site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
के सरकारको गैरजिम्मेवारीले आदर्शले गुमाए बुवा ?
SkywellSkywell

काठमाडौं । पछिल्लो १२ घण्टादेखि सामाजिक सञ्जालमा कमेडियन आदर्श मिश्रा र उनको बुवासँगको फोटोहरु सेयर भइरहेका छन् । आदर्शलाई पितृशोक परेको छ । उनका बुवा विनोद मिश्राको मंगलबार निधन भएको हो ।

मिर्गौला रोगी उनको मंगलबार बिहान चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । पछिल्लो चार वर्षदेखि डायलासिसका कारण बाँचिरहेका आफ्ना बुवालाई आदर्शले बचाउन हारगुहार गर्दा पनि असफल रहे । सोही विषयलाई लिएर सामाजिक सञ्जालमा आक्रोश व्यक्त भइरहेको छ ।

बुवाको निधनको एक दिनअघि मात्रै आदर्शले ट्विटरमा लेखेका थिए, “आई डन्ट वान्ट टु लुज माइ डयाड ।” तर, त्यसो भनेको भोलिपल्टै उनले बुवा गुमाउनुपर्‍यो ।

KFC Island Ad
NIC Asia

मिर्गौला प्रत्यारोपणका लागि दाता भएर पनि आदर्शको बुवाले संसार त्याग्नु परेको भन्दै अहिले सामाजिक सञ्जाल प्रयोगकर्ता आक्रोशित बनेका हुन् । आदर्शका बुवालाई मिर्गौला दान गर्न उनकी ठूली आमा तयार थिइन् । तर, भारतीय भएका कारण उनको मिर्गौला आदर्शका बुवालाई दिन नमिल्ने भनिँदा मिर्गौला प्रत्यारोपण हुन सकेन ।

एक व्यक्तिले सोमबार मात्रै आदर्शसँग कुरा भएको र अस्पतालको गैरजिम्मेवारीपूर्ण हर्कतका बारेमा उनले सुनाएको भन्दै फेसबुकमा लेखेका छन्, “भाइ आदर्श मिश्रासँग हिजो मात्रै कुरा गर्दा उसले भनेको थियो– दाइ, नारायणी अस्पतालमा मान्छे मारदिन्छन् । यहाँ डाक्टर चेक गर्न आउँदैनन्, नर्सलाई पीपीई समेत लगाउन आउँदैन ।”

Royal Enfield Island Ad

आदर्शको भनाइ भन्दै उनले अगाडि लेखेका छन्, “बुवाको चार घण्टाको डायलासिस अढाई घण्टामा सकाइदिए । म यहाँ उपचार गराउँदिनँ, बुवालाई लिएर भरतपुर जाँदै छु । उहाँको अवस्था ठिकै छ ।”

आदर्शसँग कुरा भएको केही समयपछि नै सौरभ शाहले फोन गरेर आदर्शका बुवाको डायलासिस राम्ररी नहुँदा युरिया मस्तिष्कमा पुगिसकेको र अवस्था एकदमै नाजुक भएको बताएको पनि उनले लेखेका थिए ।

आदर्शले सामाजिक सञ्जालमार्फत उनको बुवाको अवस्था र उनीहरुले भोग्नुपरेको पीडाबारे सेयर गरिरहेका हुन्थे । सोही क्रममा केही समयअघि मात्रै उनले नारायणी अस्पतालमा भएका दुईवटै डायलासिस मेसिन बिग्रिएको भन्दै मिर्गौला रोगी बिरामीको डायलासिस नहुने जनाएका थिए ।

ट्विटरमार्फत नै आदर्शले नेपाल सरकारविरुद्ध मुद्दा दर्ता गराउन चाहेको उल्लेख गरेका थिए । ट्विटमा आदर्शले लेखेका  थिए, “दाताका कारण मेरो बुवाको मिर्गौला प्रत्यारोपण गराउन रोक लगाएकोमा नेपाल सरकारविरुद्ध केस दर्ता गराउन चाहन्छु । डोनर मेरी आमाकी दिदी भारतीय हुन् । तिम्री आमाकी दिदीले तिम्रो बुवाको लागि मिर्गौला दिन सक्छिन् तर गर्न दिइएन । कारण, उनी भारतीय हुन् ।” उनले दीप झा नामक ट्विटर एकाउन्टलाई मेन्सन गरी सहयोग मागेका थिए ।

आदर्शकी आमा भारतीय हुन् भने बुवा नेपालको बारा, जितपुरका हुन् । दुई वर्षअघि उनीहरु बुवाको मिर्गौला प्रत्यारोपणबारे बुझ्न काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका थिए । तर, अस्पतालका चिकित्सकले नेपालमै बिहे भएको भए हुने, भारतमा जो कोही आफन्त भए पनि मतलब नभएको र प्रत्यारोपण गर्न नमिल्ने बताएका थिए ।

त्यसपछि अस्पतालबाहिर आएर उनका बुवाले आँखाभरि आँसु पारेर भनेका थिए, “छोरा, यो देश मेरो होइन रहेछ ।” यी शब्दहरु आदर्शको कानमा आज पनि गुन्जिरहेको छ  ।

त्यही पल थियो, आदर्शलाई पनि नेपालमै जन्मिएर पनि, एक नेपाली भएर पनि आफ्नै देश आफ्नो रहेनछ भन्ने महसुस भएको ।

आदर्शले भिडियोमार्फत नै देशका प्रधानमन्त्री केपी शर्मा ओलीसँग अब कुनै अपेक्षा नभएको पनि बताएका थिए । मिगौला प्रत्यारोपण गर्न ओलीजस्तै पावर र कुर्सीमा हुनुपर्ने भन्दै कटाक्ष गरेका थिए । उनका ती भिडियोहरु अहिले पुनः एकपटक सामाजिक सञ्जालमा सेयर भइरहेका छन् ।

कानुनमा के छ ?
नेपालको कानुनानुसार नजिकका नातेदार विदेशी नागरिक भए पनि उसले अंग दान गर्न मिल्छ । मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २५५ (संशोधन २०७५) को दफा २ (ठ)मा अंगदान गर्न सक्ने नातेदारको सूची छ ।

त्यसैगरी, मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) निर्देशिका २०७५ को दफा ७ (५) ले विदेशी नागरिकको लागि नाता प्रमाणित गर्ने निकाय तोकिएको छ । सोअनुसार विदेशी नागरिकको हकमा सम्बन्धित विदेशी नियोगबाट नाता प्रमाणित गरेको हुनुपर्नेछ ।

यस हिसाबमा नेपालको कानुनानुसार आदर्शकी ठूली आमा भारतीय भएर पनि आदर्शका बुवालाई अंगदान गर्न मिल्ने देखिन्छ ।

सामाजिक सञ्जालमा आक्रोश
अभिनेत्री/मोडल अलिशा राईले लेखेकी छन्, “आदर्श मेरो आफन्त पक्कै हैन तर पनि म एउटा सन्तान हो । यो असहाय पीडा जसले नि बुझ्न सक्छ । तर, सरकारले बुझेन । कसैको ज्यान यति सस्तो छ र ?,” उनी प्रतिप्रश्न गर्छिन्, “कसैको ज्यानभन्दा कुर्सीको लडाईँ सारै अमूल्य रहेछ ! यो सब शब्दको कुनै अर्थ छैन, गुमाउनेले ज्यान गुमाइसक्यो । सुस्त सिस्टम अनि स्वार्थी सरकार !” यस्ता कैयौँ घटनाले सरकारलाई गिज्याइरहँदा पनि लाज पचाउने सरकारको बानी भएको पनि अलिशाले उल्लेख गरेकी छन् ।

यस्तै, अर्का प्रयोगकर्ता अनुप खत्री लेख्छन्, “आदर्श र उनका बुवा सोर्स/फोर्स नभएका र प्रणालीका सिकार भएका कैयौँ पात्रहरुको प्रतिनिधि मात्रै हुन् । उसले जे गुमाएको छ, त्यसको क्षतिपूर्ति कुनै पनि शब्दले दिन सकिन्न । तर, हामी यति आशा गर्न सक्छौं कि नेपालको स्थिति राम्रो होस् र प्रणालीको असफलताले कोही पनि आदर्शले आफ्नो बुवा गुमाउन नपरोस् ।”

त्यस्तै, संगीतकार कालीप्रसाद बास्कोटाले लेखेका छन्, “धेरै दुःखद खबर । उहाँको बुवाले जस्तो कुनै पनि नेपालीले भोग्न नपरोस् र हरेक नेपालीको छोरा आदर्शजस्तो होस् ।”

आदर्श र उनको परिवारले भोगेको पीडाले अहिले नेपाल सरकारप्रति नै प्रश्नचिह्न उठिरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले सरकारप्रति आक्रोश पोखिरहेका छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८  १४:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro