काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयावधि थपेसँगै थप कडाइ गरिने भएको छ । तर, जटिल समस्या परेकालाई काठमाडौं उपत्यकाबाट गृहजिल्ला जानका लागि सहजीकरण गरिने जनाइएको छ ।
समस्या परे गृहजिल्ला जानका लागि पनि सहजीकरण गरिने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । निषेधाज्ञाको अवधि लम्ब्याएर वैशाख २९ गतेसम्म पुर्याइएको छ ।
प्रशासनको निर्णयप्रति कालिकोटका भीमदत्त देवकोटा बेखबर छन् । गाउँ जाने प्रयास गर्न बाहिर निस्कनेबित्तिकै प्रहरीले उनलाई विनाकारण निस्केको भन्दै कोठामा फिर्ता पठाउँछ ।
३९ वर्षीय उनी ६ वर्षपहिले गाउँ छाडेर तीन छोरा–छोरीसहित काठमाडौं आएका थिए । बौद्ध, कुमारीगालमा दैनिक मजदुरी गरेर बस्ने उनले पाँचजनाको परिवार पाल्दै आएका छन् । निषेधाज्ञासँगै उनको रोजगारी गुमेको एक हप्ता भयो । ‘‘बालबच्चा सानै छन् । श्रीमतीलाई छोरा–छोरी हेर्दैमा ठिक्क छ । अब गत वर्षको जस्तै पाँच दिन हिँडेर भोकभोकै घर फर्कनुपर्ने अवस्था आउने प्रतीक्षामा छु,” भीमदत्तले विगत सुनाए ।
भीमदत्त अहिले दैनिक घर जान पाइन्छ कि भन्दै भौतारिन्छन् । “सरकारले एक–दुई साताका लागि मात्रै लकडाउन गरिदिए त हुन्थ्यो नि,” उनी भन्छन्, ‘‘तर, लम्ब्याउँदै लब्याउँदै कतिन्जेल बाहिर निस्किन पाइने होइन कुन्नि । धन्न, अहिलेसम्म जसोतसो गुजारा चलेकै छ ।”
निषेधाज्ञा अझै लम्बिने निश्चित भएको भन्दै उनी हिँडेर गाउँ जाने योजना बनाउँदै छन् । उनी भन्छन्, ‘‘हुनेखाने वर्गलाई बन्द भए पनि केही हुँदैन, उनीहरुले जसरी पनि खान्छन् । हामीले त बालबच्चा पढाउन भनी गाउँ छोडेर काठमाडौं आएका थियौँ । अहिले यो हाल भयो । हामीलाई सरकारले काम गर्न देओस्, नभए खाद्यन्नको व्यवस्था मिलाओस् । त्यो पनि सरकारले गर्न सक्दैन भने गाउँसम्म उद्धार गरेर पुर्याइदेओस् ।”
भीमदत्तसँगै काम गर्दै आएका जुम्लाका शैलेस जैसीलाई पनि भोकको चिन्ता छ । ‘‘निषेधाज्ञा जारी भएको दुई दिनपछि जागिर गुम्यो । अब दैनिकजसो छाक टार्न समस्या हुने भएको छ,” उनले भने, ‘‘हामी निषेधाज्ञामा स्वास्थ्य मापदण्ड पालना गरेर काम गर्छौँ । हामीलाई काम गर्न देऊ सरकार ।” निषेधाज्ञामा घरभित्रै बसेर कोरोनाबाट जोगिए पनि कमाइ नहुँदा भोकले मर्ने अवस्था आउने उनी बताउँछन् ।
गत वर्षको लकडाउनमा दुःख खेपेका ३२ वर्षीय शैलेशले यसपालि भने तीन छोराछोरीलाई निषेधाज्ञाको खबरसँगै गाउँ पठाए । लामो निषेधाज्ञा भए आफूहरु (दम्पती) हिँडेरै गाउँ पुग्ने उनको योजना छ । ‘‘पहिलेको लकडाउनले बिचल्ली बनायो । यसपालि यस्तो समस्या नआओस्,” शैलेसले भने ।
सम्बन्धित स्थानीय तहले अनिवार्य रुपले १० दिन क्वारेन्टिनमा राख्ने प्रतिबद्धतासहितको सिफारिसका आधारमा गन्तव्यस्थलमा जान दिइने प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजधानीमा निषेधाज्ञा हुनपूर्व दुई दिन घर जान समय दिएको थियो । काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली दुई दिनमा धेरै नागरिक गाउँ पुगिसकेको बताउँछन् । “अहिलेको काठमाडौं उपत्यकाको परिस्थितिमा थप कडाइ गर्नुपर्ने देखिएको छ । बाँकी यहीँ रहेका व्यक्तिलाई सहजीकरण गर्ने भन्ने कुरामा सचेत छौँ,” उनले भने ।
डेरामै बस्न अनुरोध गर्ने प्रशासनको पहिलो प्राथमिकता छ । अन्तिम परिस्थितिमा र समस्यै परेको खण्डमा गाउँसम्म पुग्न सहजीकरण गरिदिने प्रशासनले जनाएको छ ।