site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीको सरकारी निवास क्षेत्रमै डुबान, यी हुन् सामान्य झरीमै डुबान हुने काठमाडौंका बस्ती 
गएको असार ३० गते बानेश्वरको सहभागितामार्गमा जलमग्न भएको सडक । तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी ।
SkywellSkywell

काठमाडौं । काठमाडौंका विभिन्न क्षेत्रका बस्तीहरू सानोतिनो झरीमै बर्सेनि डुबानमा पर्छन् । खोलाहरूको अतिक्रमण र उचित तवरबाट ढल व्यवस्थापन नहुँदा सामान्य वर्षामै बस्तीहरू डुबानमा पर्ने गरेका हुन् ।

गएको शुक्रबार रातिको वर्षाले बालुवाटार, टुकुचा क्षेत्र आसपासका १०० भन्दा बढी घरहरूका भुइँतला डुबानमा परे । यस्तै, कपन, सरस्वतीनगर, मिलनचोक, अनामनगर, मदन भण्डारी कलेज आसपासका बस्तीका टहराहरू पनि डुबानमा परे । दुई घण्टाजतिको सानो झरीले पनि बस्ती डुबानमा परेको टुकुचाका स्थानीयले बताए ।

बालुवाटारका स्थानीय युगलकिशोर गौतम ढल व्यवस्थापनमा ‘टालटुले काम’ हुँदा बस्ती डुबानको समस्या निम्तिएको बताउँछन् । “खोलामा भएको अतिक्रमण र बस्ती स्थानान्तरणमा सरकारले चासो नदिँदा यस्तो समस्या आएको छ । पानी बग्ने खाली ठाउँ नराखेर जथाभावी घर बनाउँदा बस्ती डुबानमा पर्दै आएका छन्,” उनले भने ।

KFC Island Ad
NIC Asia

प्रधानमन्त्रीको सरकारी निवास क्षेत्रमै डुबान 
प्रधानमन्त्रीको सरकारी निवाससहित ‘भीआईपी’हरूको कार्यक्षेत्र रहेको स्थान बालुवाटारलगायतमै पनि डुबान हुने गरेको छ । सामान्य वर्षामै उक्त क्षेत्रका बस्ती डुबानमा पर्ने गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारनजिकैबाट टुकुचा खोला बग्छ ।

“प्रधानन्त्रीको सरकारी निवास बालुवाटार आसपासका बस्तीहरू डुबानमा पर्छन् । स्थानीयले ह्युमपाइप भत्काउँदै जोड्ने कुरा भएन । सरकारको लगानी छ । ठाउँठाउँमा हालेका टुक्राटुक्रा ह्युमपाइपले बर्खाको पानीको बहाव धान्ने अवस्था छैन । त्यसैले यो क्षेत्र डुबानमा पर्दै आएको छ,” स्थानीय गौतमले भने, “हामीले विभिन्न किसिमका समस्याका कारण निकालेका छौँ ।”

Royal Enfield Island Ad

ह्युमपाइप हालिँदा थप जोखिम 
स्थानीयका अनुसार टुकुचा खोलाको भूभाग ठूलो थियो । बस्ती र सडक विस्तारको क्रममा अतिक्रमण भयो । “अहिले यस क्षेत्रमा खोला एकदमै सानो छ । यस क्षेत्रको ह्युमपाइपमा बहाव बढ्ने भनेको भंगाल खोलाबाट हो । पहिलाको खोला बग्ने ठाउँ शंखमूल, चण्डोल, पञ्चकन्या, टुँडाल, चाइनिज एम्बेसी, दरबारमार्ग हुँदै बागबजारसम्म पुग्ने हो । उक्त क्षेत्र लोल्यान्डमा थियो । त्यसैले पनि यी क्षेत्र डुबानको खतरामा छन्,” उनले भने ।

उक्त क्षेत्रमा अहिले विभिन्न सडक, घरहरू बनेका छन् । टुकुचा खोलालाई ढलको रूपमा उपयोग गर्न थालियो । करिब ४० वर्षपहिले उक्त क्षेत्र खोलाकै स्वरूपमा रहेको र अहिले बस्तीमा परिणत भएको स्थानीयको भनाइ छ ।

उपभोक्ता समितिले टोलटोलमा ह्युमपाइप हाल्दा पनि उक्त क्षेत्र पटक–पटक डुबानमा पर्दै आएको बताइन्छ । चण्डोल, महाराजगन्ज क्षेत्रमा पनि सामान्य झरीमै बस्ती डुबान हुन्छ । अहिले काठमाडौंको उत्तर–पश्चिमको सबै ढल टुकुचामा मिसिन्छ ।

