काठमाडौं । जोरपाटी–सुन्दरीजल सडकखण्ड सुरुमा मुआब्जा विवादका कारण पिच हुन सकेन । तर, अहिले मुआब्जा विवाद सुल्झिँदा पनि सडकको हालत उस्तै छ । गोकर्णेश्वर नगरपालिका र स्थानीयबीच सडक पिच गर्ने सहमति भएर मुआब्जा विवाद मिलिसक्दा पनि काम हुन सकेको छैन ।
पाँच वर्षपछि बल्लबल्ल मुआब्जा विवाद सुल्झिँदा निर्माण कम्पनीले गएको वैशाख महिनामै पिच सकाउनुपर्ने गरी सडकको काम अगाडि बढाएको थियो । पुस–माघमा निर्माण सामग्री (ढुंगा, गिट्टी, बालुवा) सडकमा अस्तव्यस्त रूपमा छरिए । निर्माण सामग्री लामो समयसम्म थुपारिँदा स्थानीयले पटक–पटक विरोध गरे । त्यसपछि वर्षायाम सुरु भयो । अहिले सडक पूरै हिलाम्य छ ।
नगरपालिकाले मुआब्जा विवादले सडक निर्माण कार्य अगाडि बढाउन नसकिएको जनाउँदै आएको थियो । मुआब्जा विवाद टुंगिएको पनि वर्षाैँ भइसक्यो । यस अवधिमा सडक विस्तार त भयो, तर पिच भएन ।
जोरपाटी, अत्तरखेलकी स्थानीय करिष्मा लामा भन्छिन्, “वर्षायामको समयमा हिलाम्य र घाम लागेको बेला धुलाम्य भएर सास्ती खेप्दै आएको पाँच वर्ष बढी भयो । ठेकेदार कम्पनीले जथाभावी थुपारिएका निर्माण सामग्रीले अहिले सडकको अवस्था अस्तव्यस्त छ । अहिले बर्खाको समय भएकाले सडकभरि हिलैहिलो र पानी जम्मा भएको छ । पैदलयात्रीका लागि हिँड्न फुटपाथ पनि छैन ।”
अत्तरखेलमा नेपाल मेडिकल कलेज छ । उक्त अस्पतालमा उपचार गर्न जाने बिरामी, कुरुवा, स्वास्थ्यकर्मी, एम्बुलेन्सले सबैभन्दा बढी हैरानी खेपिरहेका छन् । मेडिकल कलेजकै अगाडि मोटरसाइकल डुबाउने जलमग्न खाल्टो छ ।
“अहिले सडक फराकिलो बनाइएको छ । फराकिलो बनाइएका सडक किनारामा फुटपाथको स्टिमेट बनाइएको छैन । फुटपाथ नहुँदा जथाभावी सवारी गुड्छन् । पैदलयात्रीलाई हिँड्न बाटो छुट्ट्याइएको छैन । यसले गर्दा दुर्घटना हुन सक्ने जोखिम पनि उच्च छ,” लामाले भनिन्, “स्थानीयले सडक पिच गर्न पटक–पटक विरोध गर्दा पनि पिच हुँदैन । अब हामीले यसरी कहिलेसम्म हिलाम्य बाटोमा हिँडिरहने ? १५ मिनेट झरी पर्दै हिँडिनसक्नुको बाटो हुन्छ ।”
मुआब्जा विवादले गर्दा लामो समय सडक विस्तार हुन सकेन । सडकको बीचबाट ११–११ मिटर चौडा गर्नुपर्ने थियो । तर, स्थानीयको अवरोध र नगरपालिकाले मुआब्जा तिर्न नसक्दा दशकौँ अलपत्र परेको सडक अहिले पनि उस्तै नै छ ।
सडक पिच गर्न पटक–पटक विरोध गरेर ध्यानाकर्षण गराउँदा पनि सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयको गुनासो छ ।
गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुंगाना भने पहिलो नै बाटो बनाउन खोज्दा स्थानीयको अवरोध खेप्नुपरेको बताउँछन् । “सडक विस्तार र पिच नहुनुमा लामो समय स्थानीयको असहयोग रह्यो । लामो समय सडक पिच नहुनुमा मुआब्जा विवाद थियो । अहिले मुआब्जा विवाद लगभग टुंगिएको छ । भत्काउनुपर्ने घरहरू भत्काइसकेका छौँ । सुन्दरीजलको केही सडक पिच भइसकेको छ । पछिल्लो समय वर्षाले पनि केही अवरोध गरेको छ । वर्षा भइरहेको बेला पिच गर्ने कुरा भएन । अन्य काम भइरहेकै छ । अब केही समयमा सडक पिच हुन्छ,” उनले भने ।
२०७३ सालमा जोरपाटी–सुन्दरीजल सडकखण्ड निर्माणका लागि आशिष र सीएम जेभीसँग सम्झौता गरिएको थियोे । सात किलोमिटर सडक निर्माण गर्ने गरी ५४ करोड रुपैयाँ लागतमा ठेक्का सम्झौता गरिएको थियो । ठेक्का सम्झौताअनुसार ०७५ असोजमा निर्माण सम्पन्न हुनुपर्थ्यो । तर, स्थानीयले पटक–पटक सडक निर्माण कार्यमा अवरोध गर्दा ठेकेदार कम्पनीले काम गर्न मानेन ।
नगरपालिकाले मुआब्जा विवाद टुंग्याउन नसक्दा निर्माण व्यवसायीले सम्झौताअनुसार काम गर्न नसकेको बताइन्छ । करिब पाँच वर्ष यसरी नै बित्यो । अहिले सडकको अवस्था झन्–झन् बिग्रँदो छ । नगरपालिकाले ठकेदार कम्पनीलाई म्याद थप गरिदिएको छ ।
आशिष र सीएम जेभीका अशोक यादव अहिले वर्षाका कारण पिच गर्ने काम रोकिएको बताउँछन् । “पुससम्म सबै सडक पिच गर्ने योजना छ । अब कसैको पनि अवरोध छैन । सडकमा परेका पोल सार्ने र ढल हाल्ने काम सकिएको छ । वर्षाको समयमा पिच नभएको सडक हिलाम्य हुनु स्वाभाविक हो । वर्षा हुँदाहुँदै सडक पिच गर्न सकिँदैन । अझै सडक विस्तारको केही काम बाँकी छ । यसमा कोरोना महामारीका कारण पनि सडक पिच गर्ने काम पछि धकेलिएको छ । सडक विस्तारको सबै काम सकिएपछि सडक पिच हुन्छ,” यादवले भने ।