site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारी कोषमा ३ खर्ब थुप्रियो– वैशाखबाट निक्षेपको ब्याजदर बढ्छ 

काठमाडौं । बजेट खर्च नहुँदा चैत मसान्त नजिकएसँगै बैंकहरुलाई तरलता व्यवस्थापनमा सकस पर्ने देखिएको छ ।

चैत २० गत शुक्रबार ५४ अर्ब तरलता रहेको बैंकिङ प्रणालीमा आइतबार ४४ अर्ब हाराहारीमा तरलता रहेको छ । 

बैंकिङ प्रणालीमा तरलता घट्न लागेसँगै अन्तर बैंक ब्याजदर पनि बढ्न लागेको छ । गतसाता ०.४३ प्रतिशतसम्म घटेको अन्तर बैंक ब्याजदर गत शुक्रबार नै १.१९ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकका प्रवक्ता  देवकुमार ढकालले जानकारी गराए ।

बैंकहरुमा निक्षेपको तुलनामा कर्जा विस्तार धेरै नै उच्च देखिएको छ । 

यसैसाता नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनलाई करिब साढे १५ अर्ब नेपाली रुपैयाँ (९ अर्ब ६३ करोड ६४ लाख भारु)  भुक्तानी गर्न पत्राचार गरेको छ । 

साथै चैत मसान्तमा ठूलो मात्रामा प्रणालीबाट राजश्वको रुपमा सरकारी कोषमा पैसा जाने गर्छ । यस्तै घटेको ब्याजदरमा चालु आर्थिक वर्षको सुरुवातबाट नै  ठुलो मात्रामा राष्ट्र ऋण उठाएको छ । 

तर बजेट खर्च नहुँदा सरकारी ढुकुटीमा ३ खर्ब भन्दा बढी पैसा थुप्रिएको छ । यसले बैंकहरुलाई चैत मसान्तमा तरलता व्यवस्थापन गर्न चुनौती हुने अवस्था देखिएको हो ।

तर, चैत मसान्तमा सरकारले भुक्तानी गनुपर्ने परियोजनामा भुक्तानी गरेर बजेट खर्च बढाउने हो भने बैंकहरुलाई ठूलो समस्या नहुन सक्छ ।

बैंकिङ प्रणालीमा कर्जाको माग बढिरहेको र चैत मसान्तमा प्रणालीबाट राजश्वको रुपमा सरकारी कोषमा रकम जाने भएकोले चैत मसान्तमा तरलता व्यवस्थापन गर्न केही सकस पर्ने अवस्था देखिएको नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल बताउँछन् । 
“आर्थिक गतिविधि विस्तार हुँदा कर्जाको माग उच्च रहेको छ, तर सरकारले बजेट खर्च गर्न नसक्दा निक्षेप अपेक्षाकृत रुपमा बढेको छैन,” बैंकर्स दाहालले बाह्रखरीसँग भने, “अहिले नै बैंकिङ प्रणालीमा तरलता घट्दो छ, अबको एक सातामा बैंकिङ प्रणालीबाट ५० अर्ब जति सरकारको कोषमा जान सक्छ ।”

नेपाल राष्ट्र सहायक प्रवक्ता नारायणप्रसाद पोख्रेल भने बैंकिङ प्रणलीमा केही तरलता घट्दो क्रममा देखिए पनि तरलता टाइट हुने अवस्था नआउने बताउँछन् । 

चैत मसान्तमा सरकारको बजेट खर्च पनि केही बढ्न सक्ने उनले बताए । यद्यपी राजश्वको रुपमा प्रणालीबाट रकम बाहिरिने पनि आवश्यक परेको खण्डमा राष्ट्र बैंकले मौद्रिक औजार प्रयोग गरेर भए पनि प्रणालीमा तरलता अभाव हुन नदिने उनले बताए । 
नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनमा रकम भुक्तानीको लागि पठाएको पत्र राष्ट्र बैंकमा आइनसकेको तर आएमा भुक्तानी गर्नुपर्ने भएकोले त्यसले गर्दा पनि तरलता केही प्रभाव पर्ने उनको भनाइ छ । 

स्रोतका अनुसार यहि चैत २६ गते करिब ९ अर्ब  ६४ करोड भारु भुक्तानीको लागि आयल निगमले पत्र काटिसकेको छ ।

चैत मसान्त नजिकिँदै गर्दा बैंकिङ प्रणालीमा निक्षेप पनि बढेको देखिन्छ । तरसोही अनुसार कर्जा पनि बढिरहेकोले बढेको त्यसले तरलता व्यवस्थापनमा खासै सपोर्ट गर्ने अवस्था देखिँदैन । 

चैत  १४ गते  वाणिज्य बैंकहरुको कुल निक्षेप  ३८ खर्ब ५० अर्ब रहेकोमा चैत २१ गते आउँदा ३८ खर्ब ९० अर्ब पुगेको छ । 
सोही अवधिमा बैंकहरुको कर्जा लगानी  पनि ३४ खर्ब  ६२ अर्बबाट बढेर ३५ खर्ब  १ अर्ब पुगेको छ । 

११ बैंकको सीसीडी ८० प्रतिशत माथि, वैशाखबाट निक्षेपका ब्याजदर बढ्ने  

चैतबाट नै निक्षेपमा सामान्य ब्याजदर बढाएका बैंकहरुले वैशाखमा पनि थप ब्याजदर बढाउने अवस्था देखिएको छ ।

बैंकिङ क्षेत्रको औसत कर्जा स्रोत परिचालन अनुपात (सीसीडी रेसियो ७८ प्रतिशत नाघेको छ । 

यता २७ वाणिज्य बैंकमध्ये ११ वटा वाणिज्य बैंकहरुको सीसीडी रेसियो ८० प्रतिशत नाघेको नेपाल राष्ट्र बैंक सहायक प्रवक्ता नारायणप्रसाद पोख्रेल बताउँछन् । केही बैंकको सीसीडी रेसियो ८५ प्रतिशतको नजिक पुगेको छ  । 

बैंकिङ प्रणालीमा ‘एक्सिस’ तरलता नै नभएर निक्षेपकर्ताले बैंकबाट पैसा झिक्नै नपाउने अवस्था छैन र राष्ट्र बैंकले हुन पनि दिँदैन तर बैंकहरुलाई व्यवसाय विस्तार गर्न भने निक्षेप बढाउनुपर्ने अवस्था देखिएको उनले बताए । 

“कर्जा लगानी गर्न स्रोत नभएका बैंकहरुले व्यवसाय विस्तार गर्न निक्षेप बढाउनुपर्‍यो त्यसको लागि वैशाखबाट निक्षेपको ब्याजदर केही बढ्न सक्छ,” पोख्रेलले बाह्रखरीसँग भने ।  

बैंकिङ प्रणालीबाट तरलता बाहिरिने तर निक्षेप बढ्न नसक्दा वैशाखबाट बैंकहरुले निक्षेपको ब्याजर बढाउने अवस्था आएको बैंकर्स संघका अध्यक्ष दाहाल बताउँछन् । 

“अर्थ मन्त्रालयलाई चैत मसान्तमा बजेट खर्च बढाउनु भनेका छौं, आशा छ बढाउनुहुन्छ, यदि बजेट खर्ब नबढ्ने हो भने, मसान्तमा तरलता व्यवस्थापन गर्न सकस पर्छ,” उनले बाह्रखरीसँग भने, “सरकारसँग अहिले पनि साढे ३ खर्ब पैसा छ, खर्च बढ्ने हो भने समस्या छैन, खर्च नहुने हो भने  वैशाखबाट बैंकहरु आधादेखि एक प्रतिशसम्म ब्याजदर बढाउँछन् ।” 

वैशाख मसान्तबाट सरकारी कोषबाट पैसा निकास हुन थाल्छ त्यसपछि तरलतामा समस्या हुँदैन त्यसैले अहिले धेरै ब्याजदर बढिहाल्ने अवस्था भने हैन । 

अर्थमन्त्रीका आर्थिक सल्लाहकारसमेत रहेको राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाश श्रेष्ठ चैत मसान्तमा नै ठूलो बजेट खर्च हुने अवस्था नभएको बताउँछन् । 

चैतमा नै ठूलो मात्रामा बजेट खर्च हुने अवस्था देखिँदैन यद्यपी अब बजेट खर्च बढ्छ नै ।  गतसाता मात्रै पनि १० अर्ब वित्तीय व्यवस्थातर्फको पैसा निकासा भएको उनले बताए । 

हाल संघीय सरकारको कोषमा ९० अर्बसहित सरकारी ढुकुटीमा ३ खर्ब भन्दा बढी पैसा रहेको उनले बताए । 

 


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, चैत २२, २०७७  १८:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro