काठमाडौं । कुलेखानी ड्याम अर्थात् इन्द्रसरोवर । यही तालको नामबाट इन्द्रसरोवर गाउँपालिकाको नाम रहेको छ । त्यहाँ पुग्ने जो-कोहीले स्थानीय माछाको स्वाद र ड्याम-साइटमा डुंगाको सयर गरेकै हुन्छन् । चारैतिर हरियाली जंगल छ । बीचमा नीलो मानवनिर्मित ड्याम-साइट, जुन प्राकृतिक झैं लाग्छ ।
इन्द्रसरोवरमा रहेको सनराइज होटेलका सञ्चालक मणिकुमार बुमीका अनुसार माछा मार्न राखिएको तिहारी जाल डुंगा सयरको दृश्यले कुलेखानी थप पर्यटकीय आकर्षकको केन्द्र बनेको छ । उनले सात किलोमिटर लामो ‘ड्याम’ तालमा डुंगा सयर गर्नेको भिड लाग्ने गरेको बताए । ‘‘त्यसैले त यहाँ आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुने गर्छन्,” उनले भने, ‘‘ड्याम साइटमा गरिने बोटिङको आकर्षकले यस क्षेत्रमा होटेल होमस्टे र रिसोर्ट राम्ररी फस्टाएका छन् ।”
दैनिक ड्याममा बोटिङ गर्नेको भिड लाग्ने मकवानपुर कुलेखानीकै सानुकान्छा तामाङ बताउँछन् । "ड्याममा डुंगा चलाउँछु । यहाँ काठमाडौंलगायत वरपर जिल्लाका विभिन्न स्कुल-कलेजबाट भ्रमणका लागि विद्यार्थी तथा सर्वसाधारण आउने गर्छन् । बोटिङ गर्छन् । चलचित्र निर्माता तथा निर्देशकहरु भने सुटिङसँगै डुंगा सयरका लागि आउने गरेका छन्," उनले भने, "अहिले कोराना महामारीका कारण बाह्य पर्यटक भने आएका छैनन् तर वरपर जिल्लाका मानिसहरु भने आइरहेकै छन् ।”
कुलेखानी माछाका लागि पनि प्रसिद्ध मानिन्छ । यही रहेको माछा बिक्री केन्द्रका व्यवस्थापक जुहारीलाल बुलामीका अनुसार चिसो पानीमा माछा पाइने भएकाले यहाँको माछाको स्वाद पनि बेग्लै हुन्छ । "यहाँका माछा काठमाडौंलगायत बाहिरी जिल्लामा पनि लगिन्छ," उनले सुनाए, "ड्यामकै कारण यहाँ मानिस यो व्यवसायमा आबद्ध छन् ।”
शैक्षिक तथा अध्ययनका लागि काठमाडौंका विद्यालयहरुले पनि आफ्ना विद्यार्थीहरुलाई यहाँ ल्याउने गरेका छन् । यसै क्रममा कुटुम्ब कलेजका शिक्षक जगदीश ओलीले कुलेखानीको ड्याम अवलोकन तथा डुंगा सयरका लागि विद्यार्थीलाई यहाँ ल्याएको बताए । यहाँका बासिन्दाले गरेको व्यवसाय, आकर्षक बाँसबारी रिसोर्ट, मोटर बोटिङ, माछाको अर्ग्यानिक खाना, हाइकिङ भेडीचौर, ठाडेखोला मोहिनी झरनाको अवलोकन गर्न त्यहाँ सर्वसाधारणहरु पुग्ने गरेका छन् । ‘‘प्राकृतिक जस्तै देखिने मानवनिर्मित कुलेखानी ड्यामका कारण पर्यटकीय गन्तव्यस्थल बनेको छ," उनले भने, "नजिकै चित्लाङ पनि पर्छ । विद्यार्थीलाई चित्लाङको ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदाबारे अवलोकनका लागि लैजान सकिन्छ ।”
स्थानीय विक्रम गुरुङका अनुसार पछिल्लो समय कुलेखानीमा डुंगा सयर गर्न आउने मानिसको भिड लाग्ने गरेको छ । अरु दिनको तुलनामा शुक्रबार र शनिबार आगन्तुकको भिड लाग्ने उनले सुनाए । ड्याममा डुंगा सयरपछि चित्लाङ पनि घुम्न जाने भएकाले सबैको आकर्षण बढेको विक्रम बताउँछन् । यहाँका बासिन्दा व्यावसायिक रुपमा माछापालनसँगै बाख्रापालन, मौरीपालन, गाईपालन, तरकारी खेती गरी आफ्नो खर्च चलाउने गरेको थाहा नगरपालिका चित्लाङकी सुनीता सिवाकोटी बताउँछिन् । ड्यामदेखि करिब आधा घण्टाको गाडी यात्रापछि चित्लाङ पुग्न सकिन्छ ।
"चित्लाङमा रमणीय डाँडा, रिसोर्ट, धार्मिक, सांस्कृतिक, ऐतिहासिक सम्पदा, नासपाती बगानले मानिसलाई लोभ्याउँछ," सिवाकोटी भन्छिन्, "यहाँ बाख्राको दूधबाट बनेको चीज पनि पाइन्छ । खुला चौर, इतिहास, संस्कृति बुझ्न र अवलोकनका यहाँ आउने गर्छन् ।”
काठमाडौंबाट करिब दुई घण्टाको गाडी यात्राबाट कुलेखानी ड्याममा पुग्न सकिन्छ । कच्ची सडक भएका कारण यहाँको यात्रा अफ्ठ्यारो मानिन्छ । तर त्यहाँ पुग्दा भने मनमोहक दृष्यले सबैको थकान भने मेटाइदिन्छ । यहाँको जलविद्युत् आयोजनाका लागि बनाइएको ड्यामले कुलेखानी इन्द्रसरोवरका बासिन्दाको जनजीवन फेरिएको छ ।