काठमाडौं । निपाह भाइरस पशुबाट मानिसमा सर्ने एक गम्भीर प्रकृतिको रोग लाग्ने भाइरसको संक्रमण हो । यो भाइरस प्राकृतिक रूपमा ‘फ्रुट ब्याट’ भनिने एक प्रजातिको चमेरोमा पाइन्छ ।
निपाह भाइरस कसरी सर्छ ?
निपाह भाइरस जनावरबाट जनावर, जनावरबाट मानिस र मानिसबाट मानिसमा पनि सर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमित चमेरोबाट सुँगुर, गाई, गोरुजस्ता जनावर हुँदै यो भाइरस मानिसमा सर्न सक्छ । संक्रमित पशुको संसर्गमा आएको फलफूल प्रयोग गरेमा पनि यो भाइरस सर्छ ।
यस्तै, संक्रमित व्यक्तिको रगत, दिसा, पिसाबसँग प्रत्यक्ष सम्पर्कमा आएमा यो भाइरस सर्ने मन्त्रालयले जनाएको छ ।
यी हुन् निपाह भाइरसका लक्षण
१. ज्वरो आउने
२. वाकवाकी लाग्ने
३. टाउको दुख्ने
४. टन्सिलाइटिस
५. रिंगटा लाग्ने
६. मांसपेशी दुख्ने
७. श्वासप्रश्वासमा कठिनाइ हुने ।
निपाह भाइरसको रोकथाम कसरी गर्ने ?
निपाह भाइरसबाट जोगिनका लागि मन्त्रालयले विभिन्न सुझाव दिएको छ ।
१. फलफूल राम्रोसँग पखालेर मात्रै खाने
२. तरकारी सकेसम्म पकाएर खाने
३. गाईवस्तुको गोठ र फार्म सफा राख्ने
४. मासु काट्दा र पकाउँदा पन्जा र मास्कको प्रयोग गर्ने
५. सकेसम्म पानी उमालेर मात्रै पिउने
६. बेलाबेलामा साबुनपानीले हात धुने
७. भिडभाडमा जाँदा मास्क लगाउने ।