काठमाडौ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले छानबिनको माग गरेका छन् । अलमुताइरीले बिहीबार आफूलाई एन्फा वरिष्ठ उपाध्यक्षले राजीनामा दिन बाध्य पारेको विषयमा छानबिनको माग गरेका हुन् ।
उनले छानबिनको माग गर्दै एन्फामा पत्र बुझाएका छन् । यही साउन १० गते राजीनामा दिने घोषणा गरेका उनले एन्फा वरिष्ठ उपाध्यक्षसहित दुई पत्रकारमाथि छानबिनको माग गरेका छन् ।
अलमुताइरीले दुई जना पत्रकार र वरिष्ठ उपाध्यक्षविरुद्ध छानबिनको माग गर्दै निवेदन दिएको एन्फाले बताएको छ ।
“अलमुताइरीले एक अनलाईनका दुई जना पत्रकार र वरीष्ठ उपाध्यक्षको विषयमा छानबिन गर्न माग गर्दै निवेदन दिनुभएको छ । वरिष्ठ उपाध्यक्षको पनि निवेदन आइसकेको छ । उपाध्यक्षले दिएको निवेदनको विषयमा भोलिका लागि बैठक बोलाइएको छ । यो विषयमा कुन दिन बैठक बोलाउने भन्ने कुरा भोलिको निर्णयले गर्नेछ,” एन्फा प्रवक्त किरण राईले बाह्रखरीसँगको कुराकानीमा भने ।