काठमाडौं । इङ्ल्यान्ड र भारतबीचको तेस्रो टेष्ट आजबाट हेडिङ्ले क्रिकेट मैदानमा सुरु हुदैछ। हेडिङ्लेमा इङ्ल्यान्डले पछिल्लोपटक २०१९ मा अष्ट्रेलियाविरुद्ध एसेज शृंखला खेलेको थियो । बेन स्टोक्सको उत्कृष्ट प्रदर्शन गरेपिछ इङ्ल्यान्डले तेस्रो टेष्ट शृंखला बराबरी गरेको थियो ।
ठ्याक्कै दुई वर्षपछि इङ्ल्यान्ड भारतविरुद्ध पनि विजयी नतिजा निकाल्दै पाँच खेलको शृंखला १–१ को बराबरी गर्ने लक्ष्यमा छ । तर यसपटक इङ्ल्यान्डलाई अलराउन्डर स्टोक्सको साथ भने हुने छैन ।
वर्षाले प्रभावित पहिलो खेल बराबरीमा सकिएको थियो भने लडर््स क्रिकेट मैदानमा भारत १५१ रनले विजयी भएको थियो । पाँच खेलको शृंखलामा भारत १–० ले अगाडी छ । दोस्रो टेष्टको अन्तिम दिन नाटकिय रुपमा पराजित भएपछि इङ्ल्यान्ड र भारतका खेलाडीबीच खटपट पनि परेको थियो । त्यसले दुई टिमबीचको प्रतिद्वन्द्वीता थप बढाएको छ ।
‘‘यो एउटा थिएटर जस्तै हो । जहाँ जे पनि हुनसक्छ । हामी आफ्नै चाहनाअनुसारको खेल खेल्नेछौं । र आफ्नो तर्फबाट सक्दो राम्रो गर्ने प्रयास गर्नेछौं । हाम्रो प्रदर्शनलाई अन्य कुनै कुराले प्रभावित गर्न सक्दैन,’’ इङ्ल्यान्डका कप्तान जो रुटले भने, ‘‘हामी प्रत्येक खेलाडीको प्रतिभालाई उपयोग गर्ने छौं। टिमको संगठित प्रदर्शनमा हाम्रो जोड हुनेछ । विराटको टोलीले उसको शैलीमा खेल्न सक्छ ।’’
भारतका कप्तान विराट कोहलीले मैदान भित्र के कुरामा विवाद भएको हो भनेर खुलाएनन् । तर उनले मैदानभित्र हुने प्रतिद्वन्द्वीताले टोलीलाई अझै उत्प्रेरणा मिलेको बताए । उनी भन्छन्, ‘‘टोलीको मनोबल घटेको छैन । मैदानमा जे जति भए, त्यसले हाम्रो टोलीलाई अझ उत्प्रेरणा मिलेको छ ।’’
इङ्ल्यान्डको टिममा तीब्र गतिका बलर मार्क उड टोलीमा हुने छैनन्। उनको पाखुरामा चोट लागेको थियो । उनको स्थानमा क्राइग ओभरटन र साकीब महमुदमध्ये एक जनाले मौका पाउने सम्भावना छ । भारतले दोस्रो टेष्ट गुमाएका शार्दुल ठाकुर र अफ स्पिनर रविचन्द्रन आश्विनलाई टोलीमा बोलाउने सम्भावना छ ।