काठमाडौं । ६० वर्षीय नरेन्द्र चित्रकार बिहीबार काठमाडौंस्थित आफ्नो घरमा नागपञ्चमीको लागि ‘नाग देवता’को चित्र कोर्दै गरेका भेटिए ।
उनले १२ वर्षको उमेरदेखि नै चित्र कोर्न थालेका थिए । नागपञ्चमीको लागि चित्र बनाउन थालेको पनि झन्डै ४८ वर्ष भइसकेको उनी बताउँछन् ।
नागपञ्चमी नजिकिएसँगै नागको चित्र बनाउन व्यस्त भए तापनि अहिले मेसिनबाट छापिएर आउन थालेकोले आफूहरूको चित्रले उचित मूल्य नआएको उनको गुनासो छ ।
यद्यपि, अहिले पनि नेवार समुदायमा हातले कोरेको चित्रलाई नै मान्यता दिने गरिएको बताइन्छ । उनीहरू घरका ढोकाहरूमा हातले कोरेको नागको चित्रलाई नै पूजा गरी टाँस्ने गर्छन् ।
इन्द्रजात्रामा काठमाडौंमा नचाउने देवीदेवताको मुकुटमा रहेको शान्तिको प्रतीक मानिने आँखामा रंग्याउने काम पनि नरेन्द्रको परिवारले गर्ने गर्छ ।
थप तस्बिर हेर्नोस्–