site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वृद्धभत्ता पाँचहजार ! बजेटबारे अर्थका अधिकारीनै अन्योलमा 

काठमाडौं । प्रतिनिधिसभा विघटन गरेको केपी ओली नेतृत्वको सरकारले जेठ १५ मा अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेको छ । संविधानले भने बजेट ल्याउँदा संसद् विहीनताको परिकल्पना गरेको छैन । जेठ १५ गते संदमा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । 

संविधानको धारा ११९ मा नेपाल सरकारका अर्थमन्त्रीले प्रत्येक आर्थिक वर्षको लागि संसदको दुबै सदनको संयुक्त बैठकमा आय व्ययको वार्षिक अनुमानित विवरण पेश गर्नुपर्ने भनिएको छ । यद्यपि, संसद नहुँदैमा सरकारले बजेट ल्याउनै नसक्ने भन्ने नहुने केही अर्थविदको तर्क छ ।

संविधानको धारा ७६(३) अनुसार प्रधानमन्त्री बनेका ओलीले  विश्वासको मत पाउने अवस्था नदेखेपछि धारा ७६(५) अनुसारको सरकार गठनको लागि मार्ग प्रशस्त गरेको बताएका थिए । तर, संविधानको धारा ७६(५) अनुसारको प्रधानमन्त्री पद पनि आफैंले दाबी गरे भने कांग्रेस सभापति शेरबहादुर देउवाको समेत दाबी  परेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले निर्णय लिन सकिनन् । 

दुबैतर्फ सरकार बन्ने बलियो आधार नदेखिएको भन्दै राष्ट्रपति भण्डारीले दुबै पक्षको दाबी खारेज गरिन् । अल्पमतमा परेका प्रधानमन्त्री ओलीले अन्ततः निवार्चनको मिति तोक्दै प्रतिनिधिसभा विघटनको सिफारिस गरे, राष्ट्रपतिले मध्यरातमा विघटनको घोषणा गरिदिइन् । 

अहिले संसद् विघटन भएको अवस्था छ । र, सरकार अध्यादेशबाट ल्याउने बजेट ल्याउने तयारीमा छ । आइतबार प्रधानमन्त्री ओलीले एमाले निकट पत्रकारसँग गरेको अन्तरक्रियामा बजेट अध्यादेशबाट  आउने बताएका थिए । 

संसद् विघटनसँगै अहिले सरकार कामचलाउ हैसियतमा छ । यो सरकारले नैतिक तथा कानुनी हैसियत गुमाइसकेकाले पूर्ण बजेट ल्याउन नहुने तर्क केही कानुनविदको छ । 

कामचलाउ सरकारले संसद नभएको अवस्थामा पूर्ण बजेट भन्दा अत्यावश्यक सरकारी खर्च नरोकिने गरी ल्याउनु पर्ने अधिवक्ता टीकाराम भट्राईको धारणा छ । 

कामचलाउ हैसियतमा भए पनि सरकारले राज्यलाई दीर्घकालीन आर्थिक भार थपिने खालका कार्यक्रम बजेट मार्फत घोषणा गर्ने तयारी गरेको बुझिएको छ ।  

कोरोनाका कारण आर्थिक गतिविधि ठप्प रहेको अवस्था छ । यो अवस्था कहिलेसम्म रहन्छ भन्ने यकिन छैन । अर्थतन्त्र खुम्चिएको अवस्थामा सरकारलाई स्रोत व्यवस्थान गर्न चुनौतिपूर्ण छ । 

आगामी आर्थिक वर्षमै स्थानीय चुनाव गर्नुपर्ने र संघीय संरचना अनुसार प्रदेश र स्थानीय तहको खर्च व्यवस्थापन गर्नु पर्ने चुनौती सरकारलाई छ । यस्तै, स्थानीय चुनावका लागिसमेत बजेट विनियोजन गर्नुपर्ने हुन्छ । 

अर्कोतिर कोरोनाबाट थलिएको अर्थतन्त्र पुनरुत्थान गर्नु अहिले सबैभन्दा चुनौतिपूर्ण छ । तर, सरकारको ध्यान आर्थिक पुनरुत्थानमा भन्दा पनि राज्यलाई दीर्घकालिन आर्थिक भार बोकाएर लोकप्रिय बजेट ल्याउनतर्फ केन्द्रित भएको देखिन्छ ।

रणनीतिक महत्वको आयोजना भन्दा पनि लोकप्रियातातिर बजेट केन्द्रित गर्ने संकेत सरकारले दिएको छ ।  

महामारीमा खोप अभियान चलाउनुपर्ने बेला सरकार चुनावी अभियान चलाउनतर्फ केन्द्रित छ । नागरिकलाई कोरोना खोप सुनिश्चित गर्न स्रोतको पक्कापक्की गर्नु र आर्थिक पुनरुउत्थान गर्ने खालको बजेट निर्माण प्राथमिकता हुनुपर्नेमा करिब ४० अर्बले अर्थिक भार थपिने गरि सरकारले सामाजिक सुरक्षा भत्ता बढाउने तयारी गरेको छ । 

