काठमाडौं । कमलपोखरीलाई सुन्दर बनाउने नाममा काठमाडौं महानगरले जथाभावी रूपमा कंक्रिटको प्रयोग गर्न थालेको भन्दै स्थानीयसहित नागरिक अगुवाले निरन्तर विरोध गरे । विरोधका कारण पोखरी पुनःनिर्माणको कार्यमा अवरोध हुँदै आएको थियो । कमलपोखरीमा ‘कंक्रिटको फूल फुलाउन खोजिएको’ भन्दै नागरिक अभियन्ता, संरक्षणकर्मी र स्थानीयले महानगरको विरोधमा उत्रिएका थिए । नागरिक भयिन्ताहरूले कंक्रिटबाट बनेका संरचनामाथि घन बजारेका थिए । बृहत् नागरिक आन्दोलनले त माटोको टीका लगाएर विरोध प्रदर्शन नै गरेको थियो ।
तर, विरोधको पर्वाह नगरी महानगरले पोखरी निर्माणको कार्य अघि बढाइरहेको थियो ।
पानी नभएपछि पछिल्लो समय कमलपोखरी घाँसे मैदानमा परिणत भएको थियो । तर, मेलम्चीको पानी काठमाडौंमा झरेसँगै सुकेको कमलपोखरी पुनः जीवित हुने आशा पलाएको छ । महानगरले अहिले मेलम्चीको ‘वासिङ’ पानीलाई पोखरीमा हालिरहेको छ । महानगरले मेलम्चीको पानी हालेर कमलपोखरी ब्युँताउने तयारी गरेको छ ।
काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यको महत्वकांक्षी योजनामध्ये एक योजना कमलपोखरी पनि हो । महानगरले पुनःनिर्माणको डिजाइनअनुसार कमलपोखरी ब्यूँताएरै छाड्ने जनाएको छ । विरोधकै कारण कमलपोखरी पुनःनिर्माण गरिसक्नुपर्ने मिति सकिसकेको छ । महानगरले २०७६ असार ६ गते जय धनन्जय र कँडेल जेभीसँग ठेक्का सम्झौता गरेको थियो । उक्त ठेक्का सम्झौताबमोजिम २०७७ असार मसान्तसम्म निर्माण कार्य सकाइसक्नुपर्ने थियो । तर, विरोधले पुनःनिर्माणको काम अहिलेसम्म लम्बिएको महानगरको दाबी छ ।
अहिले महानगरले हटाउनुपर्ने संरचना हटाएर पोखरी वरिपरिका संरचना निर्माण गरी पानी भर्ने काम गरिरहेको छ ।
पोखरीमा मेलम्चीको वासिङ पानी भरिदै
काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलकाअनुसार चैत २० गतेदेखि मेलम्चीको ‘वासिङ’ पानी पोखरीमा झार्न सुरु गरिएको छ । ‘‘दुई करोड ५० लाख लिटर पानी भरिदैछ । अब साढे दुई करोड लिटर पानी नपुगेसम्म पोखरीमा पानी छोडिनेछ । छिट्टै कमलपोखरीले डिजाइनअनुसारको पुरानो स्वरूप पाउँनेछ,” उनले भने, ‘‘७० प्रतिशत काम सकिएको छ । यहाँ प्राकृतिक र बाहिरी गरी दुई प्रकारले पानी भरण गरिनेछ ।”
‘पोखरीमा पानी भर्नु सकारात्मक’
कमलपोखरी स्पोर्टस् क्लबका अध्यक्ष भिमसेन मैनाली पोखरीमा पानी भर्ने काम सकारात्मक रहेको बताउँछन् । ‘‘कमलपोखरी महानगरले ब्युँताउँदै छ । यसमा हामी सकारात्मक छौँ,” उनले भने, ‘‘हामीले जलाधार क्षेत्रमा कंक्रिटको प्रयोग नगर्न भन्दै विरोध गर्याैं । अहिले महानगरले राम्रो काम गर्दैछ । अब चाँही महानगरले कमलपोखरी ब्युँताउला भन्ने आशा पलाएको छ ।”
स्थानीय सुशान वैद्य सुरुमै महानगरलाई पानी नसुकाउन भन्दै आफूहरूले आग्रह गरेको बताउँछन् । उनी महानगरले पहिले स्थानीयको मागलाई बेवास्ता गर्दै पानी सुकाएको बताउँछन् । ‘‘पोखरीको जलाधार क्षेत्र नष्ट हुँदै माटो चिराचिरा पर्दै गएको थियो । पछि चिराचिरा परेको माटोमा घाँस उम्रिएर कमलपोखरी घाँसे मैदान जस्तै भएको थियो । अहिले महानगरले पानी भर्न सुरु गरेछ, खुसी लाग्यो,” उनले भने, ‘‘पोखरीमा पानी भइरह्यो भने पोखरीको अस्तित्व रहन्छ । अब कमलपोखरीको जलाधार क्षेत्र जोगिन्छ ।”
तर, कमलपोखरीको जलाधार क्षेत्रमा प्रयोग गरिएको कंक्रिटको र पोखरीभित्रको दलदल माटोमा चलाएको डोजरको विरोध भने जारी नै रहेको उनले बताए ।
व्यक्तिगत र राजनीतिक स्वार्थले विकास निर्माणमा अवरोध भयो : मेयर शाक्य
काठमाडौं महानगरपालिकाका मेयर शाक्य स्थानीय सरोकारवाला सबैको छलफलमा कमलपोखरीको पुनःनिर्माण अगाडि बढाएको दाबी गर्दै आएका छन् । अभियन्ताहरूको अनावश्यक विरोधले सम्पदा पुनःनिर्माणमा ढिलाइ भएको उनको दाबी छ । कमलपोखरीका स्थानीयले विरोध नगरेर बाहिरका मानिसले मात्रै विरोध गर्ने गरेको उनको जिकिर छ ।
व्यक्तिगत र राजनीतिक स्वार्थले विकास निर्माणका काममा अवरोध हुँदै आएको शाक्य बताउँछन् । विकास निर्माणका काममा हुने गरेको अवरोधले राज्यलाई करोडौंको घाटा भएको उनले बताए ।
महानगरले यही चैत मसान्तसम्म कमलपोखरीको सबै काम सकाउनेगरी काम गरिरहेको जनाएको छ । करिब २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको कमलपोखरी पुनः निर्माणका लागि ६ करोड ३६ लाख बराबरको बजेट छुट्याइएको छ ।