काठमाडाैं । निषेधाज्ञा नहुँदो हो त कलाकार जोडी एरिना ताम्राकार र आशा डंगोललाई भनिमण्डल स्थित द आर्ट वेयरहाउसमा कला पारखीलाई आफ्नो कलाबारे जानकारी दिइरहेको देख्न पाइन्थ्यो । ‘पेरलल जर्नी’ अर्थात ‘समानान्तर यात्रा’ शिर्षकमा उनीहरुले अप्रिल २३ (शुक्रबार) देखि मे ८ सम्मका लागि संयुक्त कला प्रदर्शनीको आयोजना गरेका थिए ।
तर, प्रदर्शनी सुरु भएको ६ दिनमै देशमा कोरोनाको दोस्रो लहर फैलिए पछि वैशाख १६ गतेदेखि उपत्यकालगायत देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरियो । त्यसपछि सरकारको अर्को सूचना नआउन्जेलसम्मका लागि ग्यालरीमा रहेका उनीहरु कला ग्यालरीको ढोका खुल्ने दिन कुरिरिरहेका छन् ।
यो प्रदर्शनी आशा र एरिनाको ‘आर्ट र जीवनको’ समानान्तर यात्रा हो । ललितकलामा स्नातकपछि सन् १९९४ देखि उनीहरुले सँगै ‘काष्ठमण्डप आर्टिस्ट ग्रुप’सँग आवद्ध भएर कलाको यात्रा सुरु गरेका थिए । कलाकार प्रशान्त श्रेष्ठको अगुवाईमा गठन यस समूहमा ललितकलामा पढेका र कलामै करियर बनाउने योजना बुनेका अन्य पाँच कलाकारहरु पनि आवद्ध छन् ।
काष्ठमण्डपमार्फत एरिना र आशाको आर्टको करिअर मात्रै सँगसँगै अघि बढेन उनीहरुको जीवनको यात्रा पनि सँगसँगै अघि बढ्न थाले । काष्ठमण्डपले नै नजिकिएका उनीहरुले अन्ततः सन् २००२ मा जीवनको यात्रा पनि समानान्तर रुपमा सुरु भयो ।
“आशा र म एउटै कलेज भए पनि एउटै ब्याचको भने थिएनौं । तर, काष्ठमण्डपसँग जोडिएपछि हामी नजिकियौं र दुबैको उद्देश्य कलामै विताउने सोच मिलेपछि हामीले विवाह गर्यौं ।”
प्रदर्शनीमा उनीहरुको सन् २००० देखि अहिलेसम्मको काम हेर्न सकिन्छ । जहाँ चित्रकला, मूर्तिकला, तामाको प्लेटमा उतारेको आर्ट, सेरामिक स्टोनमा कुदिएका आर्ट, कारपेटमा कुदिएका आर्ट, इन्स्टलेसन, मिक्स मिडिया गरि करिब सयभन्दा बढि आर्टहरु छन् ।
“यो हाम्रो करिहरको मात्रै नभई जीवनको पनि फ्ल्यासब्याक हो । यो २० वर्षको यात्रा यसरी कलामार्फत फर्किएर हेर्दा हाम्रो कलामा समयसँगै आएको परिवर्तनहरु र क्यानभासमा भिक्रिएका नयाँ नयाँ सोचहरु पनि नियाल्ने मौका पाएका छौं,” कलाकार आशा डंगोल बताउँछन् । आज ग्यालरीमा सजिएका आफ्ना पुराना कामहरु हेर्दा संघर्षका दिनहरु रिकल भएको उनको बुझाइ छ ।
प्रदर्शनीमा आशाको राष्ट्रिय अवार्ड जित्न सफल ‘गोल्डेन मास्क’ शिर्षकको कला पनि अवलोकन गर्न सकिन्छ । इन्स्टलेसन आर्टको माध्यमबाट उनले काठमाडौंको प्रदूषणलाई कलामार्फत चित्रण गर्न खोजेका छन् । भिडियोको ब्याकग्राउन्डमा कोलाहल, गाडिबाट आएको प्रदूषण, धुँवाधुँलो र व्यस्त सडक देखिन्छ । भने भिडियोमा कलाकार आशा स्वयं अक्सिजन लगाएर बसेका छन् ।
यो कला हेर्न अवलोकन कर्ताले पनि मास्क लगाएर हेर्छन् । कलाकार आशाले त्यो बेलाको प्रदूषित काठमाडौंलाई व्यांग्यात्म शैलीमा तयार पारेको यो आर्ट आज पनि उत्तिकै समय सान्दर्भिक देखिन्छ । किनभने आज कोरोनाका कारण अक्सिजनको अभावमा ज्यान गुमाउन परिरहेको छ ।
यसका साथै प्रदर्शनीको अर्को आकर्षणमा ‘वेयरयेबल आर्ट शो’का लागि तयार पारेका कलाहरु पनि हुन् । यसको शब्द बाटै थाहा हुन्छ कि यो पहिरिन मिल्नेगरि बनाएको आर्ट हुन्छ । जहाँ कलाकारहरुले बनाएका कलात्मक पहिरन लगाएर र्यापमा हिँडछन् । यो नेपाल लगायत विदेशका धेरै ठाँउमा भएका यस्ता शो मा उनीहरुले आफ्नो कला प्रस्तुत गरिसकेका छन् ।
एरिना र आशाको पेशा एउटै भए पनि उनीहरुले गर्ने कामको विषय र प्रस्तुतीमा भने फरक पाइन्छ । जहाँ आशा समाजलाई टपक्क टिपेर क्यानभासमा जिवन्त उतार्ने कलाकार हुन् । एरिना भने पछिल्लो लामो समयदेखि तेस्रो आँखा शिर्षकमा धर्म, आध्यात्म र आत्मा सँग सम्बन्धित अझ भन्नुपर्दा दार्शनिक ज्ञानलाई महिलाको नजरबाट प्रस्तुत गर्छिन् । आशाको कलाको अर्को विशेषता भनेको उनको कलामा प्रकृति र मानिसको सम्बन्ध प्रस्ट झल्किन्छ । उनी मानव शरीरलाई जनावरको टाउकोसँग जोडेर चित्र कोर्छन् ।
प्रदर्शनीमा आएका कतिले आफूहरुको यो लामो यात्रालाई नजिकबाट नियाल्ने मौका मिलेको एरिना बताउँछिन्, “कति अवलोकनकर्ताहरुले मलाई दिदी तपाईंहरुले आज पाउनु भएको सफलता एकदुई दिनमै पाउनु भएको होइन रहेछ है । कति संघषपूर्ण लामो यात्रा तय गरिसक्नु भएछ, खुशी लाग्यो पुरानादेखि अहिलेसम्मको कामहरु हेर्न पाउँदा भन्नु भएको छ ।”
जति गाह्रो साह्रो भए पनि हामी कलामै जीवन बिताउने सोचसहित सुरुआत गरेको भएकाले हामीले कहिल्यै पनि गाह्रो महसुुस गरेनौं । प्रदर्शनीमा धेरैजसो उनीहरुले सिरिजमा काम गरेका कलाहरु छन् । जुन पहिले प्रदर्शन भएर कति बिक्री भैसके भने कति हुन बाँकी पनि छन् । अब निषेधाज्ञा कहिले खुल्ला र फेरि ग्यालरीमा सजिएका आफ्ना कला दर्शकलाई देखाउन पाउँला भन्ने व्यग्रता एरिनालाई छ ।