
काठमाडौं । चालु आर्थिक वर्षमा साढे ४ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान राष्ट्र बैंकले गरेको छ । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा चालु आर्थिक वर्षको बजेट प्रस्तुत् गर्दै चालु आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने लक्ष्य रहेको बताएको थिए ।
केन्द्रीय बैंकले चालु आर्थिक वर्षमा साढे ४ प्रतिशतभन्दा माथि आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरेको छ । चालु आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा राष्ट्र बैंकले ‘ट्रेन्ड’ अनुसारको आर्थिक वृद्धि हुने अनुमान रहेको उल्लेख गरेको छ ।
‘ट्रेन्ड’ आर्थिक वृद्धि भनेको विगत केही अवधिको आर्थिक वृद्धिको औसत हो । नेपाल राष्ट्र बैंकका एक अधिकारीले बाह्रखरीसँग भने, “प्राप्त भएका तथ्यांकहरुको विश्लेषण गर्दा चालु आर्थिक वर्षमा ४ देखि ५ प्रतिशतको बीचको आर्थिक वृद्धि हासिल हुनसक्छ भन्ने हाम्रो अनुमान छ ।” केन्द्रीय बैंकले विगत केही अवधिको आर्थिक वृद्धिको ट्रेन्ड कस्तो छ ? भनेर हेर्दा पछिल्लो २० वर्षमा औसत साढे ४ प्रतिशतको आर्थिक वृद्धि भएको पाइएको छ ।
सोही दर अनुसार चालु आवमा पनि अर्थतन्त्र विस्तार हुने अपेक्षा राखेर केन्द्रीय बैंकले मौद्रिक नीतिमा ट्रेन्ड अनुसारको आर्थिक वृद्धि हुने बताएको उनको भनाइ छ ।
सन् २००० पछि नेपालको अर्थतन्त्रको स्वरुप परिवर्तन भएकाले २००० पछिको औसत आर्थिक वृद्धिदरलाई आधार मानेर ‘ट्रेन्ड’ आर्थिक वृद्धि भनिएको हो । “सन् २००० (वि.सं. २०५७/५८) पछि हाम्रो अर्थतन्त्रको प्रारुप परिवर्तन भयो । अर्थतन्त्रमा सेवा क्षेत्रको हिस्सा बढ्दै गयो भने हाम्रो अर्थतन्त्र आयातको निर्भरता बढ्यो भने रेमिट्यान्समा निर्भर अर्थतन्त्र बन्न पुग्यो,” स्रोत भन्छ, “त्यसैले २००० पछिको अर्थतन्त्रको स्वरुपमा खासै परिवर्तन नभएकाले पछिल्ल्लो २० वर्षको औसत आर्थिक वृद्धिलाई आधार मानेर ‘ट्रेन्ड’ आर्थिक वृद्धि भनिएको हो ।”
आव ०५७/०५८ पछि नेपालको अर्थतन्त्रमा तीन पटक मन्दी आएको थियो । तीन पटक मन्दीबाहेक २० वर्षमा १७ वर्षको औसत आर्थिक वृद्धिदर करिब साढे ४ प्रतिशत हो । पहिलो आव ०५८/०५९ को आर्थिक मन्दी । दोस्रो, भूकम्पपछि ०७२/०७३ को मन्दी । र, तेस्रो हो कोभिड पछिको ०७६/०७७ को आर्थिक मन्दी । यी कारणले अर्थतन्त्र सुस्त थियो । राष्ट्र बैंक स्रोतका अनुसार त्यसबाहेक १७ वर्षको औसत आर्थिक वृद्धिको ‘ट्रेन्ड’ साढे ४ प्रतिशतको थियो । त्यसैलाई आधार मानेर चालु आर्थिक वर्षमा ट्रेन्ड आर्थिक वृद्धि हासिल हुन्छ भनेको स्रोतको भनाइ छ ।
नेपालमा स्वायत्त निकायको रुपमा केन्द्रीय तथ्यांक विभाग र नेपाल राष्ट्र बैंकले आर्थिक सर्वेक्षेण तथा अनुसन्धान गर्छन् । तर, दुवै निकायमा बढ्दो हस्तक्षेपले उनीहरुलाई स्वतन्त्र रुपमा तथ्यांक प्रस्तुत गर्न असहज हुने गरेको छ । यही कारणले केन्द्रीय बैंकले चालु आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा आर्थिक वृद्धिको अनुमानित तथ्यांक प्रस्तुत गर्न घुमाउरो बाटो प्रयोग गरेको हो ।
गत आर्थिक वर्ष नेपालको अर्थतन्त्र १.९९ प्रतिशतले संकुचन भएको छ । अब साधारण अवस्थामा फर्किएर सामान्य विस्तार हुँदा पनि आर्थिक वृद्धिदर ४ प्रतिशतमाथिको हुने अनुमान राष्ट्र बैंकको छ ।
आर्थिक वृद्धिदर साढे ४ प्रतिशत हुने आधार
चालु आर्थिक वर्षमा अर्थतन्त्रमा २६ प्रतिशतभन्दा बढीको हिस्सा रहेको कृषि क्षेत्रको वृद्धिदर २ प्रतिशतको हाराहारीमा हुने अनुमान राष्ट्र बैंकको छ । वर्षा याममा पर्याप्त वर्षात भए पनि किसानले सहज रुपमा मल तथा विउबिजन प्राप्त गर्न नसक्दा कृषि क्षेत्रको सबैभन्दा ठूलो हिस्सा रहेको धानको उत्पादन सामान्य मात्रै बढेको छ । यस्तै हिउँदमा पानी नपर्दा हिउँदे बाली खासै राम्रो हुन सकेको छैन । चालु आव अर्थतन्त्रमा सानो हिस्सा रहे पनि आर्थिक वृद्धिद्धरमा जलविद्युत् क्षेत्रले मुख्य भूमिका खेल्ने अनुमान केन्द्रीय बैंकको छ ।
गत वर्ष नै कृषि क्षेत्रको वृद्धिदर २ प्रतिशतमाथि थियो । यस्तै गत वर्ष हाइड्रोपावरको वृद्धिदर २५ प्रतिशत रहेकामा चालु आर्थिक वर्ष पनि राम्रो हुने अपेक्षा छ ।
निजी क्षेत्रको जलविद्युत् कम्पनीको उत्पादन धमाधम राष्ट्रिय प्रशारण लाइनमा जोडिएको र माथिल्लो तामाकोशीको उत्पादन पनि चालु आर्थिक वर्षमा नै उत्पादन सुरु गर्नसक्ने भएकाले हाइड्रोपावरको वृद्धिदर उल्लेख्य हुनसक्ने स्रोतको दाबी छ । यस बाहेक मेलम्चीको पानि काठमाडौं आएकाले त्यसले पनि आर्थिक वृद्धिमा सहयोग गर्नेछ ।
शिक्षा र होटल क्षेत्र भने चालु आर्थिक वर्षमा सामान्य अवस्थामा आउन मुस्किल रहेको अनुमान छ । तर, थाक तथा खुद्रा व्यापारले भने केही योगदान दिन सक्नेछन् । यस्तै निर्माण क्षेत्रको पनि सामान्य बढी योगदान हुने अनुमान गरिएको छ ।
चालु आर्थिक वर्षको प्रथम त्रैमासको अर्थतन्त्र ४.६ प्रतिशतले संकुचन आएको थियो । दोस्रो त्रैमासमा भने ब्यालेन्समा आउने र तेस्रो र अन्तिम त्रैमासमा सामान्य वृद्धि हुने सरकारको अनुमान छ । पुँजीगत खर्च बढ्दा अन्तिम त्रैमासले भने अर्थतन्त्र सकारात्मक बनाउन सहयोग गर्ने राष्ट्र बैंकको अनुमान छ । सरकारले बजेट खर्च गर्न नसके पनि बैंकहरुमार्फत निजी क्षेत्रमा प्रवाह भएको कर्जाले आर्थिक पुनरुउत्थानमा महत्वपूर्ण भूमिका खेलेको राष्ट्र बैंकको अपेक्षा छ ।