काठमाडौं । मोटरसाइकलको ठक्करबाट मृत्यु भएका प्रहरी निरीक्षक कपिल वाग्लेको घटनाका सम्बन्धमा सत्य तथ्य छानविन गर्न सरकारकारले छानविन समिति गठन गरेको छ ।
गृह मन्त्रालयका सहसचिव सुनील खनालको संयोजकत्वमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरीक्षक सुदिप गिरी सदस्य रहेको तीन सदस्यीय छानविन समिति गठन गरिएको गृह मन्त्रालयले जनाएको छ ।
सिमितिलाई सत्यतथ्य अध्ययन गरेर प्रतिवेदन बुझाउन १० दिनको समय दिइएको छ । साउन २५ गते जिल्ला नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका ४ स्थित ईलाका प्रहरी कार्यालय, बर्दघाट अगाडि पूर्व–पश्चिम राजमार्गमा लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले प्रहरी निरीक्षक कपिल वाग्लेलाई ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएपछि उपचारका लागि चिसापानी सामुदायिक अस्पताल, बर्दघाटमा सामान्य उपचार पश्चात थप उपचारको लागि मेडिकल कलेज भैरहवा रुपन्देही पठाइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।