site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वर्ष २०७७ : सेयर बजारको लागि ऐतिहासिक 

काठमाडौं । वि.सं. २०७७ साल कोरोना प्रभावले अर्थतन्त्र ‘डिप्रेस’ हुँदा पनि नेपाली धितोपत्र बजारको लागि भने ऐतिहासिक रह्यो । २०७६ चैत ११ गतेबाट भएको देशव्यापी लकडाउने गर्दा सेयर बजार बन्द भयो । कोभिड–१९ को प्रभाव ‘पिक’मा पुग्दै गर्दा विश्वभरका सेयर बजार डाउन भयो । उक्त अवधिमा नेपालको सेयर बजार भने बन्द भयो ।

लकडाउनकै बीचमा वैशाखको अन्तिममा सर्किट ब्रेकको नियममा परिमार्जन गर्दै  दैनिक दुई घण्टा कारोबार खुलाइएको थियो । तर, लगानीकर्ताले कारोबार गर्न असहज भएको बताए भने बजार पनि ओरालो लागेपछि सेयर बजार पुनः बन्द भयो ।

लकडाउनकै बीचमा सेयर अनलाइन कारोबार प्रणालीमा केही सुधार भएको र सेयर कारोबारको रकम भुक्तानीको लागि कनेक्ट आईपीएससँग जोड्यो । जसले गर्दा लगानीकर्ताले घरमै बसेर कारोबार गर्न सक्ने व्यवस्था भएसँगै खुलेको सेयर बजार त्यसपछि लगातार बढेर अहिले ऐतिहासिक उचाइमा पुगेको छ ।

२०७६ को अन्तिम कारोबार दिन चैत १० गते १२५१.४६ अंकमा बन्न भएको नेप्से २०७७ को अन्तिम कारोबार दिन चैत ३१ गते मंगलबार २७१४.७९ अंकमा बन्द भएको छ ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना २०७७ सालमा सेयर बजारले १५ वटा नयाँ रेकर्ड बनाएको दाबी गर्छन् । धितोपत्र बजारको विकास र लगानीतर्फ पाँचवटा, धितोपत्रको प्राथमिक बजारमा पाँचवटा र र दोस्रो बजारमा पनि पाँचवटा नयाँ रेकर्ड कायम भएको उनको दाबी छ ।

२०७७ साल कोभिड–१९ ले अर्थतन्त्रमा परेको प्रभावको बाबजुद् पनि उल्लेख्य रुपमा विस्तार भएको उनले बताए । “२०७७ सालमा नेपाली धितोपत्र बजारको अवस्था असाध्यै राम्रो रह्यो । धितोपत्र बजारको विकास यति होला र अहिलेको अवस्थामा पुग्ला भनेर सोचेको पनि थिएन, नसोचेको उपलब्धि हासिल भएको छ,” उनले भने, “यसलाई आगामी दिनमा कायम राख्ने र लगानीकताको ‘कन्फिडेन्ट’ घट्न नदिने र र बजारलाई थप अगाडि बढाउने चाहना हो ।”

उनले भनेजस्तै एक वर्षमा बजार परिसूचक शतप्रतिशतभन्दा माथिले वृद्धि भएर वर्षको अन्तिम दिन पहिलोपटक २७०० अंकको विन्दु पार गरेर बन्द भयो । बजार परिसूचक सँगै कारोबार रकममा पनि यो वर्ष बजारले इतिहास रच्यो ।

कोभिड–१९ ले सुरुवाती चरणमा विश्वका सेयर बजार  वियरिसन हुँदा नेपालको बजार बन्द भयो । तर, जब लकडाउनले गर्दा विश्वका ठूला अर्थतन्त्र भएको मुलुकमा आर्थिक गतिविधि ठप्प हुँदै गयो, त्यसपछि देशको बैंकिङ सिस्टममा तरलता बढ्यो । केन्द्रीय बैंकले कोभिडबाट प्रभावित अर्थन्त्रको लागि मौद्रिक प्याकेज ल्यायो । जसले गर्दा सेयर बजारमा सहज रुपमा पुँजीको उपलब्धता पनि बढ्यो र सेयर बजार पनि क्रमशः बढ्दै गयो । अन्य मुलुकको सेयर बजार ‘बाउन्स ब्याक’ हुन लागेपछि नेपालको सेयर बजार पनि तीन महिना बन्द भएर असारको  मध्यबाट खुल्यो ।

लकडाउले गर्दा कर्जा लगानी गर्न नपाएर बैंकहरुमा थुप्रिएको तरलता तथा राष्ट्र बैंकले मौद्रिक उपकरणमार्फल ल्याएको सहुलियत र घटेको कर्जाको ब्याजदरले गर्दा अर्थतन्त्र प्रतिकूल हुँदा पनि सेयर बजार भने लगातार बढ्यो ।

लकडाउन गर्दा सेयर बजार तीन महिनाभन्दा बढी समय बन्द भएर असार १५ मा खुल्दा ११८८.७० अंकमा खुलेको थियो । त्यसको पाँच महिना पूरा नहुँदै २०७७ मंसिर २० गते नेप्सेले ५३ महिना पुरानो, २०७३ असार १२ गतेको १८८१ अंकको रेकर्ड तोड्दै अगाडि बढ्यो । त्यसपछि एकपछि अर्को नयाँ रेकर्ड बनाउँदै अगाडि बढ्ने क्रममा चैत मसान्तमा आउँदा नेप्सेले २७०० अंकको विन्दु पार गर्‍यो भने दैनिक २/३ अर्बमा सीमित हुने कारोबार रकम १० अर्ब नाघ्यो । सातामा औसत दैनिक ९ अर्बसम्मको कारोबार भयो ।

बजार परिसूचक र कारोबार रकमामा मात्रै विस्तार नभएर अहिले सेयर बजारका सक्रिय लगानीकर्ता नै ६ लाख नाघेको बोर्ड अध्यक्ष ढुंगाना बताउँछन् । यस्तै, १८ लाख रहेको डिम्याट खाता खोल्नेको संख्या ३४ लाख नाघेको छ ।

२०७६ फागुनमा नेपाल पुनर्बिमा कम्पनीले आईपीओ निष्कासन गर्दा चार लाखभन्दा तल रहेका आईपीओमा लगानी गर्ने सर्वसाधारणको संख्या ज्योति लाइफ इन्स्योरेन्समा १८ लाख नाघ्यो ।

लकडाउनका समयमा घरमै बसेर सेयर कारोबार गर्न सकिने  अवस्था आएको र अन्य आर्थिक गतिविधि नभएको र नागरिकलाई लकडाउने गर्दा बाहिर हिँड्डुल गर्न नपाउने हुँदा सेयर बजारमा एक्कासि क्रेज बढेको हो ।

लकडाउनको मुुखैमा साधारण सेयर जारी गरेर लकडाउनपछि बजार खुल्दा दोस्रो बजारमा कारोबार खुलेको नेपाल पुनर्बिमा कम्पनीको सेयर मूल्य एक्कासि उचालिँदा युवा पुस्ताको ध्यान सेयर बजारमा गएको हो । आवेदन दिएजति सबै लगानीकर्ताले न्यूनतम ४० कित्ता सेयर पाएको र सेयर मूल्य पनि माथि जाँदा सर्वसाधारण लगानीकर्ताले छोटो अवधिमै राम्रो मुनाफा पाएपछि आईपीओमा लगानी गर्दा राम्रो फाइदा हुने देखेर नै प्राथमिक बजारमा युवा पुस्ताको आकर्षण बढेको हो ।

त्यसपछि हालसम्मकै ठुलो ८ अर्ब रुपैयाँ बराबरको साधारण सेयर जारी गरेको नेपाल इन्फ्रास्ट्रचर बैंकले सेयर बजारमा थप आकर्षण बढाएको हो । बैंैंकमा पनि आवेदन दिने सबै आवेदकले न्यूनतम ५० कित्ता सेयर पाएका छन् भने कम्पनीको सेयर मूल्य दोस्रो बजारमा कारोबार सुरु भएको केही समयमा नै ७०० नाघेको थियो ।

यसरी प्राथमिक बजारले युवा पुस्तालाई सेयर बजारमा गराएको आकर्षले गर्दा युवाहरु विस्तारै त्यसैको रसले गर्दा दोस्रो बजारमा प्रवेश गरिरहेका छन् । जसले गर्दा अहिले धितोपत्र बजारमा गुल्जार देखिएको छ ।

बैंकिङ प्रणालीमा तरलता कम हुँदै गए पनि आर्थिक वर्षको अन्त्यतिर  सरकाले बजेट खर्च बढाउँदा बैंकिङ प्रणालीमा तरलता बढ्ने अपेक्षामा बैंकहरुले निक्षेपको ब्याजदर बढाएका छैनन् । यसले यो आर्थिक वर्षको अन्तिम त्रैमास र अर्को आर्थिक वर्षको प्रथम त्रैमाससम्म पनि ब्याजदर नबढ्ने संकेत देखिएको छ ।

अर्कोतर्फ, कोभिड–१९ पछि  विस्तारै अर्थतन्त्र लयमा आउँदै गर्दा  बैंकहरुको कर्जा रिकभरी राम्रो रहेको र व्यवसाय विस्तार राम्रो हुनुको साथै गत वर्ष प्रोभिजन राइट ब्याक गर्न सक्ने सम्भावनाले  गर्दा बजारमा ठूलो हिस्सा रहेको बैंकहरुका लाभांश क्षमता बढ्ने अनुमान बैंकर्सको छ । जसले गर्दा तुलनात्मक रुपमा कम बढेको  बैंकिङ क्षेत्रका कम्पनीको सेयर मूल्य आगामी दिनमा अझै बढ्न सक्ने अनुमान विश्लेषकहरुको छ ।

एक वर्षमा कुन उपसूचक कतिले बढ्यो ?
२०७७ सालमा बैंक तथा विकास बैंकको तुलनामा लघुवित्त, बिमा र उत्पादन र अन्य क्षेत्रका कम्पनी लगानीकर्ताको रोजाइमा परेको देखिन्छ । बैंकिङ र विकास बैंक उपसूचकबाहेक अन्य सबै उपसूचक शतप्रतिशतभन्दा माथिले वृद्धि भएका छन् ।

२०७६ चैत १० गते ७६३.७२ अंकमा बन्द भएको व्यापार उपसूचक २०७७ चैत मसान्तमा ४१५.८८ प्रतिशतले बढेर ३९३९.९२ अंकमा बन्द भयो । यस्तै, अन्य उपसूचक ६७९.९४ अंकबाट २०१.३४ प्रतिशतले वृद्धि हुँदा २०४८.९४ अंकमा बन्द भयो ।

लघुवित्त उपसूचक २०५०.३० अंकबाट १६१.४४ प्रतिशतले वृद्धि भएर ५३६०.२९ अंकमा बन्द भयो । यस्तै, हाइड्रोपावर उपसूचक  १७९.०२ प्रतिशत, निर्जीवन बिमा उपसूचक १५९.११ प्रतिशत, जीवन बिमा उपसूचक १५५.४३ प्रतिशत, होटेल तथा पर्यटन उपसूचक १५५.०८ प्रतिशत, उत्पादनमूलक उपसूचक १२९.४१ प्रतिशत, वित्त कम्पनी उपसूचक १०१.५१ प्रतिशत, बैंकिङ उपसूचक ७२.०६ प्रतिशत र विकास बैंक उपसूचक सबैभन्दा कम ६८.९२ प्रतिशतले बढेको छ ।

एक वर्षमा बजार परिसूचक नेप्से समग्रमा ११६.९३ प्रतिशतले वृद्धि भएको छ । यस्तै, ‘क’ वर्गका कम्पनीहरुलाई मापन गर्ने सेन्सिटिभ परिसूचक ७९.४०  प्रतिशतले बढेको छ । सेन्सिटिभको तुलनामा नेप्से वृद्धिदर उच्च रहेकोले बजारमा नयाँ लगानीकर्ता प्रवेश गर्दा वित्तीय अवस्था राम्रो भएको र संस्थागत सुशासन राम्रो भएको कम्पनीभन्दा संस्थागत सुशासन कमजोर भएका र तुलनात्मक रुपमा कमजोर कम्पनीमा लगानीकर्ताको ध्यान गएको देखिन्छ ।

धितोपत्र सूचीकरण विनियमावली, २०५३ मा व्यवस्था भएको सर्तहरु (चुक्ता पुँजी कम्तीमा २ करोड भएको, साधारण सेयर धनीहरुको संख्या १००० भएको, कम्तीमा तीन वर्षदेखि लगातार मुनाफामा रहेको, सेयरको किताबी मूल्य चुक्ता मूल्यभन्दा कम नभएको र आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र उक्त आ.व.को कारोबार विवरण तथा आय–व्यय विवरण पेस गरेको) पूरा गर्ने कम्पनीलाई नेप्सेले ‘क’ वर्गमा वर्गीकृत गर्दै आएको छ । ‘क’ वर्गमा रहेका कम्पनीहरुलाई मात्र समेटेर गणना गरिने परिसूचक सेन्सेटिभ परिसूचक हो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, वैशाख १, २०७८  १६:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro