site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘चारवटा अस्पताल धाउँदा पनि उपचार नपाएर छोरी गुमाएँ, एम्बुलेन्सबाट झार्नै दिएनन्’

जनकपुरधाम । प्रदेश नम्बर–२ मा एक साताभित्र तीनजना मिर्गाैलापीडितको मृत्युको घटना सार्वजनिक भएको छ । कोरोना महामारीका कारण अस्पतालले सेवा घटाउँदा तथा समयमा उपचार नपाउँदा उनीहरुले ज्यान गुमाएको आफन्तको भनाइ छ ।

यही जेठ ७ गते प्रादेशिक अस्पताल जनकपुरधाममा बटेश्वर गाउँपालिका–३ का ३७ वर्षीय मिर्गाैलापीडित रामसागर महतोको मृत्यु भयो । समयमा डायलासिस नहुँदा उनको मृत्यु भएको परिवारजनको आरोप छ ।

मृतकका आफन्त वीरेन्द्रकुमार महतोले बिरामीलाई लिएर आएको घण्टौँसम्म पनि अस्पतालले डायलासिस नगर्दा छटपटाएर मृत्यु भएको आरोप लगाए । “बिरामीलाई अस्पताल ल्याएको सात घण्टापछि पनि चिकित्सकले चासो लिएनन्,” उनले भने, ‘अस्पताल प्रशासन र स्वास्थ्यकर्मीलाई जति गुहार गरे पनि कसैले कुनै पनि सुनुवाइ लिएनन् ।”

मृतक महतो बटेश्वर गाउँपालिका–४, राम्रोचोकस्थित राष्ट्रिय प्राथमिक विद्यालयका शिक्षक थिए । केही दिनअघि कोरोना संक्रमित भएपछि उनको स्वास्थ्यमा समस्या थपिएको थियो । त्यसपछि जेठ ६ गते राति अस्पताल भर्ना गरिएको थियो ।

प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोदकुमार यादवले बिरामी कोरोना संक्रमितसमेत रहेको हुँदा बचाउन असफल भएको र आफू काममा व्यस्त रहेकोले पछि कुरा गर्ने भन्दै पन्छिए ।

यस्तै, रौतहटको गुजरा नगरपालिका–४, कनकपुरकी कुमारी विकले छोरी गुमाइन् । जेठ ११ गते बेलुका उनकी १७ वर्षीया छोरी समिना विकको मृत्यु भएको हो । समिना चार वर्षयता मिर्गाैलासम्बन्धी रोगबाट ग्रसित थिइन् । वीरगन्जका अस्पतालले भर्ना गर्न नमान्दा कलिलो उमेरमै छोरी गुमाएको कुमारीको भनाइ छ ।

“अग्रिम जानकारी दिएर वीरगन्ज हेल्थकेयर भर्ना गर्न लगेँ । तर, त्यहाँ पुगेपछि छोरीलाई एम्बुलेन्सबाट झार्नै दिएनन्,” उनले भनिन्, “भर्ना नलिएपछि वीरगन्जको लिंकरोडस्थित भवानी हस्पिटलमा गए । त्यहाँ पनि भर्ना लिएनन् ।” भवानी अस्पतालबाट निराश भएर नारायणी अस्पतालमा गएको तर बेड खाली नरहेको भन्दै उपचार गर्न नमानेको उनले बताइन् ।

नेसनल मेडिकल कलेज (एनएमसी)सहित उनले छोरीको उपचारका लागि चारवटा अस्पताल धाएको सुनाइन् । तर, उपचार नपाएको गुनासो गरिन् । छोरीलाई अस्पतालले भर्ना नलिँदा गुमाउनु परेको उनको भनाइ छ ।

वीरगन्ज हेल्थकेयरका सञ्चालक डा. अबुलहैस अन्सारीले उक्त बिरामी आफ्नो अस्पतालमा नआएको जिकिर गरे । “हामीसँग त सबै खाली छ । हामी आफैँ बिरामी खोजीरहेका छौँ,” उनले भने, “तर, यहाँ आएकै छैन । हामी बिरामीको सेवा गर्नकै लागि अस्पताल सञ्चालन गरेका छौँ ।”

भवानी हस्पिटलका सञ्चालक रामराज श्रेष्ठले भने डायलासिस मेसिन नभएको कारण उपचार गर्न नसकेको बताए ।

जेठ १२ गते नै कमेडियन आदर्श मिश्राले आफ्नो मिर्गाैलापीडित बुवा गुमाए । उनको बुवा विनोद मिश्राको चार घण्टा डायलासिस गर्नुपर्नेमा स्वास्थ्यकर्मीले तीन घण्टा मात्रै गर्दा ज्यान गएको आदर्शले दाबी गरिरहेका छन् ।

आदर्शका अनुसार सोमबार वीरगन्जको नारायणी अस्पतालमा विनोदको डायलासिस गरिएको थियो । तीन घण्टा मेसिनमा जोडिएर रगत सफा गरेपछि बारा, जितपुरस्थित घर फर्किएका थिए । तर, अचानक उनको स्वास्थ्य स्थिति बिग्रियो । उनको ज्वरो उच्च थियो । सास पनि बढेको थियो । चार घण्टा हुनुपर्ने डायलासिस तीन घण्टा मात्रै गरिँदा चिकित्सकको लापरबाहीका कारण बाबु गुमाउनुपरेको आदर्शले सामाजिक सञ्जालमार्फत बताएका छन् ।

यहाँका अधिकांश अस्पतालले अहिले बेड खाली नभएको भन्दै नयाँ बिरामी भर्ना लिएका छैनन् । भर्ना लिएका अस्पतालले पनि सेवा घटाएका छन् । प्रदेश–२ मा १० हजारको हाराहारीमा मिर्गौलाका बिरामी भए पनि डायलासिस मेसिनको अभाव रहेको प्रादेशिक अस्पतालका एक चिकित्सकले बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८  ०९:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro