काठमाडौं । सरकारले अनुमति नदिँदा सवारी लाइसेन्सको परीक्षा अन्योलमा परेको छ । यातायात व्यवस्था विभागले खुलाउने तयारी गरे पनि सरकारले अनुमति नदिँदा अन्योलमा परेको हो ।
विभागले साउन अन्तिम सातादेखि परीक्षा सञ्चालन गर्ने तयारी गरे पनि सरकारको अनुमतिबिना खुलाउन नसकिएकोे जनाएको छ ।
विभागका महानिर्देशक नमराज घिमिरेले सरकारले अनुमति दिए लाइसेन्सको परीक्षा सञ्चालन गर्न तयारी अवस्थामा रहेको बताए । “दोस्रो लहरको कारोना महामारीका कारण रोकिएका परीक्षाहरू साउन अन्तिम सातादेखि सञ्चालन गर्ने तयारी गरेका थियौँ । तर, सरकारले अनुमति नदिँदा विभाग अन्योलमा परेको छ,” उनले भने, “कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा लाइसेन्स परीक्षा सञ्चालनसम्बन्धी कार्यविधि पेस गरिसकेका छौँ । करिब डेढ महिनाअघिदेखि अनुमति मागिरहेका छौँ । सीसीएमसीले अनुमति दिएको छैन । सीसीएमसीको अनुमतिबिना परीक्षा सञ्चालन गर्नै मिल्दैन ।”
सवारी लाइसेन्सको नयाँ आवेदन र ट्रायल तथा प्रयोगात्मक परीक्षा रोकिएको चार महिना बितिसकेको छ । महानिर्देशक घिमिरेका अनुसार ट्रायल र लिखित परीक्षाका लागि करिब ६ लाख आवेदक कुरेर बसेका छन् । “परीक्षा सञ्चालन गर्न विभाग तयार छ । पछिल्लो समय कोरोना संक्रमणदर बढिरहेको छ । यही अवस्थामा संक्रमण बढ्दै जाँदा र निषेधाज्ञा कडा हुँदा लाइसेन्सका परीक्षा खुलाउने अवस्था रहँदैन । अब संक्रमणदर घट्दै गए र सीसीएमसीले अनुमति दिए भदौ तेस्रो सातादेखि खुल्न सक्ला,” उनले भने ।
दोस्रो लहरको कोरोना महामारीको ‘चेन ब्रेक’ गर्न भन्दै काठमाडौं उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । निषेधाज्ञा जारी गरेकै दिनदेखि लाइसेन्सको परीक्षा सञ्चालनमा रोक लगाइएको थियो ।
गएको साउन १ गतेदेखि सवारी चालक अनुमति परीक्षामा नयाँ नियम लागु हुने गरी सवारी लाइसेन्स कार्यविधि, २०७७ संशोधन गरिएको थियो । नयाँ नियमानुसार सञ्चालन हुने भनिएको आवेदन परीक्षा पनि अलपत्र छ ।
“आवेकदलाई समस्या परेकै कारण हामीले सीसीएमसीमा अनुमति मागिरहेका छौँ । संक्रमण बढ्दा सीसीएमसीले अनुमति दिन सकेको छैन । सीसीएमसीले अनुमति दिए विभाग तयार छ,” महानिर्देशक घिमिरेले भने, ‘‘पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्छौँ । पहिले स्मार्ट कार्डको अभावले लाइसेन्स छपाइ पनि बन्द गरेका थियौँ । अब स्मार्टका केही दिनमा आउँछ । यद्यपि, अत्यावश्यक लाइसेन्स प्रिन्ट भइरहेकै छ ।”
सरकारले अनुमति नदिए विभाग आफैँले परीक्षा खुलाउने भनिएको थियो । महानिर्देशक घिमिरे विभाग आफैँले खुलाउन नसक्ने अवस्था आएको बताउँछन् । उनी भन्छन, “कोरोना महामारी बढ्दै जाँदा सीसीएमसीले निर्णय गर्ने हो । अहिले संक्रमण बढिरहेको छ । सीसीएमसीको अनुमतिबेगर विभागले आफैँ परीक्षा सञ्चालन गर्न पाउँदैन । यद्यपि, पटक–पटक सीसीएमसीमा अनुमतिको प्रस्ताव पेस गरिरहेकै छौँ । महामारीको अवस्था हेरर अनुमति देला ।”
यस्तो छ नयाँ नियम
नयाँ नियमको प्रावधानानुसार विभागले ५०० वटा प्रश्नहरू वेबसाइटमा राखेको महानिर्देशक घिमिरे बताउँछन् । “नयाँ आवेदन दिई लाइसेन्स परीक्षा दिनेहरूका लागि उक्त प्रश्नहरू राखेका हौँ । उक्त नियमानुसार लिखित परीक्षामा ८० र ट्रायल परीक्षामा ७० अंक ल्याए पास हुने व्यवस्था गरिएको छ । ५०० प्रश्नहरूबाट २०–२० वटा प्रश्न परीक्षामा सोधिनेछन्,” उनले भने, ‘‘एउटा प्रश्न मिलाएबापत ५ नम्बर दिइनेछ । पुरानो नियममा लिखित परीक्षामा ५० र ट्रायल परीक्षामा १०० अंक ल्याउनु पर्थ्यो । पुरानो नियमका आधारमा परीक्षा सञ्चालन गर्दा लाइसेन्स निकाल्न झन्झट र अधिकांश परीक्षार्थीहरू फेल हुने भएकाले यस्तो नियम लागु गरिने भएको हो ।”