सामाजिक सुरक्षा भत्ता ३ हजारबाट ५ हजार बनाउने कुरा सुनिएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षा भत्ता चुनावी घोषणापत्र अनुसार ५ हजार पु¥याउने बताएका थिए । त्यति मात्र नभएर आगामी बजेटमा एमालको चुनावी घोषणापत्रमा भएका कार्यक्रम कार्यान्वयन गर्न निर्देशन नै दिएका छन् । 

अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा. प्रकाश श्रेष्ठ पनि सामाजिक सुरक्षा भत्ता वृद्धिले करिब ४० अर्बको आर्थिक भार थपिने बताउँछन् । अहिले ३ हजार हुँदा करिब ६८ अर्ब खर्च हुने गरेको छ । 

सरकारको यो निर्देशनले अर्थका अधिकारी भने अलमलमा परेका  छन् । राष्ट्रिय योजना आयोगको मध्यकालिन खर्च संरचनाले १६ खर्ब ९७ अर्बको बजेट सिलिङ दिए पनि त्यो सिलिङअनुसार स्रोत व्यवस्थापन गर्न चुनौति देखिन्छ । अर्थ मन्त्रालयका अनुसार १६ अर्ब भन्दा केही माथिको बजेट तर्जुमा भइरहेको छ । अहिले बजेटको सिलिङ तयार भइरहेको छ ।

सरकारको तयारी अनुसार सामाजिक सुरक्षा र स्वास्थ्य क्षेत्रमा बजेट बढाउनुपर्ने अवस्था छ । प्रधानमन्त्री ओलीले चालु आयोजनालाई निरन्तरता दिँदै नयाँ आयोजना भने अघि नबढाउने उदघोष गरेका छन् । तर, अर्थ मन्त्रालयलाई चुनाव लक्षित बजेटको तर्जूमा गर्न निर्देशन दिएकाले अर्थका अधिकारीहरु भने अन्योलमा छन् । 

यस्तै, अर्थमन्त्रीका आर्थिक सल्लाहकार प्रकाश श्रेष्ठले जेठ १५ मा बजेट आएन भने पनि १६ गतेबाट के गर्ने भन्ने अवस्था नरहेको बताए । 

“कुनै परिस्थितिवश १५ गते बजेट आएन भने पनि हामीसँग समय छ, विगतको जस्तो असार मसान्तमा बजेट नआएर अन्यौलता हुने अवस्था आउँदैन,” उनले भने, “अरु सबै ऐन अध्यादेशबाट आएको छ भने आर्थिक ऐन र विनियोजन ऐन पनि अध्यादेशबाट आउन सक्छ । बजेट भनेको एउटा वक्तव्य मात्रै हो ।”

बजेटको प्राविधिक काम सकिँदैछ । आफ्नो टाइमलाइनअनुसार काम सकिन्छ । श्रेष्ठका अनुसार बजेटमार्फत के कार्यक्रम ल्याउने भन्ने निर्णय सरकारको हो । अहिले स्रोत आकलन गरेर बजेट तर्जुमा गर्ने कार्य भइरहेको उनले बताए । निर्धारित समयमै बजेट तयार हुने उनको जिकिर छ । 

सरकाले लोकप्रिय बजेट ल्याउने तयारी गरे पनि स्रोत भने सीमित छ । यो आर्थिक वर्षको बाँकी ५० दिनमा सरकारले १ खर्ब १० अर्ब भन्दाबढी राष्ट्र ऋण उठाउने तालिका सार्वजनिक गरेको छ । 

चालु आर्थिक वर्षमा २ खर्ब २५ अर्ब राष्ट्र ऋण उठाउने लक्ष्य लिएको सरकारले अपेक्षा अनुसार नै राष्ट्र ऋण उठाउने जिकिर गरेको छ । आगामी आर्थिक वर्षमा पनि यो आर्थिक वर्ष भन्दा धेरै माथि गएर राष्ट्र ऋण उठाउने अवस्था नरहने वित्तीय क्षेत्रका जानकारहरु बताउँछन् । 

वाह्य ऋण र अनुदानमा पनि आगामी आर्थिक वर्षमा ठूलो अपेक्षा गर्ने अवस्था नभएको अर्थविदहरु बताउँछन् । कोरोनाको प्रभाव रहिरहने हो भने आयातमा संकुचन आउने र नयाँ व्यापार व्यवसाय बन्द हुने हुँदा त्यसको प्रभाव राजश्वमा पर्छ । र, आन्तरिक स्रोतबाट समेत सरकाले ठूलो अपेक्षा राख्ने अवस्था देखिदैन । यस्तो अवस्थामा सरकारले लोकप्रिय बजेट ल्याउने प्रयत्न गर्दा भोलि अर्को समस्या आउन सक्छ । स्रोतको सिमितता भएकाले त्यसलाई आकलन गरेर बजेट तर्जुमा भएको अर्थमन्त्रीका आर्थिक सल्लाहकार श्रेष्ठको दाबी छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८  १५:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro