काठमाडौं । पछिल्लो समय तिजका गीत भड्किलो बन्दै गएका छन् । स्वयं कलाकार तथा संस्कृतिकर्मी नै पछिल्लो समय तिज भड्किलो बन्दै गएको स्वीकार्छन् । सांस्कृतिक परम्परालाई चुनौती दिने गीत गाइनु र भड्किलो तरिकाले तिज मनाउने परम्परा बस्दै जाँदा तिज नै भड्किलो बन्दै गएको टिप्पणी हुन थालेको छ ।
तिजको लय र मर्मभन्दा बाहिर गएर तिज गीत गाइनु र परम्परा धान्नेभन्दा पनि दरका नाममा महिना दिन अगाडिदेखि नै दर खाँदै हिँड्ने चलन विकास हुँदा तिज भड्किलो बन्दै गएको पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्यसचिव डा. प्रदीप ढकाल बताउँछन् । यसलाई डा. ढकाल ‘संक्रमणकालीन अवस्था’ भन्छन् ।
हप्तौँ अगाडिदेखि पार्टी प्यालेसमा दर खाने परम्पराको विकास केही वर्ष अगाडिदेखि हुँदै आएको छ । देखासिकीका रूपमा यो अभ्यासले प्रश्रय पाउँदै जाँदा यसले विकृतिकै रूप लिन थालिसकेको छ । समाजमा आफ्नो ‘क्लास’ देखाउन ऋण गरेर भए पनि महँगा गरगहना र पार्टी प्यालेसमा दर खाने र खुवाउने परम्परा विकास हुँदै जाँदा तिज निकै भड्किलोसँगै महँगो हुँदै गएको छ । कोभिडको संक्रमणको त्रासका कारण गरिएको ‘लकडाउन’ र निषेधाज्ञाले दुई वर्षयता भने यो समस्या केही मत्थर भएको छ ।
पुरानो पुस्ता र नयाँ पुस्ताबीचको संक्रमणको समय चलिरहँदा तिज मनाउने परम्परामा फरकपन आएको कोषका पूर्वसदस्यसचिव डा. ढकाल बताउँछन् । नयाँ र पुरानो सोचबीचको संक्रमणको समय चलिरहेको उनको भनाइ छ ।
“तिजको मूल भावमा आधुनिकीकरण अंगीकार गर्दै गएको देखिन्छ । पूरै आधुनिक पनि भइनसकेको र पुरानो संस्कार पनि जस्ताको तस्तै नरहेको संक्रमणकालीन अवस्था हो अहिलेको,” डा. ढकाल भन्छन्, “तिजमा मात्रै होइन, हरेक क्षेत्रमा यस्तो देखिएको छ । समयको परिवर्तनका कारण यो अवस्था आएको हो । तर, विस्तारै शुद्धीकरण हुँदै जान्छ ।”
मूल भावभन्दा बाहिर गएर देखावटी रूपमा मात्रै तिज मनाइरहेको उनी बताउँछन् । केही वर्षदेखि तिज ‘फेसन’का रूपमा मनाइरहेको तर यसले लामो समयसम्म निरन्तरता नपाउने उनको भनाइ छ ।
“तिजसँगै हरेक चाडपर्व मूल स्वरूपमा आउँछन्, किनभने एउटा चक्र बनिसकेपछि जुन स्वरूप हो, त्यसमा आफैँ फर्किन्छ । यो प्रकृतिको नियम नै हो,” पूर्वसदस्यसचिव डा. ढकाल भन्छन्, “आफ्नो संस्कार र संस्कृतिप्रतिको माया रहिरहन्छ । त्यसैले जे स्वरूप हो, त्यसमा आम नागरिक फर्किनुहुन्छ ।”
सांस्कृतिक क्षेत्रमा देखिएको परिवर्तनमा राज्यले हस्तक्षेप गरेर कहिल्यै पनि पहिलेकै अवस्थामा फर्काउन नसक्ने उनी बताउँछन् । समय र नागरिकको चेतनाबाट निर्देशित भएर सांस्कृतिक कुराहरू विस्तारै आफैँ परिमार्जित हुँदै जाने भन्दै डा. ढकाल सांस्कृतिक चेतनामा राज्यले साथ मात्रै दिन सक्नेमा जोड दिन्छन् । तर, यसमा अंकुश लगाउन नसक्ने उनको धारणा छ ।
“सांस्कृतिक चेतनामा अंकुश लगाउन खोजियो भने सांस्कृतिक द्वन्द्व हुन्छ । त्यसैले यसमा नियन्त्रण नगरी राज्यले चाडपर्व मनाउन साथ दिनुपर्छ,” उनी भन्छन् । समयको चक्रसँगै आफ्नै सांस्कृतिक भावमा चाडपर्व फर्किने विश्वास उनी व्यक्त गर्छन् ।