काठमाडौं । नेकपा (एमाले)को १० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न गठित उच्चस्तरीय कार्यदलको बैठकले सहमति कार्यान्वयनमा देखिएका समस्यालाई समाधान गर्ने विषयमा छलफल गरेको छ ।
मंगलबार एमाले पार्टी कार्यालय बबरमहलमा बसेको बैठकमा १० बुँदे सहमतिको केही बुँदा कार्यान्वयन भइसकेको र सहमतिका अरू बुँदाको कार्यान्वयन गर्ने विषयमा छलफल भएको कार्यदल संयोजक भीम रावलले जानकारी दिए ।
त्यस्तै, बैठकमा विधान महाधिवेशनमा हुने प्रतिनिधित्वका विषयमा देखिएका समस्याहरू समाधानका लागि छलफल भएको उनले बताए । विधान महाधिवेशनमा प्रतिनिधित्वका लागि उपयुक्त विधि र संरचनागत समाधानका विभिन्न उपायहरूमाथि छलफल भएको उनले जानकारी दिए ।
कार्यदलमा नेताहरू ईश्वर पोखरेल, विष्णु पौडेल, घनश्याम भुसाल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका छन् ।