो ।
तीनदिनदेखि प्रहरीले बुटवल उपमहानगरपालिका १४ मोदीपुरको औद्योगिक क्षेत्रमा अनाधिकृत रूपमा बसोबास गरेका सुकुम्बासीको टहरा भत्काउँदै आएको थियो । टहरा भत्काउने क्रममा गएराति प्रहरीले एक जना सुकुम्बासीलाई पक्राउ गरेको थियो । त्यसपछि आक्रोशित बनेका सुकुम्बासी र प्रहरीबीच आज झडप भएको हो ।
प्रहरीले भने आफूहरूमाथि ढुङ्गा प्रहार भएपछि स्थिति नियन्त्रणमा लिन गोली चलाएको दाबी गरेको छ । ‘‘घटनास्थलमा प्रहरी टोली खटाउने अवस्था छैन । अहिले पनि सुकुम्बासीहरूले औद्योगिक क्षेत्र छाड्न मानेका छैनन् । अहिले स्थिति केही नियन्त्रणमा आएको छ । प्रहरीले सुकुम्बासीलाई औद्योगिक क्षेत्रबाट हटाउन खोज्दा ढुङ्गामुडा प्रहार भयो । घटना नियन्त्रण बाहिर गएपछि प्रहरीले गोली चलाइएको हो,” डीआईजी आचार्यले भने ।
प्रहरीकाअनुसार अहिले पनि सुकुम्बासीको ढुङ्गामुडा हुने क्रम रोकिएको छैन । ‘‘अहिले बाहिर भिडभाड छ । औद्योगिक क्षेत्रमा प्रहरी खटाउने अवस्था छैन । फेरि पनि झडप हुने सम्भावना छ,” उनले भने, ‘‘अहिलेसम्म प्रहरीले २० जनालाई उद्धार गरेर अस्पताल पुर्याइएको छ । यसमा प्रहरी इन्सपेक्टर पनि घाइते भएका छन् ।”
जिल्ला प्रशासन कार्यालय रूपन्देहीका अनुसार औद्योगिक क्षेत्रमा देशभरका विभिन्न क्षेत्रबाट आएका सुकुम्बासीहरू बसोबास गर्दै आएका छन् । रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले लामो समय औद्योगिक क्षेत्रमा सुकुम्बासीहरूले अस्थायी टहरा बनाएर बसिरहेको र उनीहरूले हट्न नमानेको बताए ।
पुनः झडप हुनसक्ने भन्दै प्रशासनले अर्को सूचना जारी नभएसम्म कफ्र्यू लगाएको छ । पूर्वमा तिनाहु बुटवल उपमहानगरपालिका वडा १७ शिवनगरदेखि वडा नम्बर १८ सौरहिया पुलसम्म, पश्चिममा हरिहर पुलको खेतियोग्य जमिन वडा नम्बर १७, उत्तरमा शिवनगर रानीगञ्ज बस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका वडा नम्बर १८ औद्योगिक करिडोरको जमिन धन्दापुर सौरहियासम्म कफ्र्यू लगाएको छ ।
देशभर विभिन्न जिल्लाबाट आएका सुकुम्बासीले औद्योगिक क्षेत्रको करिब २०० विघा जग्गामा ४०० वटा टहरा बनाएका छन् । सुकुम्बासीले अनाधिकृत रूपमा टहरा बनाएको क्षेत्रलाई सरकारले २०७२ सालमा औद्योगिक क्षेत्र घोषणा गरेको थियो ।