काठमाडौं । लामो समयदेखि सरकारको राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाले राजधानीबासीलाई पानी पिलाउने आश्वासन दिँदै आएको थियो । कति सरकार परिवर्तन भए कति सत्ता । कहिले दशैंको बेलामा त कहिले नयाँ वर्षमा राजधानीबासीलाई पानी पिलाउने भन्दै आएका सरकारहरुले भनेकै बेलामा पानी पिलाउन भने सकेनन् ।
‘काकाकुल’ राजधानीबासीलाई मेलम्चीको पानी पिउन सपना जस्तै लागेको थियो । तर आयोजना सुरु भएको दुई दशकपछि मेलम्चीको पानी राजधानीबासीका धारामा झरेको छ ।
मेलम्ची खानेपानी आयोजनाका प्रमुख तिरेश खत्री एउटा जिल्लाको पानी अर्को जिल्लामा ल्याएर वितरण गर्नु सामान्य नभएको बताउँछन् । ‘‘लामो समयपछि राजधानीबासीले मेलम्चीको पानी पिउन पाउने भएका छन् । अब भने मेलम्ची खोलाको पानीले विस्तारै राजधानीबासीको प्यास मेटाउने पक्कापक्की जस्तै भएको छ,” उनले भने, ‘‘मेलम्चीको १७ करोड लिटर पानी सुन्दरीजलको प्रसोधन केन्द्रबाट दैनिक प्रसोधन केन्द्र पठाउँछौँ । त्यहाँबाट केयूकेएलले पाइपलाइनको क्षमता अनुसार वितरण गर्दै आएको छ ।”
परीक्षण सफल
चैत १५ गतेदेखि सुन्दरीजलको प्रसोधन केन्द्रबाट मेलम्चीको पानी परीक्षणको लागि धारा–धारामा पठाइएको थियो । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का अनुसार पाँच दिनको परीक्षणपछि धारामा सफा पानी पुगेको छ । केयूकेएलका कार्यकारी निर्देशक मिलन शाक्यले परीक्षण सफल भइ धारा–धारामा पानीको परिमाण बढाउँदै लगेको बताए । ‘‘वर्षौंदेखि एकादेशको कथा बनेको मेलम्चीको पानी अहिले राजधानीबासीको धारा–धारामा पठाउँदा उनीहरुको सपना पूरा भएको छ,” उनले भने, ‘‘१५ गतेदेखि पहिलो, दोस्रो र तेस्रो चरण गरी वितरण गरिरहेका थियौँ । पहिलो चरणमा साढे चार करोड लिटर धारामा पठाइएको थियो, त्यसपछि दोस्रो चरणमा साढे ६ करोड लिटर पानी पठाइयो । तेस्रो चरणको पानी पथान्तरण गर्ने प्रक्रियामा केयूकेएल अघि बढेको छ ।”
निर्देशक शाक्य एउटा धारामा दैनिक एक हजार लिटर पानी पठाउँदै आएको बताउँछन् । ‘‘विस्तारै पानीको परिमाण बढाउँदै ल्याएका छौँ । राजधानीभर केयूकेएलका दुईलाख तिस हजार ग्राहक छन् । एउटा घरमा १० जनाको परिवार छ, भने प्रतिव्यक्ति एक सय लिटर पानी उपभोग गर्न पाउँनेछन्,” उनले भने, ‘‘राजधानीमा पानीको माग ४३ करोड लिटर छ । त्यसैले हामीले चाहेर पनि २४ सै घण्टा पानी वितरण गर्न सक्ने अवस्था छैन । पुरानै पाइपलाइनबाट पानी वितरण गरिने भएकाले बेलाबेला समस्या आउन सक्नेछ । जसरी भए पनि केयूकेएलको उद्देश्य भनेको काकाकुल राजधानीबासीकोे प्यास मेटाउने हो ।”
अहिलेसम्म कुन–कुन क्षेत्रमा पानी पुग्यो
शाक्यका अनुसार मेलम्चीको पानी अब बाँसबारीको पोखरीमा मात्रै पठाउन बाँकी छ । ‘‘पहिलो चरणमा सुन्दरीजलको एउटा प्रसोधन केन्द्रमा पानी जम्मा गरी राजधानीबासीको धाराधारामा वितरण गरिएको छ । अब दोस्रो चरणमा अर्को प्रसोधन केन्द्रमा पनि साढे आठ करोड लिटर पानी प्रसोधन गरी वितरण थाल्नेछौँ,” उनले भने, ‘‘चुहावटको समस्या अहिलेसम्म समाधान हुँदै आएको छ । त्यसैगरी पाइपलाइनको क्षमता अनुसार नयाँ पाइप परीक्षण समेत थालिनेछ ।”
खानेपानी मन्त्रालयका अनुसार मेलम्ची खानेपानी अहिलेसम्म परीक्षणका लागि धारामा पठाइएको थियो । धारामा पठाइएको पानी विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम रहेको खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले बताए ।
यसरी सुरु भएको थियो मेलम्ची खानेपानी आयोजना
मेलम्ची खानेपानी आयोजना सन् २००१ मा सुरु भएको थियो । आधिकारिक रुपमा ३७ अर्ब बजेट विनियोजन गरी खानेपानी आयोजना सुरु भएको थियो । त्यसपछि बिन्नी एण्ड पाटनर्स यूकेले २०४५ मा खानेपानीको समस्या समाधान गर्न सम्भाव्यता अध्ययन गरेको थियो । सम्भाव्यता अध्यन अन्तर्गत २० ओटा आयोजना थिए । सम्भाव्यता अध्यन गरिएका आयोजनामध्ये मेलम्ची खानेपानी आयोजनालाई पहिलो प्राथमिकतामा राखिएको थियोे ।
त्यसपछि स्टेनले एन्ड एसोसिएसनले मेलम्चीबारे २०४७ मा थप अध्यनन गरेको थियो । २००८ मा नेपाल सरकारले एक चिनियाँ ठेकेदार कम्पनी चाइना रनवे १५ ब्यूरो ग्रुप कर्पोरेसन र सीआरसीसीबीच पहिलो सम्झौता गरेको थियो । २०११ मा तिब्र गतिमा काम अघि बढाइरहेको बेलामा चिनियाँ कम्पनीले ६ किलोमिटर सुरुङ खन्दा कम्पनीसँग सरकारले सम्झौता तोडेको थियो ।
त्यसपछि २०७३ वैशाखमा इटालियन कम्पनीको अपेराटिभ मुरातोरी एन्ड केमेन्टेस्टी सीएमसीसँग सन् २०१३ मा ७ अर्ब ७२ करोड रुपैयाँमा सुरुङ र बाँधको काम सक्ने गरी नयाँ ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता बमोजिम मार्च २०१८ सम्मका लागि काम सकाइसक्नुपर्ने थियो । तर, सीएमसीले सो मितिमा काम सम्पन्न गर्न सकेन ।
पछिल्लो समय चिनियाँ निर्माण कम्पनी सिनोहाइड्रोले बाँकी काम सम्पन्न गरी राजधानीसम्म पानी आउन सफल भएको हो ।
मेलम्चीको पानी आयो, अब धुलोधुँवा कम हुन्छ : मेयर शाक्य
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले राजधानीमा मेलम्चीको पानी आएसँगै अब काठमाडौंको धुलोधुँवा स्वतः कम हुने बताएका छन् । अब २०७८ सालको पूर्वसन्ध्यामा मेलम्चीको पानी काठमाडौं बासीका लागि उपहार भएको शाक्यले बताए । ‘‘धेरै हदसम्म मेलम्चीको पानीले काकाकुल राजधानीबासीको प्यास मेटाउनेछ । राजधानीबासीले पानीदेखि धुलोधुँवाबाट मुक्त हुनेछन्,” उनले भने ।
तीन वर्षमा यांग्री र लार्केको पानी ल्याउने प्रधानमन्त्रीको घोषणा
पहरो फोरेर भए पनि यांग्री र लार्के खोलाको पानी राजधानी ल्याउने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका छन् । अबको तीन वर्ष भित्रमा यांग्री र लार्के खोलाको पानी राजधानीमा ल्याउने घोषणा गरेका हुन् । प्रधानमन्त्री ओलीले मेलम्ची खोनेपानी आउन ढिला भएको भन्दै अब यांग्री र लार्के खोलाको पानी तीन वर्षमा ल्याउने बताए । उनले मेलम्ची नाममा होइन अर्को कुनै नाम राखेर यांग्री र लार्के खोलाको पानी ल्याउने योजना अघि सार्ने बताए । ‘‘यांग्री र लार्के खोलाको १७/१७ करोड लिटर पानी गरी ३४ करोड र मेलम्चीको १७ करोड लिटर गरी जम्मा ५२ करोड लिटर पानी राजधानीमा आउनेछ,” उनले भने ।
यसअघि काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलले माहाँकालमा रहेको पानी पोखरीबाट उपत्यकाबासीको धारामा पानी छोडि उद्घाटन गरेको जनाएको थियो । उक्त उद्घाटन औपचारिक नभएको भन्दै खानेपानी मन्त्रालयले आपत्ति जनाउँदै आज शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट औपचारिक रुपमा मेलम्चीको पानी वितरण उद्घाटन गरेको छ ।
सर्वसाधारणका लागि भृकुटीमण्डपमा मेलम्चीको पानी आउने धारा
भृकुटीमण्डपमा राष्ट्रपति भण्डारीले उद्घाटन गरेको मेलम्ची खानेपानी सर्वसाधारणका लागि २४ सै घण्टा निःशुल्क रुपमा पिउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । सर्वसाधारणका लागि निःशुल्क रुपमा पानी पिउन निर्माण गरिएका तीनओटा धाराबाट दैनिक रुपमा सर्वसाधारणले आफ्नो प्यास मेटाउन सक्नेछन् ।