काठमाडौं । नेपालमा चलचित्र बन्न र प्रदर्शन हुन थालेको लामै समय भइसक्यो । तरपनि सिनेमा कल्चर (चलचित्र हेर्ने संस्कृति) को विकास भने हुन सकेको छैन । बर्सेनि एक सयभन्दा बढी चलचित्र प्रदर्शनमा आउने भए पनि नियमित रुपमा चलचित्र हेर्नेको संख्या भने निकै कम छ । दर्शक संख्या कम भएकै कारण ठूलो लगानी गरेर चलचित्र बनाउने निर्माताले घाटा बेहोर्नुपर्ने अवस्था छ ।
सिनेमा कल्चर विकास हुन नसक्नुको कारणबारे चलचित्रकर्मीहरुको आ–आफ्नै धारणा छ । आवश्यक संख्यामा चलचित्र घर नहुनु मुख्य कारण रहेको निर्देशक प्रचण्डमान श्रेष्ठ बताउँछन् । “चलचित्र घर रहेको ४ किलोमिटरसम्मको जनसंख्या उक्त हलको मुख्य दर्शक र ११ किलोमिटर टाढासम्मको जनसंख्या हलसम्म पुग्छ भन्ने विश्वव्यापी मान्यता छ,” श्रेष्ठ भन्छन्, “नेपालमा हल नै छैनन् । काठमाडौं उपत्यकाको चक्रपथभित्र आवश्यकताभन्दा धेरै हल छन् तर चक्रपथ बाहिर हल छैनन् । काठमाडौं बाहिर कति मुख्य शहरमा नै हल छैनन् । यही नै नेपालमा चलचित्र हेर्ने संस्कार नबस्नुको मुख्य कारण हो ।” नेपालमा अझै पनि सपरिवार चलचित्र हेर्न जाने र सँगै डिनरका लागि बाहिर जाने संस्कार नबन्दा चलचित्र हेर्ने संस्कृति विकास नभएको श्रेष्ठको ठम्याइ छ ।
अर्का निर्देशक दीपेन्द्र के खनाल भने नेपाली समाजसँग चलचित्र जोडिन नसक्नु नै चलचित्र हेर्ने संस्कार विकास नहुनुको मुख्य कारण रहेको धारणा राख्छन् । “समाजसँग जोडिने चलचित्र नेपालमा बनेकै छैनन् । चलचित्रकर्मीहरु समाजसँग जोडिन सकेका छैनन् । सीमा जोडिएको भारतका कलाकार समाजसँग भिजेका छन् । राष्ट्रपतिको सपथग्रहणमा त्यहाँ कलाकारको उपस्थिति अनिवार्य देखिन्छ । हाम्रोमा त्यस्तो हुन सकेको छैन,” खनाल भन्छन्, “चलचित्र मनोरञ्जनका लागि मात्रै हो भन्ने मानसिकताबाट हामी माथि उठ्नुपर्छ । समाजलाई चेतना दिने खालका चलचित्र बनाउनुपर्छ अनि सबैले हेर्न थाल्छन् । सबै समूहलाई लक्षित गरेर चलचित्र बनाउनुपर्छ । समाजसँग छुने चलचित्र बनाउँदै जाने हो भने विस्तारै चलचित्र हेर्नेको संख्या बढ्छ र सिनेमा कल्चर आफैं विकास भएर जान्छ ।”
दक्षिण भारतमा करिब ९० प्रतिशतले चलचित्र हेर्छन् । त्यहाँका स्टारले अभिनय गरेका चलचित्र रिलिज हुँदा राज्यले सार्वजनिक विदानै दिन्छ । मौलिक विषयमा बनेका चलचित्रलाई कर छुट दिइन्छ । नेपालमा पनि मौलिक तथा ऐतिहासिक चलचित्रलाई सरकारले सहयोग गर्नुपर्ने चलचित्रकर्मीहरुले बताउँदै आएका छन् ।
सिनेका कल्चरको विकास हुन नसक्नुको कारण चलचित्रकर्मी नै रहेको निर्देशक तथा निर्माता विकास आचार्य बताउँछन् । “हामीले दर्शकका लागि भन्दा पनि आफ्नै लागि चलचित्र बनायौं कि जस्तो लाग्छ, त्यसैले राम्रा चलचित्र नबनेपछि नचल्ने हो,” आचार्य भन्छन्, “राम्रा चलचित्र बन्दा दर्शक हलसम्म गएकै छन् । अधिकांश चलचित्र नराम्रो बनेपछि दर्शकमा डिप्रेशन जस्तै देखिन्छ । राम्रो चलचित्र बनेभने सिनेमा कल्चर आफैं बन्दै जान्छ ।”
दक्षिणभारत बजारका हिसाबले सानो भए पनि त्यहाँको चलचित्र बलिउडको प्रतिस्पर्धी भएको आचार्यको भनाइ छ । “चलचित्र राम्रो भएकै कारण ‘बाहुबली–२’ ले बलिउडका सबै चलचित्रको रेकर्ड तोड्यो । राम्राचलचित्र बने सबै परिवार नै बसेर चलचित्र हेर्न जाने वातावरण बन्छ र सिनेमा कल्चरको विकास हुन्छ,” आचार्य भन्छन् ।
निर्देशक मनोज पण्डित नेपालमा सिनेमा कल्चर विकास नहुनुलाई यहाँको भूगोल, इतिहास, शिक्षा, अर्थ, समाजले हासिल गरेकाे दर्शन र राजनीतिसँग जोड्छन् । नेपाल भूगोलका हिसाबले मात्रै नभएर लामोसमयसम्म बाह्य विश्वसँग पनि नजिकिन नसकेकाले त्यसको असर सिनेमा कल्चरमा पनि परेको उनी बताउँछन् ।
“भारतीय समाज बाह्य समाजसँग सुरुदेखिनै खुला थियो । विश्वभरको कल्चरको प्रभाव त्यहाँ परेकाले त्यसको असर सिनेमामा पनि देखियो,” पण्डित भन्छन्, “नेपालमा भने स्वतन्त्र वातावरण बनेन र यसको प्रभाव सिनेमामा पनि परेको छ ।”
भारतजस्तो खुला समाज र लामो इतिहास नेपालको पनि भएको भए त्यहाँको जस्तै सिनेमा कल्चर निर्माण यहाँ पनि भइसकेको हुने उनको भनाइ छ । “नेपालमा राम्रा सिनेमालाई सहज रुपले स्वीकार्न अझै केही वर्ष लाग्छ,” पण्डित भन्छन् ।