site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अस्तित्त्व रक्षाको लोभले निर्माताको करोडौं रुपैयाँ जोखिममा 

काठमाडौं । अस्तित्त्व रक्षाका लागि अहिले चलचित्रकर्मीहरु धमाधम चलचित्र निर्माणमा जुटेका छन् । यति बेला थुप्रै निर्माता–निर्देशकहरु छायांकनमा छन् भने केही त्यसको तयारीमा छन् । बजार अन्योल रहेका बेला चलचित्रमा लगानी गर्नु जोखिमपूर्ण हुने चलचित्रकर्मी बताउँछन् ।

चलचित्र निर्देशक विनोद पौडेलले नेपाली बजार नै कहिले पूर्ण रुपमा खुल्ने र दर्शक हलसम्म जाने भन्ने निश्चित भइनसकेको अवस्थामा चलचित्रमा लगानी गर्नु जोखिमपूर्ण रहेको बताए ।

“एक वर्ष हामी कोभिडका कारण हात बाँधेर घर बस्यौँ । त्यो समयमा खासै काम हुन सकेन । कोभिड कम हुनेबित्तिकै हामी निर्माणमा जुटेका छौँ,” पौडेल भन्छन्, “फिल्डमा गएर गरिने रिसर्च गरेका छैनौँ । हामी युट्युबमा भिडियो र फोटो हेरेर रिसर्च गर्यौँ भनेर सोचिरहेका छौँ भने त्यो गलत हो ।”

पर्याप्त तयारी नगरी गरिएको काम राम्रो नहुने भन्दै अस्तित्त्व रक्षाका लागि मात्रै काम गर्न नहुनेमा उनको जोड छ । “हतारमा गरिएको कामको परिणाम पनि राम्रो हुँदैन । त्यसैले काम गरिरहेको छु भनेर देखाउन मात्रै काम गरिरहेको जस्तो देखिएको छ । यसको नतिजा कस्तो आउँछ भन्ने हो,” उनी भन्छन्, “कोरोनाअगाडि नै निर्माण भइसकेका चलचित्र रिलिज हुन सकेका छैनन् । त्यसैले अहिले लगानी गर्नु कति जोखिम छ, यसमा ध्यान दिनु जरुरी छ ।”

नेपाली चलचित्रले विदेशी राइट्सबाट २५/३० लाख रुपैयाँ लिने गरेकोमा अहिले युरोपमा कोरोनाको दोस्रो लहर सुरु भएको छ, अमेरिकामा संक्रमण उच्च छ । यस्तो अवस्थामा विदेशबाट शून्य आम्दानी हुने अवस्थामा चलचित्रको लगानी झन् ठूलो जोखिममा रहने उनको भनाइ छ । “विदेशको राइट्स र डिजिटल राइट्सबाट लगानीको ३०/४० प्रतिशत सुरक्षित हुँदा बाँकी स्वदेशको बजारबाट उठाउन सहज हुन्थ्यो,” निर्देशक पौडेल भन्छन्, “यो सम्भावना नरहेको अवस्थामा डिजिटल प्लेटफर्ममा जान सक्नुपर्छ । त्यस्तो ठूलो प्लेटफर्म नेपालमा छैन । विदेशी डिजिटल प्लेटफर्मममा नेपाली चलचित्र तत्काल जाने सम्भावना छैन ।”

पछिल्लो वातवरणले काम गर्ने जाँगर नै हराएको निर्देशक प्रदीप भट्टराई बताउँछन् । कोरोना संक्रमण कम हुँदै जाँदा काम गर्ने जाँगर पलाउँदै गए पनि पछिल्लो समय संक्रमण पुनः फैलिँदै जाँदा काम गर्न जाँगर पनि मरेको उनको भनाइ छ ।

“लामो समयपछि कालो बादल हटेर आकाश निलो हुँदै थियो । आकाश निलो हुन नपाउँदै पुनः कालो बादल मडारिन थालेपछि काम गर्न सुरु गर्ने कि नगर्ने अन्योल भयो,” प्रदीप भन्छन्, “काम नगर्न पनि वर्ष बितिसक्यो कतिञ्जेल नगर्ने, गर्न पनि अवस्था सहज छैन ।”

नेपालमै तीन दर्जनभन्दा धेरै चलचित्र प्रदर्शन हुन नसकेको, रिलिज डेट लिएका चलचित्रले पनि प्रदर्शन मिति पछि सार्न थालेको भन्दै अवस्था झन् कठिन बनेको उनको भनाइ छ ।

“निर्माण भएर बसेका चलचित्रकै करोडौँ रकम फ्रिज भएर बसेको छ । अझै निर्माण गरेर कति समय लगानी फ्रिज गर्ने हो । बैंकको ब्याज तिर्नुपर्छ,” निर्देशक भट्टराई भन्छन्, “भारतमा कोरोना बढेपछि नेपालमा पनि सचेत हुन सरकारले भनिसक्यो । यसले यहाँको बजार तत्काल लयमा फर्किँदैन भन्ने देखाउँछ ।”

केही निर्माता तथा निर्देशकहरुका चलचित्र नेपालीभाषी रहेका विदेशमा राम्रो प्रदर्शन हुने गरेको भन्दै त्यो बजार अझै लामो समय नखुल्ने देखिएको उनी बताउँछन् । भएको सीमित बजार पनि खुम्चिएका कारण लगानीकर्ताको लगानी थप जोखिममा पर्ने र लामो समय लगानी फ्रिज हुने अवस्था रहेको छ ।

बजारको अनिश्चितताकै कारण दीपकराज गिरी र दीपाश्री निरौलाको समूह चलचित्र तत्काल निर्माणको पक्षमा छैन । विनोद पौडेल पनि तत्काल छायांकनमा जाने सोचमा छैनन् ।

सरकारले हाल ५० प्रतिशत अकुपेन्सीमा सिनेमा हल सञ्चालनको अनुमति दिए पनि चलचित्र रिलिज भएका छैनन् । निर्माण सम्पन्न भएर बसेका निर्माताहरु पनि चलचित्र रिलिज नगरी बसेका छन् ।  

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७  ०७:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro