काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पटक–पटक आफ्नो पालामा तुइन विस्थापित भएको बताइरहँदा दार्चुलामा भने वर्षौँदेखि तुइनयुग जारी थियो । प्रधानमन्त्री ओलीले तुइनयुग नै समाप्त पारेको दाबी गर्न कहिल्यै छाडेनन् ।
उनी सत्ताच्युत भएको एक महिना नपुग्दै दार्चुलामा शुक्रबार बिहान व्यास गाउँपालिका–२ को मलघट्टेमा रहेको तुइन चढ्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले डोरी काटिदिएपछि जयसिंह धामी बेपत्ता भए । यो घटनाले सबैको ध्यान तानेको छ ।
शुक्रबार बिहान तुइन चढेर सदरमुकाम जाने क्रममा भारतीय बाटो प्रयोग गरेको भन्दै एसएसबीले तुइन काटिदिएको थियो । शुक्रबार बिहान कल्याणसिंह धामीले तुइनबाट मान्छे तार्ने क्रममा भारतीय सुरक्षा बलले तुइन काटेको थियो ।
तुइन काट्नुअघि चारजना पार गरिसकेका थिए भने तीनजना बाँकी थिए । डोरी काटिदिएर एसएसबी भागेका थिए । त्यसपछि तुइनमा रहेका धामी महाकाली नदीमा खसे । उनी अझै बेपत्ता छन ।
दार्चुलाको उक्त क्षेत्रमा २१ वर्षदेखि तुइनमार्फत सर्वसाधारण वारपार गर्दै आएका थिए । दार्चुलावासीलाई बेला–बेला एसएसबीले गाली गर्ने, कुट्ने, धम्क्याउने काम गर्दै आएका छन् । बेपत्ता धामीको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय जुटेका छन् ।
किन तुइन चढ्न विवश छन् दार्चुलावासी ?
दार्चुलाका पत्रकार किरण धामीका अनुसार तुइन चढ्नु दार्चुलावासीको बाध्यता हो । वर्षौँदेखि दार्चुलाको माथिल्लो क्षेत्रका बासिन्दा त्यसमा पनि खासगरी व्यास गाँउपालिकाका स्थानीय महाकालीमा तुइन प्रयोग गर्न विवश छन् ।
व्यास क्षेत्र भौगोलिक हिसाबले निकै विकट छ । नेपालको बाटो भएर दार्चुला सदरमुकामबाट व्यास पुग्न डेढदेखि तीन दिनसम्म लाग्छ । सो क्षेत्र पुग्न अधिकांश स्थानमा गोरोटेबाटो छ । पञ्चायतकालमा बनेको गोरेटो निकै जोखिमपूर्ण छ ।
महाकालीको तीरैतीरै रहेको गोरेटोमा निकै सावधानीपूर्वक यात्रा गर्नुपर्छ । बेला–बेला सोही गोरेटोबाट खसेर कतिपयको ज्यानसमेत जाने गरेको छ । गम्भीर बिरामी भएमा सो क्षेत्रबाट बिरामी दार्चुला सदरमुकाम खलंगा पुर्याउन मुस्किल हुने गरेको छ ।
व्यास गाउँपालिकामै भारतले कब्जा गरेको नेपाली भूमि लिपुलेक र कालापानी पर्छ । व्यास क्षेत्रमा खाद्यान्नलगायतको ढुवानी निकै कठिन छ । आफ्नै मुलुकको बाटो हुँदै दार्चुला सदरमुकाम पुग्न तीन दिनसम्म लाग्ने भएपछि नेपालीहरुले भारतीय बाटो रोज्ने गर्छन् ।
भारतीय बाटोतर्फ जान महाकाली पार गर्ने माध्यम भनेकै तुइन हो । नेपालतर्फ जोखिमयुक्त गोरेटो बाटो र भारततर्फ मोटरेबल बाटो भएकाले तुइन चढेर भारत जाने र त्यहाँबाट धार्चुला हुँदै दार्चुला पुग्ने योजना नेपालीको हुन्छ ।
महाकालीको तुइन पार गरेर भारतीय भूमि टेक्न सके त्यहाँबाट भारतीय गाडी प्रयोग गर्न पाइन्छ । गाडीबाट तीन/चार घण्टामै धार्चुला हुँदै दार्चुला सदरमुकाम पुग्न सकिन्छ । छोटो बाटो र समयमै पुगिने भएकाले नेपालीले भारतीय बाटोको प्रयोग गर्दै आएका छन् ।
पत्रकार धामीका अनुसार दार्चुलाका चार स्थानमा अझै तुइन छन् । मलघट्टे, सुनसेरा, दुम्लीङ र बडुगाँउमा तुइन छन् । केही तुइनको प्रयोग महाकाली नदी तरेर भारतीय बाटोसम्म पुग्न हुन्छ भने केही तुइनको प्रयोग स्वदेशकै लागि हुन्छ । प्रायजसो तुइन रुखका हागाँमा डोरीको सहायताले बाँधिएका हुन्छन् ।
तुइनको तार तटबन्ध गर्दा प्रयोग हुने तार हुने गरेको छ । वारिपारि रुखका हाँगामा बाँधिएको तुइनमा गोलो आकारमा रहेको अर्को तार हुन्छ । त्यही तारमा जिउ पसाउने र हातको सहायताले सर्दै जानुपर्ने हुन्छ । गोलो आकारको तार तलमाथि भएमा खुम्चिएर तुइनमा सरिएर ज्यान जाने जोखिम पनि हुने स्थानीयको अनुभव छ ।
पत्रकार धामीको बुझाइमा तुइन विस्थापित मात्रै दार्चुलावासीको समस्याको समाधान होइन, त्यसका लागि भारतले बनाएजस्तै नेपालले पनि महाकालीको तीरैतीर मोटरबाटो बनाउन जरुरी छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी मनोहर भट्ट छोटो समयमै सदरमुकाम पुग्नका लागि स्थानीयले तुइनको प्रयोग गर्ने गरेको बताउँछन् । भारतीय एसएसबीले तुइन काटेको पहिलोपटक भने होइन । सीमा नदीमा तुइन हाल्न पाइँदैन भन्दै उनीहरुले पटक–पटक तुइन काट्दै आएका छन् ।
पत्रकार धामी नेपाल र भारत सरकारबीच भएको सम्झौताअनुसार झोलुंगे पुलहरु युद्धस्तरमा निर्माण गर्नुपर्ने बताउँछन् ।
भेटिएनन् हराएका इन्जिनियर पौडेल र कुँवर
प्रहरीका अनुसार सात वर्षअघि व्यासबाट भारत जानका लागि महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर जिल्ला प्राविधिक कार्यालय दार्चुलाका इन्जिनियर राजेन्द्र पौडेल बेपत्ता भएका छन् । उनी बेपत्ता भएको सात वर्ष बितिसकेको छ । उनको अवस्था अज्ञात नै छ । यसबाहेक तुइनबाटै महाकाली तर्ने क्रममा व्यास गाउँपालिकाका रामसिंह कुँवर पनि बेपत्ता भएका थिए । उनको अवस्था पनि अज्ञात छ ।