site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महिला निर्देशकले नै निर्देशन गरेका चलचित्रमा महिला हिंसाका घटना !

काठमाडौं । महिला निर्देशकहरुले निर्देशन गरेका केही चलचित्रमा महिलामाथि नै हिंसाका घटना देखाइएको चलचित्रकर्मीहरु बताउँछन् । महिला अधिकार र महिलामाथि हुने हिंसा अन्त्यका लागि आवाज उठिरहेका बेला स्वयं महिलाले नै निर्देशन गरेका चलचित्रमा महिला पात्रमाथिको डोमिनेसन उचित नहुने चलचित्रकर्मीहरुको भनाइ छ ।

निर्देशक नवीन सुब्बा महिला अधिकारको विषय चौतर्फी उठिरहेका बेला निर्देशक महिलाहरुले नै निर्देशन गरेका कतिपय चलचित्रमा अधिकारकर्मीहरुले प्रश्न उठाउनुपर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण भएको बताउँछन् । पितृसत्तात्मक सोचको प्रभाव महिला निर्देशकमा पनि परेको उनको भनाइ छ ।

“पुरुषले जे सिकाए, महिलाले त्यही गरिरहेका छन् । समाजमा जे बिक्री भइरहेको छ, बजारका कारण त्यही गरिरहेका छन्,” नवीन भन्छन्, “बजारले जे लिन्छ, त्यही दिइरहेका छन् । धेरै चलचित्र महिला बिग्रिएको भनेर दोष थोपरिरहेका छन् । तर, महिलाले बनाएका चलचित्रमा पुरुष बिग्रिएको कथा किन नदेखाएको ? यो पनि समाजकै कथा हो ।”

महिलाभन्दा पुरुष बिग्रिरहेको कथा महिला निर्देशकहरुले आफ्नो दृष्टिकोणबाट भन्दा त्यो अझ प्रभावकारी हुनसक्ने उनको बुझाइ छ । “हाम्रो समाजमा पुरषहरुले जसरी सोचिरहेका छन्, पुरुषसत्ताले महिलालाई पनि त्यही सोच्न बाध्य बनाइरहेको छ । तर, त्यसलाई चिर्न कोसिस गरेको खण्डमा पुुरुषलेभन्दा महिलाले मजाले सक्नुहुन्छ । कारण, पुरुषले महिला भएर सोच्नुपर्यो । तर, महिलाले आफ्नै अन्तरकथा भने पुग्छ,” नवीन भन्छन्, “कम्तीमा महिला चलचित्रकर्मीले महिलाको समस्याको विषय उठान गर्नुपर्यो । यसमा बहस र अन्तरक्रिया गराइदिनुपर्यो ।” महिला चलचित्रकर्मीमा परिपक्वता आइनसकेका कारण पनि उनीहरुले आफ्नो विषय उठान गर्न नसकेको उनको बुझाइ छ ।

बिजनेसलाई महत्त्व दिएर स्टोरीमा मेकरकेन्द्रित हुन नहुने निर्देशक निश्चल बस्नेत बताउँछन् । महिला अधिकारका विषयहरु उठान भइरहेका बेला महिला मेकरले नै महिलाका विषय किन उठाएनन् भन्ने कुरा उठिरहेको उनी बताउँछन् । यसमा निर्देशकीय स्वतन्त्रता मुख्य पक्ष हुने उनको भनाइ छ ।

“म आफैँ पनि चलचित्रमा काम गर्दा पुरुषलाई प्राथमिकता दिइरहेको हुन्छु । कारण, म पुरुष भएकाले स्वतः त्यो कुरा ममा आउँछ होला । सिर्जनामा स्वतन्त्र हुने भए पनि महिलाका कुरालाई प्राथमिकतामा राख्नुपर्छ भन्दाभन्दै पनि पुरुषप्रधान सोच आउँदोरहेछ,” निश्चल भन्छन्, “महिलाहरुले यो कुरा कसरी लिनुहुन्छ, त्यो उहाँहरुको सोचमा भर पर्छ । कसैले गम्भीर रुपमा लिनुहुन्छ होला, कसैले निर्देशकीय स्वतन्त्रता भन्नुहुन्छ होला ।”

मेकर तथा लेखकले आफैँ के–कति विषय कसरी उठाउने सोच्न सक्ने तर कथावाचनको क्षणमा आइपुगेपछि उसले आफ्नो स्वतन्त्रता उपभोग गर्नसक्ने उनी बताउँछन् । महिलामाथि हुने हिंसा र दुर्व्यवहारविरुद्धका सिन पुरुष निर्देशकले पनि राख्न सक्ने निश्चल बताउँछन् । सामान्य जीवनका वास्तविक घटनालाई पनि बढाएर देखाउने चलन रहेको भन्दै उनी यसमा मेकर स्वयम् सचेत हुनुपर्नेमा जोड दिन्छन् ।

महिला र पुरुषभन्दा पनि समाजमा कस्ता घटना भइरहेका छन्, त्यो नै आफ्नो प्राथमिकतामा पर्ने गरेको निर्देशक दीपाश्री निरौला बताउँछिन् । आफूले निर्देशन गरेको चलचित्रमा महिलाका विषय नै उठान गर्दै आएको उनको भनाइ छ ।

“चलचित्र मनोरञ्जन मात्रै होइन, यसले केही सन्देश पनि प्रवाह गर्नुुपर्छ । समाजमा कस्ता खालका कुराहरुले विकृति ल्याइरहेको छ, त्यसलाई पनि मध्यनजर गर्नुपर्छ,” दीपाश्री भन्छिन्, “सुरुदेखि अन्तिमसम्म चलचित्रमा महिलाको विषय राखेर उनीहरुलाई सकारात्मक रुपमा मात्रै देखाउनुपर्छ भन्ने छैन । समाजमा पुरुष मात्रै होइन। महिला पनि खराब छन् । त्यसैले ब्यालेन्स गरेर अगाडि बढ्नुपर्छ ।”

लैंगिकतालाई प्राथमिकता नदिई समानान्तर रुपमा चरित्र विकास गर्दै लैजानुपर्ने उनको धारणा छ । महिला र पुरुष समान हुन् भन्दै हिँड्ने तर महिला चलचित्रकर्मीले महिलाका मात्रै कुरा उठान गर्न नहुने उनी बताउँछिन् ।

“हाम्रो घर–व्यवहारमा के भइरहेको छ, अहिले महिलाले मात्रै र पुरुष एक्लैले मात्रै घर चलाइरहेका छैनन् । दुवैले घर–व्यवहार चलाइरहेको देखेको छु,” दीपाश्री भन्छिन्, “महिलाले महिलाको मात्रै विषय उठान गर्नुपर्छ वा प्राथमिकता दिनुपर्छ भन्ने पक्षमा म छैन । त्यो गर्ने हो भने त महिलाले मात्रै शासन गर्नुपर्छ भन्ने आवाज उठ्छ । मैले महिलाको मात्रै कुरा उठाउनु हुँदैन ।”

आफूले निर्देशन गरेका चलचित्रमा महिलामाथि हिंसा तथा थिचोमिचोका घटना समावेश भए पनि अन्तिममा कथाले के भनेको छ, के देखाइएको छ ? त्यसमा ध्यान दिन उनको सुझाव छ । स्रष्टाका नाताले गलत गर्ने महिला चरित्रलाई सही भन्न आफूलाई नैतिकताले नदिने उनको बुझाइ छ ।

“म चलचित्रमा जेन्डरको विषय ठूलो मान्दिनँ । बोक्सी वा छाउपडी प्रथा छ भने त्यसलाई ध्यान दिनुपर्छ,” उनी भन्छिन् । विषयानुसार कथा भन्ने शैली फरक हुने दीपाश्रीको भनाइ छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ११, २०७७  ०६:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro