
काठमाडौं । ऐतिहासिक इन्द्रजात्राको अवसरमा हल्चोक क्षेत्रका १० देवगणहरूको सहभागितामा १२ वर्षमा एकपटक मात्र हुने भव्य जात्रा यसपटक केलटोल परिसरमा भव्य रूपमा सम्पन्न गरिएको छ ।
यस विशेष अवसरमा मछिन्द्र क्लबको प्रमुख आयोजनामा प्रदिप्त पुस्तकालय र केलटोल श्री नारेश्वर दवली व्यवस्थापन समितिको संयुक्त सहकार्यमा जात्रालाई सफल बनाएको छ । स्थानीयको सहभागिता, सांस्कृतिक झाँकी, बाजागाजाको धुन र आस्थाले भरिएको वातावरणले जात्रालाई झनै ऐतिहासिक बनाएको छ ।
जात्रामा श्री चण्डी, श्री कुमारी, श्री हल्चोक भैरव, श्री गंगा, श्री महादेव, श्री पार्वती, श्री आकाश देवी, श्री श्री बाराही, श्री महाकाली र श्री दक्षिणकाली गरी जम्मा १० देवगणहरूको भव्य नाचगान प्रस्तुत गरिएको थियो । देवगणहरूको स्वागतमा वस काप विच्छ्याईं, सुकुन्दा, धुप, दीप, लावा–अबिर र फूलहरूसँग भव्य स्वागत गरिएको थियो ।
नाच प्रदर्शनपश्चात देवगणहरूलाई विशेष पूजाआजा गर्दै टोलबासी तथा श्रद्धालु भक्तजनहरूले दर्शन गरेका थिए । समेभजी प्रसाद वितरण, आर्थिक सहयोग संकलन र पञ्चबली अर्पणपछि देवगणहरूलाई पुनः बाजागाजासहित निवासतर्फ बिदाइ गरिएको थियो ।
मछिन्द्र क्लबले यस्ता परम्परागत सांस्कृतिक पर्वहरूको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर क्रियाशील रहँदै समुदायबीच एकता, आस्था र संस्कृतिप्रतिको सम्मानलाई अझ मजबुत बनाउँदै आएको छ । क्लबले आगामी दिनहरूमा पनि यस्तै सामाजिक र सांस्कृतिक कार्यक्रममा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता जनाएको छ ।