site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘शास्त्रीय संगीत फास्टफुड होइन’ (भिडियो)
तस्बिर/भिडियो : सचिन श्रेष्ठ/बाह्रखरी ।
SkywellSkywell

काठमाडौं । “नयाँ पुस्तालाई शास्त्रीय संगीत वाइवाई पकाएको जस्तो भएको छ,” करिब तीन दशकभन्दा लामो समयदेखि महिला तबलावादकको रूपमा यसैलाई प्यासन र पेसा बनाइरहेकी सरिता मिश्रले भनिन् ।

उनी प्रस्ट्याउँदै भन्छिन्, “किनभने, छिटो सिकेर छिट्टै सकाउँ भन्नेजस्तो भएको छ । तबलालगायत शास्त्रीय बाजा र संगीत भनेको साधनाको क्षेत्र हो । यो आजको भोलि नै सिक्छु भनेर सकिन्न र पाइन्न पनि । यसको लागि त साधना चाहिन्छ ।”

आठ वर्षको उमेरदेखि तबलासँग जोडिएको उनको सम्बन्ध समयसँगै अझै प्रगाढ हुँदै गयो । र त उनले नेपालको पहिलो व्यावसायिक महिला तबलावादकको परिचय बनाएकी छन् ।

KFC Island Ad
NIC Asia

तबलाप्रतिको आकर्षण
तबलाप्रति कसरी आकर्षित भइन् भन्ने प्रश्नको उत्तर उनी आफैँसँग छैन । उनी जहाँ जन्मिइन्, त्यो घर र परिवेशको माहोल सांगीतिक भएर हो कि भन्ने अनुमान उनी लगाउँछिन् । उनी पशुपतिको नवाली टोलमा जन्मिएकी हुन् ।

“तबलमा कसरी आकर्षित भएँ त्यो त म भन्न सक्दिनँ । जन्मिँदै सांगीतिक परिवारमा जन्मिएँ, बाजागाजामा हुर्किएँ । मेरो बुवा पनि शास्त्रीय संगीत गाउनुहुन्थ्यो । हाम्रो घर पशुपतिमा हो । त्यही भएर शिवरात्रि, बालचर्तुर्थी विभिन्न पर्वहरूमा हामो घरमा भजनकीर्तन भइरहन्थ्यो । त्यही भएर मैले जानी नजानी बाजाहरू बजाउन जान्ने भइसकेको थिएँ ।”

Royal Enfield Island Ad

तबलावादनमा महिलाको संख्या त्यति देखिँदैन । प्रायः महिलाहरू धिमे, बाँसुरी, सितारलगायत वाद्यवादनतर्फ देखिन्छन् । सरिताले भने तबला नै किन छानिन्, उनलाई त्यो पनि पत्तो छैन । १२÷१३ वर्षको केही बुझ्ने उमेर पुगेपछि बल्ल उनलाई आफू तबलावादक हुँ भन्ने महसुस भएछ । तर, उनले कहिल्यै पछाडि फर्किएर हेरिनन् र अरू बाजातर्फ मन पनि डुलाइनन् ।

यता, बुवा (हरिप्रसाद मिश्र)लाई भने छोरीले नृत्य सिकोस् भन्ने इच्छा थियो । त्यसैले बुवाले घरमै नृत्य शिक्षक बोलाएर सरितालाई नृत्यको कक्षा दिन सुरु गरेका थिए । सरिताले पनि बुवाको कुरा मानेर नृत्य सिक्न थालिसकेकी थिइन् । तर, नृत्य सिकिरहँदा उनले नृत्यको लयभन्दा पनि पृष्ठभूमिमा बजिरहेको संगीतको धुन (बोल) चाँडै क्याच गर्थिन् ।

“मलाई डान्सको बोलभन्दा पनि क्यासेटमा बजिरहेको तबलाको बोल तुरुन्तै कण्ठ भइहाल्ने,” सरिताले भनिन् । एक दिन उनलाई नृत्य सिकाउने गुरुले नै सरिताको बुवालाई “बाजे, बरु उसलाई तबला नै सिकाउनुस्’ भनेर गइन् र फेरि फर्केर आइनन् ।

एक्लो महिला 
सानैदेखि हक्की, निडर अनि लिडरसिपको स्वभावकी उनका साथीहरू केटीहरूभन्दा केटाहरू नै बढी थिए । उनका उमेरका अरू बालिकाहरू पुतली, खेलौना खेल्थे भने उनी केटा साथीहरूसँग पशुपतितिर गएर हरेक बाजा बजाउन खोज्ने, खोलामा पौडी खेल्न जाने गर्थिन् ।

“सानैदेखि समाजले के भन्ला भन्ने कुरामा त्यति चासो भएन । परिवारको सपोर्ट अनि मेरो गुरु स्व. होमनाथ उपाध्याय उहाँहरूको समर्थन भएपछि मैले अरूको कुरामा त्यति वास्ता गरिनँ । त्यही कारण तबला सिकेर यो स्थानसम्म आउन सफल भएँ,” उनी भन्छिन् ।

लैंगिक विभेद (जेन्डर बाएस)मा आफूले विश्वास नगर्ने उनी बताउँछिन् । त्यसैले त बारम्बार भन्ने गर्छिन् कि सिर्जनाको क्षेत्रमा जेन्डर हुँदैन र सिर्जना भनेको केटा र केटी दुवैको हो ।

तबलामा आईएफई ललितकलाबाट गरेकी उनले स्नातकोत्तरको शिक्षा भने भारतको इलाहबादमा अवस्थित प्रयाग संगीत स्मृतिबाट पूरा गरिन् ।

तबलामा एकेडेमिक शिक्षाका लागि भारत जाँदा उनी एकजना मात्रै महिला थिइन् । अतुल गौतम, निर्मल भट्टराई, हरिशरण मानन्धरलगायत नेपालबाट उनीसँगै गएका साथीहरूको ७२ जनाको समूहमा उनी एकजना मात्रै महिला थिइन् ।

कलेजमै होस्टेलको व्यवस्था भएका कारण उनी त्यति बाहिर जान्न थिइन् । कलेजबाहिर महिलाको रूपमा केही दुर्व्यवहार भोग्नुपरे पनि कलेजभित्रै भने आफूले कहिले पनि त्यस्तो महसुस गर्नु नपरेकोमा उनी आफूलाई भाग्यमानी ठान्छिन् ।

उनले आफूलाई म महिला र उनीहरू पुरुष हुन् भनेर महसुस हुन दिइनन् । आफूलाई पनि पुरुषसरह नै अघि बढाइन् ।

तबला प्यासन र पेसा  
आफ्नो बाल्यकाल, युवा जोस र जीवनको बाँकी समय पनि तबलावादनमै बिताउने योजना रहेको बताउने सरिता तबलालाई मुख्य पेसा बनाउन सकिनेमा विश्वस्त छिन् ।

“संगीतमा लागेर कमाइ हुँदैन भन्ने सोच धेरै पुरानो भइसक्यो । हाम्रै स्कुलका बच्चाहरू विभिन्न कार्यक्रम र विद्यालयमा पढाइ रहनुभएको छ,” उनले भनिन्, “म आफैँ पनि यसैलाई व्यवसायको रूपमा अघि बढाउँथे । तर, अहिले व्यावसायिक रूपमा बजाउन छोडेँ । मैले यसैबाट कमाएको हुँ ।”

संगीतमा पैसा छैन भन्नेहरूलाई उनी गलत साबित गर्दै यसलाई प्यासन मात्रै होइन, पेसा पनि बनाउन सक्ने बताउँछिन् । तर, यसका लागि आफूमा पनि क्षमता हुनुपर्नेमा उनले जोड दिइन् ।

व्यावसायिक रूपमा तबला बजाउन छोडे पनि उनी ‘नाद् संगीत पाठशाला’मार्फत अनाथ, असहाय बालिकाहरूलाई तबलालगायत संगीत निःशुल्क सिकाउने गर्छिन् । यसका लागि देश तथा विदेशबाट स्वेच्छाले व्यक्तिगत र संगठनबाट आर्थिक सहयोग गरिँदै आएको छ । नाद्मा अहिले १९४ जना विद्यार्थीहरू छन् ।

व्यावसायिक तबलाको यात्रा
पशुपतिमा हुने धार्मिक कार्यक्रमलगायत थुप्रै कार्यक्रमहरूमा बजाउन थालिसकेकी उनी व्यावसायिक रूपमा रेडियो नेपालसँग जोडिएकी हुन् । उनी २०४७ सालतिर रेडियको आर्टिस्ट भइसकेकी थिइन् ।

रेडियो नेपालका साथै उनी नेपाल टेलिभिजनसँग पनि जोडिएर केही वर्ष काम गरिन् । नेपाल, भारत, जापानलगायत केही देशहरूमा आफ्नो प्रस्तुति दिइसकेकी सरिताले भारतका चर्चित उमाशंकर मिश्र, विश्वमोहन भट्टलगायतसँग सहकार्य गर्ने मौका पाइसकेकी छन् । उनी थुप्रै सम्मानबाट पनि सम्मानित भइसकेकी छन् ।

तबलामा युवा आकर्षण 
तबलालगायत समग्र शास्त्रीय संगीतमा युवा पुस्ताको राम्रो आकर्षण भएको सरिताको अनुभव छ । तर, उनीहरूमा धैर्यता नभएकै कारण यसमा टिकिराख्न नसकेको उनी बताउँछिन् ।

शास्त्रीय संगीतलाई मनोरञ्जनभन्दा पनि आत्मारञ्जन भन्न रुचाउने उनी आत्मारञ्जनका लागि साधना चाहिने भएर हतार नगर्न युवा पुस्तालाई सुझाव दिन्छिन् ।

नयाँ पुस्ताको आकर्षण राम्रो छ । तर, रिजल्ट छिटो–छिटो खोज्ने भएकाले निरन्तरतामा गाह्रो भएको उनले अनुभव गरेकी छन् ।

तर, इमानदारिता लगनशीलता, जाँगरका साथ यात्रा सुरु गर्दा गन्तव्यसम्म अवश्य पुगिन्छ । तर, त्यसका लागि अरूसँगभन्दा पनि आफैँसँग प्रतिस्पर्धा गर्छु भन्ने भावना हुनुपर्ने उनी बताउँछिन् ।

पश्चिमी संगीतले तबला ओझेलमा पर्दैन
पछिल्लो समय पश्चिमी गीत र बाजाहरू जस्तै, गितार, पियानो, ड्रमलगायत वाद्यवादनका साधनहरूको प्रयोग बढिरहेको छ । तर, यसका बप्च पनि तबलाको प्रयोग कहिले पनि कम नहुनेमा सरिता विश्वस्त छिन् ।

हरेक विधाका संगीतका दर्शक पनि आ–आफ्नो हुने भएकाले एकले अर्कोलाई ओझेलमा नपार्ने भन्दै उनी भन्छिन्, “हरेकको आ–आफ्नै दर्शक छन् । त्यसैले कुनै एउटा संगीत वा बाजाले अर्कोलाई ओझेलमा पार्छ जस्तो मलाई लाग्दैन । अझ, तबलालाई त वेस्टर्नसँग फ्युजन गर्न सकिन्छ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ६, २०७८  १५:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro