काठमाडौं । २६ वर्षीया श्रीनेहा पोखरेल कहिले काठमाडौंका सडक त कहिले कुसुन्तीस्थित ‘नेपाल स्नेही काख’मा भेटिन्छिन् । उनी बालबालिकादेखि वयस्क मनोरोगीहरुसँग रमाइरहेकी हुन्छिन् । श्रीनेहा उनीहरुकी ‘आमा’ हुन् ।
“आमा शब्दबाट सम्बोधित हुन पाउँदा निकै भाग्यमानी ठान्छु, आफैँलाई,” उनी भन्छिन् । सडकमा अलपत्र अवस्थामा रहेका मनोरोगीहरुको स्याहार गरिरहेकी नेपाल स्नेही काखकी संस्थापक श्रीनेहा आफूलाई बालबालिकादेखि वृद्धाहरुले पनि आमा भनेर सम्बोधन गर्दाको खुसी हामीसँग साटिरहेकी थिइन् ।
श्रीनेहा सडकमा बेवारिसे अवस्थामा भेटिने मानसिक रोगीहरुको उद्धारमा तल्लिन रहन्छिन् । उनीहरुको हेरविचार, खाना, औषधि र कसरी चाँडै निको बनाउने भन्नेमा श्रीनेहाको ध्यानकेन्द्रित हुन्छ ।
स्नेही काखले उद्धार गरिएका मनोरोगीहरुमध्ये निको भइसकेपछि कतिपयलाई परिवारको जिम्मा लगाइन्छ । परिवार नभेटिएकाहरुलाई भने स्नेही काखले आफ्नै घरमा राख्ने गरेको छ ।
०००
उनी विगत करिब १० वर्षदेखि यस कार्यमा सक्रिय छिन् । नेहाको घर–परिवार भनेकै नेपाल स्नेही काख भइसकेको छ । स्नेही काखमा श्रीनेहासँगै अरु ६ साथीहरु पनि सहकार्यमा छन् ।
०००
घर आउजाउ गर्नेक्रममा उनले एकजना व्यतिmलाई बाटोमा सुतिरहेको देखेकी थिइन् । कालोमैलो र झुक्रो लुगा । जिंग्रिङ परेको फोहोर कपाल, वर्षौँदेखि ननुहाएकोजस्तो दुर्गन्धित शरीर । ती व्यक्ति कसरी सडकमा बस्न बाध्य भए ? परिवार छ कि छैन ? केही खान पाएको छ कि छैन ? श्रीनेहाको मनमा एक दिन यस्तै कुरा खेले । भोलिपल्टदेखि कामबाट घर फर्कँदा उनले कहिले बिस्कुट त कहिले चाउचाउ लगेर दिन थालिन् । त्यसपछि सुरु भयो, मनोरोगीहरुको सेवा ।
“सुरुमा हामीले धेरै मान्छेलाई निको बनाउँछौँ, पुनःस्थापना गर्छौँ भनेर सोचका थिएनौँ,” उनले भनिन्, “आफ्नो कमाइको केही रकमले भ्याएसम्मको खर्चले एक–दुईजनालाई हेरौँ न त भन्ने बचपनाले सुरु ग¥र्यौँ ।”
तर, एकपछि अर्को, अर्कोपछि अर्को गर्दै १० वर्षको अन्तरालमा नेपाल स्नेही काख नामक संस्था नै सञ्चालन गरेर अघि बढिरहँदा १०० भन्दा धेरै व्यतिmको उद्धार गरिसकेको उनी बताउँछिन् ।
०००
नाच्न, अभिनय गर्न औधी रुचाउने श्रीनेहा कक्षा–११ देखि नै तीन–चारवटा विद्यालयमा नृत्य प्रशिक्षकको रुपमा काम गर्थिन् । त्यहाँबाट आएको पैसाले सडकमा अलपत्र अवस्थामा रहेकालाई सहयोग गर्थिन् ।
“इच्छा कलाकार बन्छु भन्ने थियो,” उनी भन्छिन्, “त्यही कारण नृत्य प्रशिक्षणबाट कमाएको पैसाले उहाँहरु ५–१० जनालाई व्यतिmगत रुपमा हेरौँ न त भन्ने सोचमा अघि बढिरहेकी थिएँ ।”
तर, त्यस्ता व्यक्तिको संख्या बढ्दै गएपछि आश्रय नै दिएर उद्धार गर्ने सोचमा उनी पुगिन् । नजिकका साथीहरुलाई भनिन् । श्रीनेहाको प्रयासमा होस्टेमा हैँसे गर्न साथीहरु तयार भए । अनि, स्थापना भयो बाटोमा अलपत्र परेका मनोरागीहरुको घर ‘नेपाल स्नेही काख’ । संस्था दर्ता गरेसँगै आश्रितहरुको संख्या पनि थपिँदै गयो ।
०००
नेपाल स्नेही काखमा अहिले १४ जना बालबालिका छन् । उनीहरुलाई विद्यालय पठाउनुपर्ने जिम्मेवारी पनि थपिँदै छ । “मैले नाटक नियमित गर्न सकेँ भने दुई–तीनजनालाई स्कुलको खर्च जुटाउन सक्छु होला । तर, यहाँबाट निस्किने समय नै मिलिराखेको छैन,” उनी भन्छिन् ।
उनका अनुसार नेपाल स्नेही काखलाई अहिले नियमति रुपमा पाँचजना व्यक्तिले सहयोग गरिरहेका छन् । त्योबाहेक नेहासहित अरु ६ जना संस्थापकले व्यतिmगत कमाइको केही मात्रा छुट्ट्याएका छन् । खाना, औषधि उपचार, लत्ताकपडा र भाडा गरी महिनाको करिब चार लाख रुपैयाँ खर्च हुने गरेको उनको भनाइ छ ।
०००
नेपाल स्नेही काख मनोरोगी महिला र उनीहरुबाट जन्मिएका बच्चाहरुको सुन्दर घर हो । मानसिक सन्तुलन गुमाएर घरबाट जबर्जस्ती निकालिएका तथा निक्लिएर बाटोमा अलपत्र परेका व्यतिmहरुलाई नेपाल स्नेही काखले आफनो परिवारमा सामेल गर्छ । “किनभने, अरुले त मागेर वा केही सानो–तिनो काम गरेर पनि आफूलाई पाल्न सक्नुहुन्छ । तर, मनोरोगीहरुमा त्यो सम्भव हुँदैन,” उनले भनिन् ।
सुरु–सुरुमा उनले मनोरोगीहरुबाट पिटाइ पनि खाइन् । तर, अहिले उनीहरुसँग कसरी व्यवहार गर्ने भन्ने सिकिसकेकी छिन् । उनले भनिन्, “डराउनुभन्दा पनि पिट्ने खालको बिरामीहरुलाई कसरी आफू र उहाँलाई पनि सुरक्षित गरेर समाउने वा कन्ट्रोलमा ल्याउने सिकियो ।”
०००
दुर्घटनाका कारण मानसिक सन्तुलन गुमाएका, कोही उमेर बढ्दै गएसँगै भुल्ने रोगका कारण, कोही डिप्रेसनका कारण मनोरोगीको सिकार हुने गरेको उनले पाएकी छिन् ।
“यदि, हामीले आफनो परिवारभित्रै माया, हेरचाहको बानी बसाल्ने हो भने न त नेपाल स्नेही काखजस्तो संस्था हुन्छ न त मजस्तो कलाकारिताको सपना बोकेर हुर्केका युवाहरु आफनो सपनालाई बलि चढाएर समाजसेवामा अघि बढ्नुपर्ने हुन्छ,” उनी भन्छिन् ।
श्रीनेहा एक रंगकर्मी पनि हुन् । उनले केही सर्ट फिल्ममा काम पनि गरेकी छिन् । तर, अहिले त्यसको लागि समय निकाल्न मुस्किल छ । “त्यो क्यामेरामा एक्सन कट गर्ने चाहना म टिकटकमा पोख्छु,” उनले सुनाइन् ।