काठमाडौं । पृथ्वीका हरेक मानव आफ्नो ‘अस्तित्व’ खोजीको दौडमा हुन्छन् । उनीहरू आफ्नो अस्तित्व प्रमाणित गर्न हरप्रयास गरिरहेका हुन्छन् । तर, के मृत्युपर्यन्त पनि मानिसहरूमा आफ्नो अस्तित्वको भोक हुन्छ ? उनीहरू आफ्नो अस्तित्वको खोजीमा हुन्छन् ?
शिल्पी थिएटरका अनुपस्थित तीन पात्रहरू आफ्नो अस्तित्वको खोजीमा दौडिरहेका छन् । अनुपस्थित अनि अस्तित्वको खोजी यी दुई शब्द आफैमा धेरै फरक अनि एक अर्काको विपरीत हुन् ।
तर, शिल्पीका तीन पात्र विपिन कार्की उर्फ आजाद, उषा रजक उर्फ इच्छा, र पवित्रा खड्का उर्फ अभिलासा आफ्नो अनुपस्थितिमा पनि उपस्थिति खोजिरहेका छन् ।
नाटकका अनुपस्थित तीन पात्र मध्येका एक अभिनेता विपिन यो महिला, पुरुष र समलिङ्गी गरी तीन पात्रहरूको अस्तित्वको खोजी भएको बताउँछन् ।
“यहाँ महिला, पुरुष र समलिङ्गी गरी तीन पात्रहरू आ–आफ्नो अस्तित्वको खोजीमा हुन्छन् । मैले पुरुष पात्रको भूमिका निभाएको छु,” कार्की भन्छन्, “यहाँ म आफु्ले आफैलाई भनिरहेको छु, आफूले आफैलाई बचाइराखेको हुन्छ, आफूलाई नै माथि राखेर कुरा गरिरहेको हुन्छ ।”
विपिन कार्की
विपिनका अनुसार नाटकका पात्रहरू मृत्युपश्चात् पनि आफ्नो अस्तित्व जोगाउने दौडमा नै लम्किरहेका हुन्छन् । र, यो नाटकमा मात्रै नभई ययार्थ जीवनसँग मेल खाने उनको तर्क छ । उनका अनुसार मानिसहरू आफ्नो अस्तित्वलाई बचाउन आफै सर्वश्रेष्ठ अनि आफै सक्षम र सबैभन्दा माथि आफैलाई राखेर तर्क गरिरहन्छन् ।
विपिनले भने अनुसार नाटकका उनी पात्रहरू आफ्नो अनुपस्थितिमा अर्थात् पृथ्वीमा नभएर पनि आफ्नो अस्तित्व भने पृथ्वीमा जमाइरहन खोज्छन् । उनीहरू विभिन्न कारणले त्यहाँ पुगेका हुन्छन् । तर हरेकको एउटै उद्देश्य छ, अनुपस्थितिमा उपस्थितिको खोजी ।
त्यस्तै अर्की मुख्य तर अनुपस्थित पात्र उषा एक त्यस्तो महिला पात्र हुन् जो सम्पत्तिको पछि भागदौड गर्छिन् । सम्पत्तिकै लागि एक वृद्ध पुरुषसँग विवाह गरेर एक सन्तानकी आमा बनिसके पनि उनी किशोर अनि युवा पुरुषहरूसँग लोभिन्छिन् ।
उषा रजक
अर्को कुरुक्षेत्र पछि करिब दुई वर्षपछि दर्शकमाझ प्रत्यक्ष प्रस्तुती दिन पाँउदा उषा खुशी र उत्साहित छिन् । “महामारीको बिचमा पनि काम गर्न पाउँदा एकदमै खुसी लागिरहेको छ । अस्ति फेसबुक लाइभमार्फत एक सो भएको थियो दर्शकले निकै रुचाइदिनुभयो र अब पनि दर्शकले माया गरिदिनुहुन्छ भन्ने पूर्ण विश्वास छ,” उनले भनिन् ।
त्यस्तै अर्की अनुपस्थित पात्रको भूमिका निभाइरहेकी पवित्रा खड्का समलिङ्गीको भावना व्यक्त गरिरहेकी छन् । उनी पनि आफ्नो अस्तित्वलाई प्रमाणित गर्ने होडमै दौडिरहेकी हुन्छिन् ।
पवित्रा खड्का
उनी पहिलोपटक समलिङ्गीको भूमिका निभाइरहेकी छन् । त्यसैले उनी यसलाई चुनौती र अवसर दुवैको रूपमा लिन्छिन् । “मैले अहिलेसम्म थाहा पाए अनुसार मेरो जेन्डर महिला नै हो । यो भावनासँग हुर्किहँदा त्यो फरक जेन्डरले भावना कसरी सोझिरहेको हुन्छ भन्ने कुरामा मैले लाख कोसिस गर्दा पनि अलि गाह्रो नै हुने रहेछ,” उनले आफ्नो अनुभव सुनाइन् ।
योसँगै उनका लागि अर्को अप्ठ्यारो र चुनौती भनेको महिला भएर महिलाकै नजिक हुनु हो । उनी अर्की महिला पात्र इच्छासँग नजिकिन खोजिरहेकी हुन्छिन् ।
यी कलाकारहरू लामो समयपछि दर्शकको समिपमा बसेर प्रत्यक्ष प्रस्तुती दिन पाउँदा उत्साहित छन् । हुन त उषा र पवित्राले यही नाटक करिब एक महिनाअघि आ–आफ्नो घरको कोठमा बसेर फेसबुकमा लाइभ प्रस्तुती दिइसकेका छन् । तर, उनीहरूले डिजिटल मिडियामा त्यो पनि हरेक पात्र तीन अलग ठाँउमा बसेर गर्दा त्यति मजा महसुस गरिरहेका थिएनन् ।
उनीहरूले मात्रै नभई दर्शकले पनि त्यति आनन्दले हेर्न पाएनन् । दर्शकको मागमा पनि यो नाटक पुनः तर नाटकघरमा नै मञ्चन हुन लागेको हो ।
फ्रान्सेली नाटककार झाँ–पल सात्रुको ‘नो एक्जिट’को नेपाली अनुवाद ‘अनुपस्थित तीन’लाई नेपालीमा अवतार पाठकले अनुवाद गरेका हुन् भने निर्देशन तथा परिकल्पना घिमिरे युवराजको रहेको छ ।
कोरोना महामारीको यो कहरमा दर्शकलाई एउटा राम्रो नाटक देखाएर पुरानो समयमा फर्किने अभ्यास गरिरहेका निर्देशक युवराज भन्छन्, “कुनै समयमा त हामी पक्कै फर्किहाल्छौँ । तर संकटको बेला कलाकार चुप लागेर बस्नु हुँदैन भन्ने सोचसहित दर्शकलाई पनि केही आशा जागोस् भनेर हामीले यो नाटक देखाउन लागेका हौँ ।”
घिमिरे युवराज
कोरोना महामारीको डरका बिच पनि उनी आशावादी छन् । उनका अनुसार दर्शकले फोनमार्फत् पनि बुकिङ गरिरहेका छन् । कोरोना महामारीमा पनि दर्शकले ‘अनुपस्थित तीन’ लाई साथ दिने उनको विश्वास छ ।
नाटक साउन १८, १९ र २० गरी तीन दिन लगातार शिल्पीको ‘गोठाले नाटक घर’ र फेसबुकमा लाइभमा ५ः३० बजे मञ्चन हुँदैछ । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै प्रत्येक पटकको मञ्चनमा मात्रै ४० जना दर्शकलाई नाटक हेर्ने व्यवस्था मिलाइएको छ ।
यसका साथै यो नाटक १६ वर्षभन्दा माथिको उमेर समूहका दर्शकले मात्रै हेर्न पाउने छन् । नाटकका अर्का एक पात्र हुन्, मनाङ लावती उनी पृथ्वीभन्दा दोस्रो अर्थात मृत्युपछिको संसारका म्यानेजरको रूपमा एकैछिन मात्रै नाटकसँग जोडिएका छन् ।
फेरि पृथ्वीमा फर्किन नपाउने ठाँउमा बसेर पृथ्वी र यहाँका आफ्नाहरूको हरेक गतिविधि नियालिरहेका उनीहरूबीच भएको कुराकानीलाई नाटकमा प्रस्तुत गर्न खोजिएको छ । उनीहरू कहाँ छन् र कसरी, कहिले र किन नफर्किने ठाँउमा पुगे भन्ने कुरा थाहा पाउन भने नाटक नै हेर्नुपर्ने हुन्छ ।