काठमाडौं । चलचित्र पशुपतिप्रसाद हल रिलिज भएर भर्खर उत्रिएको मात्रै के थियो । त्यही समय पाइरेसी भयो । त्यसको असर निर्माताले बेहोर्नुपर्यो । नेपालबाहिरका लागि राइट्स लिएका व्यक्ति अधिकांशका हातमा चलचित्र पुगेपछि पछि हटे ।
निर्मातालाई ४०–५० लाख रुपैयाँ घाटा लागेको कलाकार तथा निर्देशक खगेन्द्र लामिछाने स्मरण गर्छन् । कोही एक व्यक्तिका कारण ४०–५० लाख रुपैयाँ घाटा बेहोर्नुपरेको तीतो यथार्थ भुल्नै लाग्दा त्यही मार पुनः खगेन्द्रले बेहोर्नुपर्यो ।
डिजिटल प्लेटफर्म सिनेमा घर गोल्डमा राखिएका दुई चलचित्र डमरुको डन्डिबियो र सरौतो पाइरेसी भए । लमजुङ बेसीसहर २ का २५ वर्षीय सुजन परियारले उक्त चलचित्र पाइरेसी गरेका थिए । उनलाई प्रहरीले पक्राउ गरिसकेको छ । सुजन पेसाले शिक्षक हुन् ।
“पाइरेसी गर्नु हुँदैन भन्ने सामान्य ज्ञान हुँदाहुँदै पनि यो क्रम रोकिएको छैन । हुन त हाम्रो आर्थिक अवस्था र देशको अवस्था नै नाजुक भएकाले यस्ता घटना भइरहेका छन्,” खगेन्द्र भन्छन्, “तर, पनि यो अरूको सम्पत्ति हो । यसलाई दुरुपयोग गर्नु हुँदैन भन्ने मनोविज्ञान विकास भएको छैन । कानुनले पाइरेसीलाई अपराध मान्छ र यसरी हेर्नु हुँदैन भन्ने चेतनाको कमी छ ।”
चलचित्रसँगै गीत–संगीतको क्षेत्रमा पनि यो समस्या रहेको उनी बताउँछन् । कानुन कमजोर भएका कारण यस्ता घटना पटकपटक दोहोरिरहेको उनी बताउँछन् । “कानुनमा सजाय पनि न्यून छ । त्यसमा पनि कानुनका छिद्रभित्र खेलेर अपराधी सहजै उम्कने वा थोरै सजाय पाउने अवस्था छ,” खगेन्द्र भन्छन्, “विदेशमा जस्तो कडा कानुन नेपालमा पनि चाहियो । एकपटक पाइरेसी गरेपछि सरकारी सेवा वा सुविधाबाट वञ्चित हुने कानुनी व्यवस्था गर्नुपर्छ । यस्तो गरेको अवस्थामा मात्रै यस्ता घटनामा कमी आउँछ ।”
शिक्षकलाई नै अरूको बौद्धिक सम्पत्ति चोरी गर्नु हुन्न भन्ने चेतना नहुनु समग्र अवस्था कस्तो छ भन्ने कुराको उदाहरण भएको उनी बताउँछन् ।
“यस्ता घटनाले सर्जकलाई उत्साह त दिँदैन नै । ठूलो आर्थिक क्षति पनि हुन्छ । हामीलाई कति धेरै उत्साह थियो एप सार्वजनिक गर्दा । यस्ता घटनाले उत्साह मार्छ,” खगेन्द्र भन्छन्, “एपबाट डाउनलोड गरेर पाइरेसी भएको होइन । मोबाइलबाट खिचेको छ । एकछिनको क्षणिक रमाइलोले गर्दा उसलाई समाजले हेर्ने दृष्टिकोण कस्तो हुन्छ अब ? यो हरेक व्यक्तिले सोच्नुपर्छ ।”
सरकारले बौद्धिक सम्पत्ति रक्षाका लागि ध्यान नदिएको खगेन्द्रको गुनासो छ । अझै पनि फिल्म खेल्छुभन्दा सरकारी उच्च पदस्थ कर्मचारीहरू हास्ने गरेको उनी बताउँछन् ।
“मन्त्री, सरकारी उच्च पदस्थ कर्मचारी, कानुन निर्माताहरूको बीचमा म फिल्म खेल्छु भन्यो भने अहिले पनि ए तपाईं फिल्म पो खेल्नुहुन्छ, हा..हा... गर्छन्,” खगेन्द्र भन्छन्, “यसले हाम्रो सरकारले बौद्धिक सम्पत्तिलाई कति प्राथमिकतामा राखेको छ र कसरी हेर्छ भन्ने कुरा स्पष्ट पार्छ ।”
बौद्धिक सम्पत्ति रक्षाका लागि यसलाई पाठ्यक्रममै राखेर चेतना बढाउँदै जानुपर्नेमा उनको जोड छ । आफू अन्तिम समयसम्म बौद्धिक सम्पत्तिको रक्षाका लागि लागिरहने भन्दै भन्छन्, “बुझाउँदै जाने हो । हेरौं कहिलेसम्म समाजले बुझ्छ । सकेसम्म लाग्ने हो । नसकेका दिन आफ्नै पेसा व्यवसाय छँदै छ ।”
पशुपतिप्रसाद पाइरेसी भएपछि उनले सामाजिक सन्जालमा असन्तुष्टि पोखे । पत्रपत्रिकामा आर्टिकल लेखे । कतिसँग त उनको झगडा नै पर्यो । कतिको चेतनामा घण्टी बजेछ । पछुताए । “एकजनाले मलाई मेरो एउटै पुस्तक दुइटा किनेर इनबक्स गर्नुभयो । किन एउटै बुक दुइटा किनेको भनेर सोधेको । मैले तपाईंको चलचित्र पशुपतिप्रसाद पाइरेसी कपी हेरेको थिएँ । तपाईंको आर्टिकल पढेर त्यसरी हेरेकामा रिगरेट फिल भयो । त्यसैले ३०० रुपैयाँ तपाईंलाई जाओस् भनेर एउटै बुक दुइटा किनेको भन्नुभयो,” खगेन्द्र स्मरण गर्छन्, “मैले उहाँलाई दुइटा बुक किन्नुपर्दैन । सक्नुहुन्छ भने अरू २० जना तपाईंका साथीलाई पाइरेसी गर्नु र त्यस्तो कपी हेर्नु वा प्रयोग गर्नु अपराध हो भनेर सम्झाउनुस् भनेँ ।”
निर्देशक तथा कलाकार दीपाश्री निरौला बौद्धिक सम्पत्ति चोरी रोक्न कडा कानुन बनाउनुपर्ने बताउँछिन् । करोडौं लगानी गरेको चलचित्र एकजनाले गरेको पाइरेसीले डुब्ने भन्दै यसलाई रोक्न कडा कानुन आवश्यक रहेको उनको बुझाइ छ । “करोडौं लगानी गरेर निर्माताले चलचित्र बनाउँछ । एकजनाले पाइरेसी गरेर निर्माताको करोडौं लगानी डुबाइदिन्छन् । तर उल्टै दोष निर्मातालाई आउँछ,” दीपाश्री भन्छिन्, “हाम्रो चलचित्र छक्का पञ्जा–१ लिक भयो । लिक भएपछि हामीले भन्न जाँदा डराएर उसले आत्महत्या गर्यो । त्यसको आरोप कतिले हामीलाई लगाउनुभयो । तर, यसमा कडा कानुन भएको भए डराएर पाइरेसी गर्दैन थियो होला ।”
चलचित्र रिलिज गर्दा सुरुमा चेतावनीसहित जानकारीमूलक सामग्री राखे पनि त्यसले नपुगेको उनको भनाइ छ । पाइरेसी गर्दा चलचित्र निर्माणको सम्पूर्ण लगानीसहित घरखेत नै जान्छ भन्ने खालको कानुनी प्रावधान ल्याएको खण्डमा मात्रै यसको अन्त्य हुने दीपाश्री बताउँछिन् ।
हालको कानुनअनुसार पाइरेसी गर्नेलाई कसुरअनुसार १० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।
चलचित्र विकास बोर्डले पनि पाइरेसी रोक्न चासो देखाएको छ । चलचित्रसँग जोडिएर आउने भएकाले बोर्डले यसलाई रोक्न चासो देखाएको हो । पाइरेसी गर्नु अपराध हो भन्ने सूचना प्रवाह गर्ने लोक कल्याणकारी विज्ञापन सरकारी सञ्चारमाध्यमबाट प्रवाह गर्न बोर्डले तयारी गरेको छ । स्कुल, कलेजमा गएर पाइरेसी गर्नु हुँदैन भनेर चेतना जगाउनेबारे पनि बोर्डले आन्तरिक छलफल गरिरहेको छ । पाठ्यक्रममै पाइरेसी गर्नु अपराध हो र यसो गरे कानुनी कारबाही भोग्नुपर्छ भन्ने राख्न सके अलिअलि भए पनि कम हुने बोर्डले जनाएको छ ।
“धेरैजसो रमाइलोका लागि पाइरेसी गर्ने गरेको पाइएको छ । पाइरेसी गर्ने र साथीभाइहरूलाई पठाउने गरेको देखिन्छ,” चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल भन्छन्, “आर्थिक उपार्जनभन्दा पनि रमाइलोका लागि पाइरेसी भइरहेकाले पाइरेसी गर्नु अपराध हो भनेर बुझाउन सके धेरै हदसम्म यो कार्य रोकिन्छ ।”
पाइरेसी गर्नेलाई कडा कानुन बनाउनुपर्नेमा उनको जोड छ । न्यून क्षतिपूर्ति तथा नगन्य सजाय भएकाले पनि पाइरेसीका घटना नरोकिएको अध्यक्ष दाहाल बताउँछन् ।
“कडा कानुन नभएकाले पनि पटक–पटक पाइरेसीका घटना भइरहेका छन् । यसलाई रोक्न कडा सजायको व्यवस्था गरिनुपर्छ,” बोर्ड अध्यक्ष दाहाल भन्छन्, “पाइरेसी रोक्ने तथा सजाय थप कडा बनाउनेसम्बन्धी संशोधन विधेयक संसद्मा छ । बोर्डले चलचित्र पाइरेसी रोक्न कानुन थप कडा बनाउनुपर्यो भनेर हामीले संशोधन पेस गरेका छौं ।”