फरक–फरक आकारको ह्युमपाइप
पहिलेका उपभोक्ता समितिले फरक–फरक साइजको ह्युमपाइप बिछ्याएकाले बस्ती डुबानमा पर्ने गरेको स्थानीयको आरोप छ । कतै ४० इन्च, कतै ४५ इन्च, कतै ३० इन्चको ह्युमपाइप राखिँदा त्यसले धान्न नसकेको स्थानीय बताउँछन् । बस्ती विस्तार हुँदा थुप्रै घरहरूका ढल मिसाउन थालियो । जसले गर्दा १२ वर्ष पुरानो ह्युमपाइपले धान्न सकेन ।

यी हुन् बढी डुबानमा पर्ने क्षेत्र
टुकुचा, बागबजारदेखि तीन किलोमिटर रिङरोडसम्म ट्राफिक महाशाखा थापाथली हुँदै त्रिपुरेश्वरको वाग्मतीमा ढल मिसिन्छ । दरबार संग्रहालयदेखि माथिको ह्युमपाइप ठूलै छ । त्यसैले त्यहाँ खास्सै समस्या नभएको बताइन्छ । तर, बालुवाटार आसपासका बस्तीहरूमा ठूलो समस्या पर्ने गरेको छ । अनामनगरको मदन भण्डारी कलेज आसपासको क्षेत्रमा पनि डुबान हुन्छ ।

यस्तै, कपन, मिलनचोक, सरस्वती नगर, गोपीकृष्ण हल, वसुन्धारा, अनामनगर, घट्टेकुलो, पुतलीसडक, मूलपानी मनोहरा, बौद्ध, जोरपाटी र थापाथली क्षेत्रका भित्री बस्तीहरू पनि डुबानमा पर्दै आएका छन् । काठमाडौं महानगरपालिकाको केन्द्रीय कार्यालय जेडीए कम्प्लेक्स, न्यु प्लाजा क्षेत्र पनि डुबानमा पर्दै आएका छन् ।

स्थानीयको माग
बस्ती डुबानबाट जोगाउन सरकारले योजना बनाएर यसको दिगो समाधान खोज्नुपर्ने स्थानीयको माग छ । बीच–बीचबाट काम नगरी मुहानैदेखि एकै किसिमका ह्युमपाइप हाल्दा यो समस्या समाधान हुने उनीहरूको बुझाइ छ ।

१०–१२ वर्ष पुराना ह्युमपाइप समयमै मर्मत नगर्दा पनि यस्तो अवस्था आएको उनीहरूको भनाइ छ । बस्ती विकासले आकाशे झरीलाई खोलाकै स्वरूपमा फर्काउने अवस्था नरहेकाले यसको दिगो समाधान आवश्यक रहेको उनीहरु बताउँछन् ।

दिगो समाधान खोज्छौँ : उपमेयर
काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गीले बस्ती डुबान हुने क्षेत्रको समस्या समाधान गर्न प्रारम्भिक र प्राविधिक अध्ययन गरिने बताएकी छन् । गएको सोमबार उनले टुक्रे योजनाका आधारमा काम गर्दा यस्तो समस्या आएको भन्दै अब दिगो रूपमा काम गरिने बताएकी हुन् ।

सडक विभाग, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र महानगरबीच समन्वय भएर ढल व्यवस्थापन भइरहेको महानगरले जनाएको छ ।

नागरिकस्तरबाटै बदमासी !
महानगरका भौतिक पूर्वाधार विकास विभागका प्रमुख राम थापाले बस्ती डुबान हुने समस्या प्रतिकूल नभएको दाबी गरे । बस्ती डुबान हुनुमा नागरिकस्तरबाटै बदमासी भएको उनको भनाइ छ ।

“काठमाडौंमा बस्ती डुबान हुने समस्या छैन । धोबीखोलाको बहाव बढेपछि अलि–अलि समस्या आउँछ । यो स्वाभाविक हो । वर्षायाम सकिएपछि आफैँ कम हुँदै जान्छ । अन्य क्षेत्रमा प्रतिकूल समस्या छैन,” उनले भने, “यद्यपि, यस्तो समस्या आएको खण्डमा हामीले समाधान गरिरहेका छौँ । ढल व्यवस्थापन भइरहेकै छ । समस्या आएको ठाउँको ह्युमपाइपको पनि मर्मत–सम्भार भइरहेको छ । यसका लागि महानगरले छुट्टै बजेट छुट्ट्याएको छैन । प्रकोप व्यवस्थापनअन्तर्गत आवश्यकताबमोजिम समस्या समाधान गरिन्छ ।”

न्यु प्लाजा र बालुवाटार क्षेत्रमा गएको शुक्रबार ठूलो झरी परेकोले मात्रै बस्ती डुबानमा परेको थापा बताउँछन् । बस्ती डुबानको समस्याबारे वडा कार्यालयमा सम्पर्क गरे तुरुन्तै समाधान गरिने उनको भनाइ छ । वर्षायामको समयमा अलि–अलि पानी बस्तीहरूमा पस्नु स्वाभाविक रहेको महानगरको तर्क छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १४, २०७८  ११:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro