काठमाडौँ । नेपालमा ‘मोर्डन नेपाली आर्ट’ भित्र्याउने दिग्गज कलाकारहरूको नाममा शशि कुमार शाह पनि पर्छन् । उनी ‘एसकेआइबी–७१’ नामक आर्टिस्ट समूहका सदस्यमध्येका एक हुन् ।
नेपालको पौराणिक प्राचीन संस्कृतिलाई क्यानभासमा उतार्ने पहिलो कलाकारमा दिग्गज कलाकार बत्स गोपाल वैद्यको नाम आउँछ । ‘वैद्य’ (परम्परागत चिकित्सक) परिवारमा जन्मिएका, हुर्किएका उनका सुरुवाती कामहरूमा ‘यन्त्र’ र ‘गणेशा’ देख्न सकिन्छ । उनका चित्रकलाले अवलोकनकर्तालाई काठमाडौँका पुराना पौराणिक गल्लीहरूमा हिँडिरहेको महसुस गराउँछ ।
यी दिग्गज कलाकार लगायत नेपालका अन्य दिग्गज कलाकार र सिर्जना कलेज अफ फाइन आर्टसका शिक्षक/शिक्षिकाको कला प्रदर्शनी अहिले बबरमहलस्थित नेपाल आर्ट काउन्सिलको माथिल्लो तल्लामा हेर्न सकिन्छ ।
जनावरमध्ये सुन्दर मानिने घोडालाई सुन्दरताका साथै परिवर्तित समयको प्रतिकको रूपमा लिने शाहले जारी प्रदर्शनीमा पनि यीनै प्रतिकहरूललाई समावेश गरेका छन् ।
‘एक देश सात प्रदेश’ र ‘द इटरनल हर्स’ शीर्षकमा कलर टेक्सचरसँग खेलेर सुन्दर घोडालाई क्यानभासमा उतारेका छन् । उनी सिर्जना कलेज अफ फाइन आर्ट्सका संस्थापक प्रधानाध्यापक हुन् ।
यस्तै सिर्जन कलेजका वर्तमान प्रधानाध्यापक रहेका कलाकार/कला लेखक मदन चित्रकारले पनि कलर टेक्सचरसँग खेलेर ड्रयागनलाई क्यानभासमा उतारेका छन् । मिसन, इट्स प्ले टाइम र द फ्यामिली शिर्षकमा उनले कोरेका तीनवटै पेन्टिङले शर्षकमा भने जस्तै बोलेका छन् ।
सिर्जना कलेज अफ फाइन आर्टस र सिर्जना कन्टेम्पोररी आर्ट ग्यालरीको सहकार्यमा अप्रिल २३ देखि ‘सिर्जना–२०२१ः अ कलेक्टिभ आर्ट सो’ मा कला प्रदर्शनी सुरु भएको हो । प्रदर्शनीमा ३० जना सिनीयर कलाकारहरूको चित्रकला, मूतिर्ककला, फोटोग्राफी, डिजिटल आर्ट र इन्स्टलेसन आर्ट डिजाइनहरू अवलोकन गर्न सकिन्छ ।
जारी प्रदर्शनीमा पौराणिक मठमन्दिरदेखि, धर्म, जात्रा लगायत मानवता, पारिवारिक माया, सामाजिक सदभाव, प्रकृतिलाई एकैथलोमा नियाल्न सकिन्छ ।
कलाकार सौरगंगा दर्शनधारीको इन्स्टलेसन आर्ट माध्यमको प्रयोगमार्फत नेपालको मुख्य खाद्यन बाली धानको महत्वलाई कला मार्फत दर्साउन खोजेका छन् । ग्यालरीका प्रवेशद्धार छिर्नेवित्तिकै भुईंमा धानको भारी छेउमा भएको सानो भकारीमा छिर्ने तरखरमा देख्न सकिन्छ । यो अन्नलाई सुनसँग तुलना गर्दै कलाकार दर्शनधारीले यसको शिर्षक ‘ग्रेनस अफ गोल्ड’ राखेका छन् ।